मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ११ बिहीबार ०८:१४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फासँग रुष्ट समर्थकको प्यारापिटमै विरोध

फुटबल विकासभन्दा एन्फा आन्तरिक द्वन्द्वमा केन्द्रित भएको भन्दै समर्थकले खेल चलिरहकै वेला गरे प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ११ बिहीबार ०८:१४:००

अखिल नेपाल फुटबल संघ (एन्फा) फुटबल विकासको गतिविधिमा सक्रिय नभएको बन्दै समर्थकले दशरथ रंगशालामा प्रदर्शन गरेका छन् । जावलाखेल युथ र मच्छिन्द्र फुटबल क्लबबीचको खेल चलिरहँदा बुधबार समर्थकले एन्फाविरुद्ध प्लेकार्डसहित प्यारापिटबाट एन्फा नेतृत्वको विरोध गरेका हुन् । ३० जनाको समूहमा उपस्थित उनीहरूले ‘एन्फालाई लाज लाग्दैन ?’ भन्दै प्रश्न गरेका छन् । 

यसैगरी, अन्य प्लेकार्डमा ‘भ्रष्ट पदाधिकारीलाई रेड कार्ड, आकाशभरि चिलगाडी विदेशतिर खेलाडी, ‘खेलाडीलाई सधैँ सास्तीमा, पदाधिकारी मस्तिमा’, ‘ए डिभिजन लिगको यस्तो ताल, बी र सीको के छ हाल ?’ ‘नेपाली फुटबलको विकास साफ खेल्न जान १० दिनको प्रयास, वा एन्फा वा’, ‘हेर् त हेर् त गुटैगुट, एन्फाभित्र ब्रह्मलुट,’ जस्ता प्लेकार्ड देखाएका थिए । 

प्लेकार्डसहित उपस्थित भएका सीताराम दाहालले एन्फा सही दिशामा नभएको र फुटबलभन्दा राजनीतिमा तल्लिन रहेको नयाँ पत्रिकासँग बताए । ‘हामी एन्फाको पछिल्लो घटनाक्रमलाई हेरिरहेका छौँ । उहाँहरू फुटबल विकासभन्दा आन्तरिक झैझगडामै व्यस्त हुनुहुन्छ,’ काभ्रे पाँचखालका हाल शंखमूल बस्दै आएका दाहालले भने । 

बजेट अभावका कारण यू–२३ टोलीलाई एएफसी एसियन छनोटमा खेलाउन नसक्ने एन्फाले निर्णय गरिसकेको छ । समर्थकले पछिल्लोपटक नेपालको यू–२३ एसियन छनोटमा खेल्न नजाने एन्फा निर्णयको कडा विरोध गरेका छन् । साफ च्याम्पियनसिपका लागि खेलाडीलाई विश्राम नभएको र लिग व्यस्त तालिकाबीच जारी राखिएकोमा उनीहरूले आपत्ति जनाएका छन् । ‘उहाँहरू बजेटकै कारण प्रतियोगिता गर्न सकेनौँ । राष्ट्रिय टोलीलाई खेलाउन सक्दिनँ भन्नुहुन्छ । फुटबल विकासका लागि मेरुदण्ड मानिने ए डिभिजन लिग सक्काउनै हत्तार गर्नुहुन्छ,’ दाहालले भने, ‘साफ च्याम्पियनसिपलाई राम्रो तयारी राख्न सक्नुहुन्छ, सधैँ एन्फाभित्र आन्तरिक भागबन्डा मिलाउन र झगडा गर्नमै केन्द्रित देखिँदा हामीलाई राम्रो लागेको छैन ।’ 

एन्फा प्रवक्ता सुरेश शाहले यू–२३ नेपाली टोली र राष्ट्रिय टोलीको खेल एकैपटक पर्दा प्राथमिकतामा राष्ट्रिय टोली राखिएको बताएका छन् । ‘यू–२३ टोलीले एएफसी एसिया कप छनोट नखेल्ने कुरा सत्य हो । तर, आर्थिक अभावकै कारणभन्दा पनि राष्ट्रिय टोलीलाई प्राथमिकतामा राखेका हौँ,’ शाहले भने, ‘दुवै खेल एकैपटक भएको र यू–२३ टोलीका अधिकांश खेलाडी नै सिनियर टोलीभित्र रहेकाले प्राथमिकतामा राखेका हौँ ।’ प्रवक्ता शाहले एन्फाको निर्णयलाई जोगाउनखोजेका छन् । 

यसैबीच, डबल लिगको २१औँ चरण जारी रहँदा बी डिभिजन लिगको टुंगो लाग्न सकेको छैन । एन्फाले १५ चैतबाट बी डिभिजन लिग आयोजना गर्ने बताए पनि दुईपटक मिति सारेर पनि प्रतियोगिता गर्न सकेको छैन । मंगलबार बसेको १४ क्लब र एन्फा पदाधिकारीको बैठक निर्णयमा नपुग्दा अर्को सातालाई बैठक बोलाइएको छ ।