
मोफसलमा पहिलोपटक ‘ट्रान्सक्याथेटर एओर्टिक भल्ब इम्प्लान्टेसन’ (टिएभिआई) सफल भएको छ । पोखरा मणिपाल शिक्षण अस्पतालमा सो इम्प्लान्टेसन सफल भएको हो । वरिष्ठ कार्डियोलोजिस्ट डा. अमितकुमार चौरासिया, डा. नवराज पौडेललगायतको टोलीले एओर्टिक भल्बको सफल प्रत्यारोपण गरेको हो ।
उनीहरूले ८६ वर्षीय कालिदास तिमिल्सिनाको मुटुमा झन्डै डेढ घन्टा लगाएर सफल टिएभिआई गरेका हुन् । पछिल्लो समय उपचार प्रविधिले फड्को मारेको उल्लेख गर्दै डा. चौरासियाले भने, ‘पहिले–पहिले छाती खोलेर मुटुको शल्यक्रिया गरिन्थ्यो । पछिचाहिँ यो प्रक्रिया टिएभिआई सुरु भएको हो । अहिले छाती नखोली खुट्टाबाटै रिप्लेसपेन्ट हुन्छ । भेन्टिलेटरमा पनि राख्नुपर्दैन ।’