
नेता सुभाषचन्द्र बोस आइसिएस पास गरेपछि भारत फर्किए । उनी भारत फर्किएपछि एउटा जागिरको खोजीमा लागे । त्यहाँ उनले एउटा कम्पनीमा कर्मचारी चाहिएको जानकारी पाए । सो पदका लागि उनको शैक्षिक योग्यता पनि उपयुक्त थियो । त्यसैले उनी सो लिखित परीक्षामा सामेल भए । परीक्षाका लागि आवश्यक तयारी गरेर उनी परीक्षा सञ्चालन हुने दिन तोकिएको समयमै परीक्षा केन्द्रमा पुगे । परीक्षा सुरु भयो । परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरियो । बडो उत्सुकताले उनले सर्सर्ती सो प्रश्नपत्र हेरे ।
प्रश्नपत्र हेर्दै जाँदा एउटा प्रश्नमा पुगेपछि उनका आँखा टक्क रोकिए । सो प्रश्न देखेपछि उनका आँखा तिर्मिराए । त्यो प्रश्नपत्रमा अनुवादका लागि एउटा अंग्रेजी वाक्य दिइएको थियो, ‘इन्डियन सोल्जर्स आर जनरल्ली डिसअनेस्ट’ अर्थात् अभारतीय सैनिकहरू सामान्यतया बेइमान हुन्छन् । परीक्षार्थीले यस वाक्यलाई आ–आफ्नो मातृभाषामा अनुवाद गर्नुपर्ने थियो ।
सुभाषचन्द्रले यो प्रश्नको विरोध गरे । उनले निरीक्षकसँग भने, ‘तपाईं यो प्रश्न तुरुन्त काटिहाल्नुस् र अर्को प्रश्न यसमा सामेल गर्नुस् ।’ उनको विरोध सुनेपछि निरीक्षकले भने, ‘यो प्रश्न आवश्यक रूपरेखाअनुसार नै राखिएको हो । त्यसैले यसलाई काट्न मिल्दैन । यदि तपाईंले यस प्रश्नको हल गर्न सक्नुभएन भने यति ठूलो नोकरी हात पार्ने मौका गुमाउनुहुनेछ,’ निरीक्षकले बडो निरस भाकामा जवाफ दिए ।
निरीक्षकको यस्तो जवाफ सुनेर सुभाषचन्द्र रिसले चुर भए । उनले प्रश्नपत्र च्यात्दै भने, ‘लैजा, यही होइन तेरो नोकरी ? आफ्नो मातृभूमिका मानिसको निन्दा र अपमान सहनुभन्दा भोकै मर्नु धेरै राम्रो हो । मलाई यस्तो नोकरी चाहिँदैन ।’ यति भन्दै उनी परीक्षा भवनबाट बाहिर निस्किए ।