Skip This
नातिलाई छोरा बनाएर नागरिकता : वडाध्यक्ष, प्रशासकीय अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Saturday, 27 July, 2024
सौरभ यादव राजविराज
२o८o जेठ ४ बिहीबार o८:१o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नातिलाई छोरा बनाएर नागरिकता : वडाध्यक्ष, प्रशासकीय अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी 

Read Time : > 2 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार o८:१o:oo

सप्तरीमा झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाउने कार्यमा वडाध्यक्षदेखि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत संलग्न रहेको पाइएको छ ।  जिल्ला अदालत सप्तरीले राजविराज नगरपालिका– ११ का एक व्यक्तिको नागरिकता बनाउन सिफारिस गर्नेदेखि वडाध्यक्ष, वडासचिव, नागरिकता बनाउने प्रशासकीय अधिकृतसहित प्रशासनका चार कर्मचारी, तीन प्रहरी र स्थानीयसहित २६ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो । 

सूर्यनारायण यादवले विवाहित छोरीका छोरा सतिश यादवलाई आफ्नो छोरा भनेर झुटो विवरण पेस गरेर २१ फागुन ०७९ मा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट १६–०१–७९–११६३१ नम्बरको नागरिकता प्राप्त गराएका थिए । जिल्ला सरकारी वकिल कार्यालयमार्फत ३१ वैशाखमा २८ जनाविरुद्ध मुद्दा दायर भएकामा अदालतले १ जेठमा सूर्यनारायण र सतिशलाई जनही एक लाख धरौटीमा छाडेको छ । तर, फरार करार भएर मुद्दा दायर भएका २६ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको अदालतका स्रेस्तेदार कुमार मास्केले बताए । सरकारी वकिल कार्यालय सप्तरीबाट ३१ वैशाखमा नागरिकता प्रकरणमा २८ जनाविरुद्ध मुद्दा चलेको थियो । जसमा २६ जना फरार रहेको भनिएको थियो । 

सतिशले कसरी लिए नागरिकता ?
सतिशको जन्ममिति १९ साउन ०६१ भनेर नागरिकता लिइएको छ । तर, यो हिसाबले सतिशको जन्म हुँदा उनकी आमा भनिएकी सुर्जीदेवी यादवकोे उमेर ५४ वर्षको हुन आउने देखिन्छ । सुर्जीदेवी सतिशकी हजुरआमा हुन् । नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको डिएनए परीक्षणबाट पनि सतिश सूर्यनारायण र सुर्जीदेवीको जैविक सन्तान नभएको र छिमेकीले पनि छोरीको छोरा भनेको अदालतमा दायर मुद्दामा उल्लेख छ । 

विश्वस्त स्रोतका अनुसार सूर्यनारायणकी छोरीले भारतमा विवाह गरेकी थिइन् । तर, उनी आफ्ना छोरा सतिशससहित सानैदेखि राजविराजमा बस्दै आएकी छिन् ।उनले राजविराज– २ मा रहेको पशुपति बोर्डिङ स्कुलमा एसइईसम्मको पढाइ गरेको र स्थानीय वल्र्ड भिजन कलेजमा ११ मा भर्ना भएको दाबीसहितको बयान सरकारी वकिलको कार्यालयमा दिएका थिए । तर, कलेजले नेपाली नागरिकता मागेपछि सूर्यनारायण बुबा र सुर्जीदेवी आमा रहेको भनेर ११ फागुनमा वडा कार्यालयबाट सिफारिस लिएका थिए । 

नागरिकताको सिफारिस लिँदा यादवको पुरानो जन्मतदर्ता च्यातेर नयाँ बनाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । २१ फागुन ०७९ मा प्रशासनमा नागरिकताका लागि निवेदन पेस सोही दिन १६–०१–७९–११६३१ नम्बरको नागरिकता जारी भएको थियो । सतिशलाई छोरा बनाएर झुटा विवरण पेस गरी नागरिकता लिएको भन्दै उजुरी परेपछि प्रहरीले ७ चैत ०७९ सूर्यनारायण र सतिशलाई पक्राउ गरेको थियो । 

को विरुद्ध कुन मुद्दा ?
प्रहरीले झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिने र सो कार्यमा संलग्न रहेका आरोपमा २८ जनाविरुद्ध नेपाली नागरिकता ऐन, २०६३ को कसुरअन्तर्गत मुद्दा चलाएको छ । जसमध्ये पाँचजनाविरुद्ध नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ (३) र २३ जनाविरुद्ध सोही दफा को ७ कसुर गरेको अभियोगमा मुद्दा चलिरहेको छ ।

दफा २१ (३) अनुसार कसैले नेपाली नागरिकताको झुटो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने–गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यो दफाअन्तर्गत नक्कली बुबा बनेका सूर्यनारायण र नक्कली छोरा सतिश, राजविराज नगरपालिका– ११ का वडाध्यक्ष उदीतनारायण यादव, वडासचिव हरिनारायण यादव र स्थानीय रामदेव साहविरुद्ध मुद्दा चलेको छ ।

झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाउन मद्दत, उद्योग गरेको अभियोगमा मुद्दा चलेको छ । यो कसुुरमा नेपाली नागरिकता ऐन, २०६३ को दफा (१) (२) र ३ अन्तर्गत हुने सजायको आधा सजाय हुने व्यवस्था छ । यो कसुरअन्तर्गत प्रहरी सहायक हवल्दार नारायणकुमार महतो, प्रहरी सहायक निरीक्षक महेन्द्र चौधरी, प्रहरी जवान रामईश्वर मण्डल, नागरिकता जारी गर्ने जिल्ला प्रसाशन कार्यालय सप्तरीमा थप कामकाजमा कार्यरत शाखा अधिकृत किशोरकुमार राम, प्रशासनमै कार्यरत नायब सुब्बा सुशील कर्ण र प्रशासनका खरिदार सञ्जीवकुमार साह र सुरज नेपालविरुद्ध मुद्दा चलेको छ । 

त्यस्तै, स्थानीय भुवनेश्वरप्रसाद यादव, कुशेश्वरप्रसाद यादव, देवकृष्ण यादव, शत्रुधनप्रसाद यादव, देवु यादव, चुल्हाई यादव, विराजी यादव, रामदेव यादव, राधेश्याम यादव, रामकिसुन यादव, रामकिसुन यादव (१), प्रभु यादव, कप्लेस्वर यादव, नारायणप्रसाद यादव, दशरथ यादव, ओशोदेवी यादवविरुद्ध पनि सोही कसुरमा मुद्दा चलाइएको छ ।