अहिलेको मौसममा बालबालिका भाइरल ज्वरोबाट धेरै नै प्रभावित हुने गर्छन् । उनीहरूमा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, टाइफाइड, जन्डिस, निमोनिया आदि विभिन्न रोगको संक्रमण हुने गर्छ । बच्चालाई ज्वरो आउनेबित्तिकै अभिभावक डराउने र आत्तिएर अस्पताल दौडिने गरेको पाइन्छ ।
तर, कुन अवस्थामा अस्पताल जाने र कुन अवस्थामा नजाने भनेर जान्न आवश्यक छ । भाइरसबाट हुने रुघाखोकी एक व्यक्तिबाट अर्कोमा एकदमै छिटो सर्ने गर्छ । घरमा कसैमा रुघाखोकी लागेमा बच्चाहरू छिटै प्रभावित हुने गर्छन्, जसले गर्दा ज्वरो आउन सक्छ । ज्वरोका अन्य कारण पनि हुन सक्छन् ।
सतर्कता
ज्वरो आउँदा केही सतर्कताका विधि अपनाएर सुरक्षित रहन सकिन्छ । यतिवेला बच्चालाई सही हेरचाहको जरुरी हुन्छ । घरमा ज्वरो नाप्ने यन्त्र र सिटामोल अनिवार्य राख्नुपर्छ । ज्वरो आएमा तत्काल पारासिटामोल खुवाउन सकिन्छ । बच्चालाई गुम्स्याएर राख्नुहुँदैन । उनीहरूमा देखिने लक्षण र परिवर्तनलाई नजिकबाट नियाल्नुपर्छ । शिशुलाई आमाको दूध प्रशस्तै खुवाउनुपर्छ ।
अन्य बालबालिकालाई पर्याप्त मात्रामा झोलिलो खानेकुरा खुवाउनुपर्छ । ज्वरो, बान्ता वा झाडापखाला लागेको वेलामा झोलिलो खानेकुराको आवश्यकता सामान्य अवस्थाभन्दा धेरै पर्छ । घरमै बनाएको सुप, जुसलगायत खुवाउन सकिन्छ । यसो हुँदा बच्चाको शरीरमा पानीको कमी हुन पाउँदैन । प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुग्छ । चिसो खानेकुरा खुवाउनु हुँदैन । जंकफुड दिनुहुँदैन ।
समस्या
कतिपय बच्चा धेरै ज्वरो आउँदा बेहोस हुने सम्भावना हुन्छ । ६ महिनादेखि ५ वर्षसम्मका बच्चालाई ब्राइल सिजर आउँछ । ज्वरोमा तापक्रम ९९ भन्दा कम छ भने आत्तिनुपर्दैन । ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउनुपर्छ । बच्चालाई १०२, १०३ सम्म ज्वरो आउँदा पानीपट्टी लगाएर ज्वरो घटाउने प्रयास गर्नुपर्छ, ज्वरो कम भएन भने अस्पताल लैजानुपर्छ ।
यी कुरा ख्याल गरौँ
- बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन सक्छ । त्यसैले बच्चालाई ज्वरो आएको वेलामा देब्रेतिर फर्काएर सुताउनुपर्छ ।
- मनतातो पानी वा चिसो पानीमा नरम कपडा भिजाएर टाउको र पाइतालामा राखिदिनुपर्छ । यसो गर्दा तापक्रम घट्छ ।
उपचार
बालबालिकालाई सामान्यतः पहिलो २४ घन्टा निगरानीमा राखेर हेर्नुपर्ने हुन्छ । कतिपय बालबालिकामा सामान्य ज्वरो वा भाइरल संक्रमण भइरहेको हुन्छ । कतिपयमा काम्ने वा बेहोस हुने अवस्था पनि आउँछ । त्यसैले बच्चा काम्न छाडे पनि निको भयो भनेर ढुक्क हुनुहुँदैन । एकपटक चिकित्सकलाई देखाउनु राम्रो हुन्छ । कुनै गम्भीर समस्याका कारण ज्वरो आएको हो वा सामान्य ज्वरो हो भनेर चिकित्सकले मात्र निक्र्योल गर्न सक्छन् । लक्षण र अवस्था हेरेर चिकित्सकले रगत परीक्षण, रगतको कल्चर, पिसाबको परीक्षण र छातीको एक्स–रेलगायत परीक्षण गर्ने सल्लाह दिन सक्छन् । चिकित्सकको सिफारिसअनुसार नै बच्चालाई नियमित रूपमा औषधि खुवाउनुपर्छ । जथाभावी औषधि प्रयोग गर्नुहुँदैन ।