मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० जेठ १ सोमबार ०७:५१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

आजदेखि नेपाल–बंगलादेश ऊर्जा बैठक

व्यापार, लगानी र अन्तरदेशीय प्रसारण लाइन मुख्य एजेन्डा

Read Time : > 2 मिनेट
२०८० जेठ १ सोमबार ०७:५१:००

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक कमिटी (जेएससी)को पाँचौँ बैठक सोमबारदेखि बंगलादेशमा सुरु हुँदै छ । नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्ने गरी सन् २०१८ मा जेएससी गठन भएको थियो । त्यसको पाँचौँ बैठक सोमबार र मंगलबार बंगलादेशको ढाकामा हुन लागेको हो ।

बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागलगयातका निकायका प्रतिनिधि आइतबार बंगलादेश प्रस्थान गरिसकेका छन् । यसपालिको बैठकमा विशेष गरी दुई देशबीचको विद्युत् व्यापार, लगानी र अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी एजेन्डामा छलफल गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले बताए ।

‘बैठकमा सहभागी हुन हाम्रो टोली बंगलादेश आइसकेको छ । यसपालिको बैठक विशेष गरी विद्युत् व्यापार, नेपालको जलविद्युत्मा बंगलादेशको लगानी, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विषयमा छलफल हुनेछ,’ उनले भने, ‘साथै, विगतमा बैठकहरूमा भएका निर्णयहरूको समीक्षा, ज्ञान आदान–प्रदानलगायतका औपचारिक एजेन्डामा समेत छलफल हुनेछ ।’

दुई दिनसम्म सञ्चालन हुने बैठकमा पहिलो दिन सोमबार (आज) सहसचिवस्तरीय छलफल हुनेछ । सोही छलफलले निर्णयको खाका तयार गरेर मंगलबार हुने सविचस्तरीय बैठकलाई सिफारिस गरिनेछ । सोहीअनुसार सचिवस्तरी बैठकले निर्णयलाई अन्तिम रूप दिनेछ । उनका अनुसार दुई देशबीच विद्युत् व्यापार सम्झौता (पिटिए) गर्ने प्रस्ताव बैठकमा पेस गरिनेछ । त्यसकै आधारमा नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गर्न पनि बाटो खुला गर्ने मन्त्रालयको योजना छ ।

भारतले सहयोग गर्ने प्रतिबद्धता गरेसँगै प्राधिकरणले यही बर्खामा लिखु–४ जलविद्युत् आयोजनाको ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न ऊर्जा बैठकमा बंगलादेशले गत कात्तिकभित्रै नेपालबाट ५० मेगावाटसम्म खरिद गर्ने भनेको थियो । तर, नेपाल–बंगलादेशबीच विद्युत् आदान–प्रदान गर्न डेडिकेटेड प्रसारण लाइन छैन ।

सोहीअनुसार भारतीय प्रसारण लाइन प्रयोग गरेर विद्युत् आदान–प्रदान गर्ने सहमति भएको थियो । त्यसका लागि दुवै देशले भारतसँग पहल गर्ने भनिएको थियो । तर, भारतमा समयमै पहल नहुँदा त्यो सफल भएन । यद्यपि, गत फागुनमा सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा भारतले आफ्नो संरचनामार्फत नेपालबाट ५० मेगावाट विद्युत् बंगलादेशमा बिक्री गर्न दिने सहमति गरेको छ । त्यसपछि प्राधिकरणले लिखु–४ को विद्युत् बंगलादेश बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ । तर, त्यसका लागि नेपाल र बंगलादेशबीच विद्युत् व्यापार सम्झौता (पिटिए) नै भएको छैन । साथै, नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच के–कति मूल्यमा विद्युत् खरिद–बिक्री गर्ने भनेर छुट्टै सम्झौता गर्नुपर्नेछ । 

