
कांग्रेस महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुसिएका जोकोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग गरे।
अनुसन्धानमा पार्टी जोडिनु नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने उनको तर्क थियो। महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गर्दै कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेसम्म स्वतः निलम्बनमा पर्ने बताए।
उनले गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने बताए। उनले भने, ‘अहिले एउटा प्रकरणको बहस चलिरहेको छ, प्रकरणबारे पार्टीमा बहस भयो, प्रकरणमा पार्टीका नेता मुछिनुभयो । नेता मुछिइसकेपछि विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ । अनुसन्धानबाट दोषी ठहरिन्छ भने बकाइदासँग दोषीले सजाय पाउनुपर्छ । यो खालको राष्ट्रविरुद्धको अपराध राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जोजो मुसिन्छ सबैलाई कारबाही हुनुपर्छ । त्यसमा दायाँ–बायाँ केही पनि हुनुहुँदैन । एउटा कुनै पदमा जिम्मामा बसेको मान्छे, कतै पनि छ भने अभियोगमा लागेपछि त्यो स्वतः निलम्बनमा पर्छ । प्रमाणित भएन भने स्वतः आउँछ। यो आग्रह, पूर्वाग्रह होइन । केही साथीहरूले परम्परा छैन भन्नुभयो, यदि यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नुहुँदैन।’