वरिष्ठ माउन्टेन गाइड एवं आरोही पासाङ दावा शेर्पा २७औँपटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् । सोमबार बिहान ८: २५ बजे पासाङ दावाले कीर्तिमानी आरोही कामिरिता शेर्पाले बनाएको विश्व कीर्तिमानी बराबरी गरेका छन् ।
कामिरिता र पासाङ दावाको सगरमाथा आरोहण बराबरी हुन पुगेको सगरमाथा आधार शिविर अनुगमन समितिका अधिकृत खिमलाल गौतमले बताए । कामिरिताले गत बुधबार बिहान २७औँपटक सगरमाथाको चुचुरो चुमेर कीर्तिमानी राखेका थिए ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का विख्यात आरोही पासाङ दावाले वसन्त ऋतुको एउटै सिजनमा दुईपटक सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले ३१ वैशाखमा २६औँपटक सगरमाथाको चुचुरो चुमेका थिए । त्यसवेला पनि केही दिनअघि पासाङ दावाले कामिरिताको कीर्तिमानी बराबर गरेका थिए । पछि कामिरिताले २७औँपटक सगरमाथा चढेर आफ्नो कीर्तिमानी जोगाउन सफल भएका थिए ।
पासाङ दावाले २७औँपटक सगरमाथा आरोहण गरेर कीर्तिमानी बराबर गरेपछि कामिरिता पनि २८औँपटक आरोहणका लागि प्रयासरत छन् । मौसमले साथ दिएमा सम्भवतः मंगलबार बिहानसम्म कामिरिताले सगरमाथाको सफल आरोहण गर्ने सरकारी अनुगमन अधिकृत गौतमले बताए । यो आरोहण सफल भएमा कामिरिताले पनि एउटै सिजनमा दुईपटक चुचुरो पुग्नेछन् ।