मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ११ बिहीबार ०७:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज रातो मत्स्येन्द्रनाथको भोटो देखाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ११ बिहीबार ०७:३४:००

भोटो जात्राको अवसरमा काठमाडाैं उपत्यकामा आज सार्वजनिक बिदा

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मत्स्येन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए ।

भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटोजात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मत्स्येन्द्रनाथको जात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । 

यस्तो छ किंवदन्ती

किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।

डराएका किसानले मत्स्येन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरूप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरूपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मत्स्येन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मत्स्येन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मत्स्येन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ।  

राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आज राष्ट्रपति रामचन्द्र पौडेल पनि जाने कार्यक्रम छ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।  

काठमाडौं उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्राको रूपमा रहेको रातो मत्स्येन्द्रनाथ रथजात्राको अन्तिम दिन बिहीबार भोटो देखाउने तयारी पूरा भएको छ । बिहीबार अपराह्न ३ बजेपछि राष्ट्रप्रमुखलाई भोटो देखाइने गुठी संस्थानको तयारी छ ।

गुठी संस्थान ललितपुर शाखा प्रमुखले मत्स्येन्द्रनाथको भोटो देखाउनेछन् । पुल्चोकमा बनेको रथलाई मंगलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी, मानभवनलगायतका भित्री टोल परिक्रमा गराइँदै जावलाखेल पुर्‍याइएको हो । रथ जावलाखेल पुर्‍याइएको तेस्रो दिन बिहीबार भोटोजात्रा मनाउन लागिएको हो ।

भोटोजात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेल पुग्नेछन् । साइत जुराएपछि उनलाई गुठी संस्थान ललितपुर शाखा र मच्छेन्द्रनाथका पुजारीले निमन्त्रण गरेका हुन् । रथजात्रा हेर्न राष्ट्रप्रमुखसँगै उच्चपदस्थ व्यक्तिहरू जावलाखेल पुग्नेछन् । भोटोजात्रा सकिएपछि मत्स्येन्द्रनाथलाई खटमा राखी बुङमती लैजाने चलन छ ।