मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २६ शुक्रबार
  • Friday, 09 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ६ शनिबार १९:२२:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

साहित्यकार पार्वती शाहीको कथासंग्रह  ‘पहिलो रात’ बजारमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ६ शनिबार १९:२२:००

सहित्यकार पर्वती शाहीको कथासंग्रह ‘पहिलो रात’ बजारमा आएको छ। पुस्तकमा १२ वटा कथा संग्रहित छन्। कथामा सुदूरपश्चिमेली सामाजिक परिवेशलाई कलात्मक ढंगले  चित्रण गरिएका छन्।

कथामा चित्रण गरिएका पात्र तथा परिवेशले पाठकलाई सुदूरपश्चिमेली आञ्चलिक स्वाद उपलब्ध गराउँछ। कथा जति रोमाञ्चक छन्, उत्तिकै कारुणिक पनि छन्। पात्रमार्फत सुदूरपश्चिमेली सामाजिक संरचनाभित्र रहेका कुरीति, थिचोमिचो, अपहेलना, तिरस्कारजस्ता सामाजिक समस्या लेखकले मौलिक ढंगले प्रस्तुत गर्न सकेका छन्। त्यसो हुँदा कथामा चित्रण गरिएका पात्रमार्फत पाठकले सुदूरश्चिमेली समाजको वास्तविकतालाई नजिकबाट बुझ्न सक्छन्।

आञ्चलिक स्वादले भरिएका कतिपय कथा पढेपछि त्यहाँका पात्र, उनीहरूका पीडा र अनेक उल्झनमा जिउन बाध्य परिवेश, सामाजिक संरचनामा सामन्ती सोच एवं ठूलाबडाको हैकम विद्यमान रहेको अनुमान गर्न सकिन्छ। सुदूरपश्चिमेली समाजमा अझै पनि छाउपडी प्रथा जीवित छ। ठूलाबडाले समाजको पिँधमा रहेका निमुखामाथि गर्ने थिचोमिचो त्यहाँको समाजमा अझै पनि हट्न सकेको छैन। महिलामाथि हुने सामाजिक हिंसा अझै विद्यमान छन्। पर्वतीको कथामा यी पक्ष सशक्त ढंगले उजागर भएका छन्।

कथा संवेगात्मक छन्। भावप्रधान छन्। र, बोधगम्य पनि छन्। सुदूरपश्चिमेली समाजको मसिनो पक्षलाई समातेर गम्भीर विषयवस्तु उठान गर्न सक्नु कथाकारको मौलिक खुबी मान्न सकिन्छ। कथामा उठान गरिएका समाज समस्या जति जटिल लाग्छन्, प्रस्तुति उत्तिकै सरल र सभ्य छन्। त्यसो हुँदा जोसुकै पाठकलाई पुस्तकमा संग्रहित कथाले छुन सक्छ। कथामा विद्रोही चेत भेटिँदैन। तर, परिवर्तनको चाहना भने कथामा भेटिन्छन्।