एउटा पोथी उँट र उसको सानो बछेडा एउटा रुखमुनि विश्राम गरिरहेका थिए । त्यसै बखत उक्त बच्चा उँटले आफ्नो आमासँग सोध्यो, ‘आमा हामी उँटको यति ठूलो जुरो किन हुन्छ ?’आमा उँट एक छिन सोचमग्न भई र आफ्नो बछेडालाई भनी, ‘हामी मरुभूमिमा बस्ने जनावर हौँ । मरुभूमिमा पानी एकदमै कम पाइन्छ । त्यसैले शरीरलाई चाहिने पानी जगेडा राख्न हामीसँग यो जुरो हुन्छ, ताकि थोरै पानीमा पनि हामी बाँच्न सकौँ ।’ बछेडा उँटले केही क्षण सोचे जस्तो गर्यो र फेरि सोध्यो, ‘ल ठिक छ, जुरो त पानी भण्डार गरी राख्न भयो अनि हाम्रा खुट्टा किन लामा र तलुवा गोला भएका ?’
आमा उँटले उत्तर दिई, ‘ए, यी त मरुभूमिमा हिँड्नका लागि हुन् नि !’ बच्चा उँट केही क्षण घोरियो र पुनः आफ्नो आमालाई सोध्यो, ‘हाम्रा परेलाचाहिँ किन यति बाक्ला र लामा भएका ? कहिलेकाहीँ त यी मेरा आँखामा नै घुस्रेर बिजाउँछन् ।’ आमा उँट उत्तर दिन्छे, ‘यी लामा र बाक्ला परेलाले हामीलाई मरुभूमिमा हुरीले उढाएर ल्याउने बालुवा छिर्नबाट जोगाउँछन् । यो त मरुभूमिमा आँखाको रक्षाकवच हो नि !’
बच्चा उँट यसो सोच्छ र भन्छ, ‘ए मैले बुझेँ । यो जुरो हामी मरुभूमिमा हुँदा पानी भण्डार गरेर राख्न रहेछ, यी लामा–लामा खुट्टा र गोला खुर मरुभूमिमा हिँड्नका लागि रहेछन् अनि यी लामा परेला मरुभूमिको बालुवाबाट मेरो आँखाको रक्षा गर्ने रहेछ । तर, आमा उसो भए हामी किन चिडियाखानामा छौँ त ?’
शिक्षा : तपाईं सही समयमा सही ठाउँमा हुनुहुन्छ भने मात्र तपाईंको सीप र क्षमता उपयोगी हुन्छन् । अन्यथा ती व्यर्थमा जान्छन् ।