१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

काभा महिला भलिबल च्यालेन्ज कप : दोस्रो जितसँगै नेपाल सेमिफाइनलमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२o:oo

साबिक विजेता नेपाल लगातार दोस्रो जितका साथ काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले समूह ‘ए’कै कमजोर टोली मानिएको बंगलादेशमाथि ३–० को सहज सेटमा हराउँदै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । नेपालले एक खेलअगाडि नै समूह चरण पार गरेको हो । 

नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक आयोजना भएको च्यालेन्ज कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि २५–१०, २५–८ र २५–९ ले पराजित गरेको हो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तानलाई पनि ३–० कै सोझो सेटमा हराएको थियो । नेपालले समूह ‘ए’मा दुई खेलबाट ६ अंक जोडेको छ । नेपालको जितले भारतको अन्तिम चारमा पुग्ने बाटो सहज बन्यो । समूह ‘ए’मा भारतले किर्गिस्तानमाथि ३–० को सहज जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो । भारतले किर्गिस्तानलाई २७–१७, २५–८ र २५–८ ले हरायो । 

अब समूह विजेता र उपविजेताको छिनोफानो बुधबार हुने नेपाल र भारतबीचको खेलले निर्धारण गर्नेछ । किर्गिस्तान र बंगलादेशले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् । लगातार दोस्रो हारसँगै किर्गिस्तान प्रतियोगिताबाट बाहिरियो । बंगलादेशको एक खेलअगाडि नै सेमिफाइनल पुग्ने आशा समाप्त भयो । किर्गिस्तान र बंगलादेशले अंकको खाता खोल्न सकेको छैन । 

श्रीलंकामाथि रोमाञ्चक जित
प्रतियोतिगाअन्तर्गत समूह ‘बी’मा कजाकिस्तानले श्रीलंकालाई ३–१ ले हराएको छ । जितसँगै कजाकिस्तान अन्तिम चारनजिक पुगेको छ । कजाकिस्तान २५–१६, २८–२६, २५–१८ र २९–२७ ले विजयी भयो । दशरथ रंगशालाको कभर्डहलमा श्रीलंका र कजाकिस्तानबीचको खेल रोमाञ्चक बनेको थियो । श्रीलंकाले पहिलो सेटबाहेक अन्य तीन सेटमा कजाकिस्तानलाई कडा चुनौती दिएको थियो । कजाकिस्तानले पहिलो सेट २५–१६ ले सहजै आफ्नो पक्षमा पारेको थियो । 

त्यसपछिका सेटमा कजाकिस्तानले सोचेजस्तो पाएन । दोस्रो सेटमा श्रीलंकाली खेलाडीले हल्का गल्ती गर्दा कजाकिस्तान २८–२६ ले विजयी भयो । उत्कृष्ट पुनरागमन गर्ने क्रममा श्रीलंकाले तेस्रो सेटमा २५–१८ को जित निकाल्यो । चौथो सेटमा कजाकिस्तानले अन्तिमसम्म कुनै पनि गल्ती नगरी ९–२७ ले आफ्नो पक्षमा पा¥यो । हारसँगै श्रीलंकाको सेमिफाइनल सम्भावना लगभग सकिएको छ । कजाकिस्तानले प्रतियोगिताको पहिलो खेलमा सोमबार माल्दिभ्सलाई ३–० ले हराएको थियो । श्रीलंका उज्वेकिस्तानसँग ३–० को साझो सेटमा पराजित भएको थियो । 

बंगलादेशविरुद्ध चार खेलाडीको डेब्यु
नेपालका प्रशिक्षक जान डी ब्रान्टले सहज प्रतिद्वन्द्वी बंगलादेशविरुद्ध चार खेलाडीलाई डेब्युको अवसर दिलाए । स्पाइकर पूजा चौधरी, लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट र सेटर प्रगति नाथले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । यी सबै खेलाडीले पहिलो सेटमै प्रतिस्पर्धा गर्न अवसर पाए । समग्रमा काभा च्यालेन्ज कपमा नेपाली राष्ट्रिय महिला टोलीमा ६ जना खेलाडीले डेब्यु गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सोमबार मिडल ब्लकर संगम महतो र रिमा कुँवरले डेब्यु गरेका थिए ।

प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई पहिलो सेटमा हराएको थियो । नेपालले विपक्षी खेलाडीलाई मौका नदिई पहिलो सेटमा २५–१० को सोझो सेटमा जित निकाल्यो ।पहिलो सेटको तुलनामा दोस्रो सेटमा बंगलादेशी खेलाडीले चुनौती प्रस्तुत गरेका थिए । सुरुवाती क्रममा बंगलादेशले नेपाललाई ६–६ को स्थितिमा रोकेको थियो । त्यसपछि घरेलु खेलाडीले उत्कृष्ट पुनरागमन गर्दै बंगलादेशलाई २५–८ मा रोक्यो । तेस्रो सेटमा नेपालले सुरुदेखि नै अग्रता बनायो । नेपालले बंगलादेशलाई २५–९ ले निराश पार्दै अन्तिम चारको स्थान पक्का गर्‍यो । 

 भारतसँग किर्गिस्तानको हार 
उपाधि दाबेदार भारतले आफ्नो दोस्रो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । भारतले किर्गिस्तानलाई २५–१७, २५–८ र २५–८ को सोझो सेटमा पाखा लगाएको हो । यसअघि पहिलो खेलमा भारतले बंगलादेशलाई पनि ३–० कै सेटमा निराश बनाएको थियो । भारतविरुद्धको प्रतिस्पर्धामा किर्गिस्तानले पहिलो सेटमा चुनौती प्रस्तुत गरेको थियो । तर, फर्ममा रहेका भारतीय खेलाडीलाई अंक बटुल्नबाट किर्गिस्तानले रोक्न सकेन । भारतले दुई खेलबाट ६ अंक बटुलेको छ । 

ad
ad