१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १६ मंगलबार १७:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जात व्यवस्था उन्मूलन मोर्चाको दोस्रो राष्ट्रिय भेला सम्पन्न 

रुकुम–सोती नरसंहारदेखि नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १६ मंगलबार १७:२९:oo

जात व्यवस्था उन्मूलन मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेलाले भ्रष्टाचार, महँगी, मिटरब्याज, नक्कली भुटानी शरणार्थीलगायतका प्रकरणमा ८ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ।

जेठ १० देखि १२ गतेसम्म चितवनमा सम्पन्न मोर्चाको दोस्रो राष्ट्रिय भेलाले उक्त राजनीतिक प्रस्ताव पारित गरेको हो। मोर्चाले उक्त भेला र त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय सम्बन्धमा मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
 
विज्ञप्तिअनुसार भेलाले जात व्यवस्था उन्मूलनको कार्यभारलाई पूरा गर्ने संकल्प गरेको छ। साथै, रुकुम–सोती नरसंहार र अजित मिजारको हत्याको न्यायोचित निरूपणका लागि सरकारसँग माग गरेको हो। यस्तै, जाली तवरले फसाइएका लालबहादुर विकको यथाशीघ्र रिहाइका लागि पनि मोर्चाले माग गरेको छ। 

मोर्चाले विद्यमान दलाल पुँजीवाद र यसले निर्माण गरेको न्याय प्रणालीका कारण निम्तिने यस्ता घटना सदा अन्त्य गर्नका लागि संघर्षमा आउन जनतालाई आह्वानसमेत गरेको छ।

यस्तै, अन्तरजातीय विवाह गरेकै कारण गत भाद्र १६ गतेबाट बेपत्ता निसीखोला गाउँपालिकाका दीप टमाटा (दिलीप)को अवस्था सार्वजनिक गर्न र दोषीउपर कडाभन्दा कडा कारबाही गर्न पनि मार्चाले माग गरेको छ। कलेज शुल्क नतिरेका कारण आत्महत्या गर्न बाध्य बनाइएका जितबहादुर बयलकोटीका दोषीहरूमाथि पनि कडा कारबाही गर्न मोर्चाको माग छ। उनलाई आत्महत्या गर्न बाध्य बनाउने दलाल पुँजीवादी शिक्षा प्रणालीको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको निर्माणका लागि एकजुट हुन मोर्चाले आह्वान गरेको छ।

यस्तै, मिटरब्याज, सहकारी, लघुवित्त, बैंकलगायत वित्तीय उत्पीडनविरुद्ध चलिरहेका संघर्षप्रति ऐक्यबद्धता जनाउँदै मोर्चाले बाँकी माग पूरा गर्न सरकारसँग माग गरेको छ।

भेलाको बन्द सत्रले ४० प्रतिशत महिला र १० प्रतिशत गैरदलितको प्रतिनिधित्व हुने गरी ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। ५ सदस्य पछि थप्ने जनाइएको छ।

भेलालगत्तै बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठकल सातसदस्यीय अध्यक्षमण्डल चयन गरेको छ। जसमा डोलराज विश्वकर्मा, दीपनारायण दास, शान्ति गजमेर, प्रेम गैरे, रवि नेपाली रहेका छन्। वर्णानुक्रमअनुसार चक्रीय प्रणालीमा ६/६ महिना नेतृत्व गर्ने गरी पहिलो चरणमा डोलराज विश्वकर्मालाई अध्यक्षमण्डलको अध्यक्ष चयन गरिएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, मोर्चाको महासचिवमा रूपा सुनार, सचिवमा निर्जन विश्वकर्मा र कोषाध्यक्षमा अस्मिता बादीलाई चयन गरिएको छ।

भेलाले सातै प्रदेश र सम्पर्क समितिमा संयोजक पनि चयन गरेको छ। प्रदेश नं १ (कोसी)मा पूजन हिङमाङ, मधेसमा जीवन विक, नेवा तामसालिङ प्रदेश (बागमती)मा लक्ष्मी विक, गण्डकीमा तारा सुनाम, लुम्बिनीमा अर्जुन विक, कर्णालीमा लक्ष्मण विक र सुदूरपश्चिममा मंगल बाजुरेलीलाई संयोजक बनाइएको छ। सम्पर्क समितिमा बसन्त सापकोटा तिरुवालाई संयोजक बनाइएको विज्ञप्तिमा उल्लेख छ।