सोही अवस्थालाई दृष्टिगत गर्दै यसपालिको बैठकमा पिटिएलाई मुख्य प्राथमिकतामा राखिएको छ । यसका अलावा नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच पिपिए गर्ने वातावरणसमेत बनाइेछ । ‘हामीले यही बर्खादेखि भारतीय प्रसारण लाइन प्रयोग गरेर बंगलादेशमा ५० मेगावाट विद्युत् निर्यात गर्ने भनेका छौँ । यसलाई कसरी सफल बनाउने भन्ने विषयमा बैठकमा आवश्यक निर्णय गरिनेछ,’ भेटुवालले भने, ‘हेर्दा त ५० मेगावाट विद्युत् बिक्री गर्नु सामान्यजस्तो देखिन्छ । तर, यो सांकेतिक रूपमा निकै महत्वपूर्ण छ । त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने पहल हाम्रो हुन्छ । सोहीअनुसार पिटिए र पिपिएबारे पनि बैठकमा छलफल हुन्छ ।’ 

यस्तै, बैठकमा नेपालको जलविद्युत् आयोजनामा बंगलादेशको सरकारी तथा निजी लगानी भिœयाउने प्रस्ताव पेस गरिनेछ । नेपाल र बंगलादेशले संयुक्त लगानीमा ६ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलविद्युत् आयोजना बनाउने सहमति भइसकेको छ । यसका लागि गत भदौमा सम्पन्न ऊर्जा बैठकमा नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच सहमति पनि भइसकेको छ । यस आयोजनामा एक खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यसलाई यही बैठकमार्फत टुंगोमा पुर्‍याउने योजना मन्त्रालयको छ । विशेष गरी संयुक्त कम्पनी स्थापना गर्ने मामलामा आवश्यक समझदारी गरिनेछ । साथै, यसको निर्माण मोडालिटी पनि टुंगो लगाउने सहसचिव भेटुवालले बताए । यसबाहेक अन्य जलविद्युत् आयोजनामा पनि बंगलादेशको सरकारी तथा निजी लगानी भित्र्याउने गरी एजेन्डा लैजाने मन्त्रालयको तयारी छ ।  

२५ साउन ०७५ मा भएको तेस्रो ऊर्जा बैठकमा नेपालले विभिन्न पाँचवटा जलविद्युत् आयोजना संयुक्त रूपमा बनाउने गरी प्रस्ताव गरेको थियो । त्यसमा किमाथांका अरुण, सुनकोसी तेस्रो, खिम्ती शिवालय, अरुण चौथोलगायतका आयोजना थिए । त्यसमा सुनकोसी तेस्रो नेपाल र बंगलादेशको संयुक्त लगानी बन्दै छ । यीबाहेक अन्य विभिन्न आयोजनाहरूमा बंगलादेशलाई लगानी गर्न लगाउने योजना रहेको छ । यस्तै, नेपाल–बंगलादेश अन्तरदेशीय डेडिकेटेड प्रसारण लाइन बनाउने विषयमा पनि बैठकमा छलफल हुनेछ । विशेष गरी नेपाल विद्युत् प्राधिकरणले नै यसमा आवश्यक तयारी गरेको छ । नेपाल–बंगलादेशबीच विद्युत् व्यापार गर्ने भएपछि अन्तरदेशीय प्रसारण लाइन चाहिन्छ । त्यसका लागि आवश्यक अध्ययन गर्ने गरी प्रस्ताव लगिएको छ । 

अहिलेलाई भारतकै प्रसारण लाइन प्रयोग गरेर बंगलादेशमा विद्युत् पठाउने हो । तर, दीर्घकालीन रूपमा त्यो उपयुक्त हुँदैन । सोही अवस्थालाई लक्षित गर्ने चार सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन बनाउने गरी बैठकमा छलफल गरिनेछ । यसका लागि प्राधिकरणले ‘अनारमनी (नेपाल)–सिलगुडी (भारत)–बंगलादेश’ र ‘इनरवा (नेपाल)–पुर्णिया (भारत)–बंगलादेश’ गरेर दुई रुटलाई ‘सर्ट लिस्ट’ गरिसकेको छ । त्यसमध्येबाट हुने एउटा रुट छनोट गरेर प्रसारण लाइन निर्माणको थप प्रक्रिया अघि बढाउने नेपालको योजना छ ।