१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

कार्टुनमार्फत सडक सुरक्षासम्बन्धी सचेतना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:३o:oo

संयुक्त राष्ट्र संघ विश्व सडक सुरक्षा सप्ताहको अवसरमा सडक सुरक्षासम्बन्धी सचेतना जगाउन बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा ‘सडक यात्रा’ शीर्षकमा कार्टुन प्रदर्शनी सुरु भएको छ।

राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजना र कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा गरिएको कार्टुन प्रदर्शनीकोे मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे। नेपालका वरिष्ठदेखि कनिष्ठ कार्टुनिस्टहरूद्वारा बनाइएका ३० वटा कार्टुनहरू प्रदर्शनीमा रहेका छन्।

कार्टुनहरूमा विशेषतः असुरक्षित तबरले सडकमा सवारी चलाउने प्रवृत्तिका विरुद्ध सन्देश प्रवाह गरिएको छ। हेलमेट नलगाई मोटरसाइकल चलाउने, तीव्र गतिमा सवारी हाँक्ने, सडक लेन मिच्ने, गाडी चलाउँदा मादक पदार्थ सेवन गर्ने, लागुपदार्थ खाने, मोबाइल फोन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका प्रवृत्तिले सडकमा दुर्घटना हुने गरेको कार्टुनहरूमा औँल्याइएका छन्।

यस्तै, अपांगता भएका, वृद्धवृद्धा, बालबालिका तथा अशक्तहरूका लागि सडकमा विशेष ख्याल पुर्याउनुपर्ने सन्देश पनि कार्टुनमार्फत दिइएको छ। ट्राफिक नियमको पालना गर्नुपर्ने, सडक इन्जिनियरिङ वैज्ञानिक हुनुपर्नेतर्फ सवारीचालक, यात्रु, बटुवा तथा सर्वसाधारण सबैमा कार्टुनले सचेत गराएका छन्।

कार्टुन प्रदर्शनीको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रदर्शित कार्टुनहरूले सार्वजनिक यातायात र मोटरसाइकलचालकलाई बढी सचेतना दिन सक्ने बताए। ‘किनकि, सार्वजनिक यातायात चलाउनेहरू प्रायले स्कुल शिक्षा लिएका र मोटरसाइकलचालकहरू १२ कक्षा सकेकाहररू नै हुन्छन्,’ उनले भने।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. ग्याम्पोले सडकमा हुने दुर्घटनाबाट विश्वमा मानवीय क्षतिको मात्रा बढिरहेकाले सचेतना अति नै आवश्यक रहेको बताए। उनले खासगरी युवा वर्गकै बढी क्षति भइरहेको सुनाए। यस्तो अवस्थामा सडक सुरक्षासम्बन्धी कार्टुन निकै प्रभावकारी र नवीनतम् भएको उनको भनाइ थियो।

राष्ट्रिय सडक सुरक्षा परिषद्ले दिएको हालैको तथ्यांकअनुसार विश्वभर करिब १३ लाख ५० हजार मानिसले प्रतिवर्ष सवारी दुर्घटनाका कारण ज्यान गुमाएका छन्। नेपालमा हरेक वर्ष करिब दुई हजार आठ सय मानिसको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ।

ad
ad