१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० जेठ ५ शुक्रबार १०:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सय दिनमा सुदूरपश्चिम सरकार विस्तारको तयारीमा, शपथ आजै

Read Time : > 1 मिनेट
२०८० जेठ ५ शुक्रबार १०:३८:००

सत्तागठबन्धनबीच मन्त्रालय भागबन्डामा सहमति जुटेपछि सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारीमा छ । मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार मन्त्रीहरू नियुक्त गर्ने र नवनियुक्त मन्त्रीको आजै शपथ गराउने तयारी भएकाे जनाएका छन् ।  शाह मुख्यमन्त्रीमा नियुक्त भएको एक सय दिनमा सरकार विस्तार हुन लागेको हो ।

नेकपा माओवादी केन्द्रले दुई, नागरिक उन्मुक्ति पार्टी एक र नेपाली कांग्रेसले थप एक मन्त्री लिने सहमति भएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले बताए । तीनै दलले एक–एकजना राज्यमन्त्री लिने सहमति छ ।
अढाई वर्षपछि माओवादीले सरकारको नेतृत्व गर्ने पनि सहमति रहेको नेता भट्टले बताए ।

माओवादीबाट रमेशसिंह धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र झपट साउद सामाजिक विकासमन्त्री बन्ने तय भएको छ । त्यस्तै, गीतादेवी माललाई राज्यमन्त्री बनाउने निर्णय भएको नेता भट्टले जानकारी दिए । कांग्रेसबाट कसलाई मन्त्री बनाउने भन्ने छलफलमै रहेको कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहले बताए । उनले आजै मन्त्रीहरूको शपथ कार्यक्रम रहेको जानकारी दिए । 

नागरिक उन्मुक्तिलाई एक मन्त्री र एक राज्यमन्त्री दिने सहमति छ । तर, दुई मन्त्रालय नपाएसम्म सरकारमा सहभागी नहुने उक्त पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले बताए । ‘हामीले सामाजिक र कृषि मन्त्रालय मागेको हो । दुई मन्त्रालय नपाएसम्म सरकारमा नजाने भन्ने छ,’ चौधरीले भने, ‘हामी छलफलमै छौँ ।’ 

नागरिक उन्मुक्ति सहभागी नभए आज कांग्रेस र माओवादीबाट नियुक्त हुने मन्त्रीको मात्र शपथ हुने बताइएको छ । मुख्यमन्त्रीसहित सातवटा मन्त्रालय रहेको प्रदेशमा यसअघि कांग्रेसबाट मुख्यमन्त्री शाहसहित प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्री छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट नरेशबहादुर शाह आर्थिक मामिलामन्त्री छन् । गठबन्धनबीच भागबन्डा नमिल्दा लामो समयसम्म सरकार विस्तार हुन सकेको थिएन ।