१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:५२:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

६ लाख मेडिकल किट ‘डेट एक्स्पायर’

कोभिड परीक्षणका लागि खरिद गरिएका पाँच लाख ९९ हजार ५७ किट प्रयोगमा नआउँदै म्याद गुज्रियो, ६१ हजार ४८६ किटको पनि दुई सातामा म्याद सकिँदै

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:५२:oo

कोभिड परीक्षणका लागि विभिन्न समयमा खरिद गरिएका झन्डै ६ लाख किट खेर गएका छन् । कोभिड संक्रमण बढेपछि अनुमानका आधारमा आवश्यकताभन्दा बढी खरिद गरिएका मेडिकल किट प्रयोगमा नआउँदा म्याद गुज्रिएर खेर गएका हुन् । स्वास्थ्य सेवा विभागले भने कोभिड परीक्षण दर घटैसँगै किटको प्रयोग स्वतः घटेकाले खेर गएको जनाएको छ ।

कोभिड परीक्षणमा प्रयोगमा ल्याइने भिटिएम, आरटी पिसिआर, आरएनए एक्सट्र्याक्सन, अटोमेटेड आरएनए, रियल टाइम पिसिआरजस्ता किटहरूको म्याद प्रयोगमा नआउँदै सकिएको हो । डब्लुएचओ, सिसिएमसी, युएसआइडी र अन्य राष्ट्रको सहयोगसँगै खरिद गरेर ल्याइएकामध्ये पाँच लाख ९९ हजार ५७ किट प्रयोगमा नआउँदै म्याद सकिएको छ । साथै, ६१ हजार चार सय ८६ किटको म्याद गुज्रिन दुई साता बाँकी छ । यसबाहेक मौज्दात रहेका अन्य लाखौँको संख्यामा रहेका किटहरूको अवधिसमेत आगामी जुलाईसम्म मात्रै रहेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले जनाएको छ ।

कोभिड महामारी सुरु भएयता अनुदान र खरिद गरी ल्याइएका किटमध्ये दुई लाख ७६ हजार सात सय ४७ पिस रियल टाइम आरटी पिसिआर किटको म्याद सकिएको हो । प्रयोगमा आउन बाँकी दुई हजार आठ सय ४८ किटको म्याद पनि आगामी ३० जुनसम्म मात्रै छ ।

कोभिड संक्रमण बढेसँगै परीक्षणका लागि विभिन्न देशको सहयोग र सरकारले खरिद गरेर २१ लाख २५ हजार नौ सय १५ किट ल्याइएको थियो । भाइरसको न्युक्लिक एसिडको गुणात्मक मात्रा परीक्षण अर्थात् संक्रमण भए–नभएको पुष्टि गर्न प्रयोगमा ल्याइने पिसिआर किट निश्चित तापक्रममा १२ महिनासम्म स्टोरमा राख्न सकिन्छ ।

आरएनए एक्सट्र्याक्सन किटसमेत समयमै प्रयोगमा नआउँदा ७४ हजार ९८ पिस खेर गएको छ । कोभिड परीक्षणका लागि ल्याइएको १२ लाख ३८ हजार दुई सय ९९ आरएनए एक्सट्र्याक्सन किट ल्याइएको थियो । अटोमेटेज आरएनए एक्सट्र्याक्सन किटसमेत एक लाख ११ हजार आठ सय ३२ पिस प्रयोगविहीन बनेको छ । यसबाहेक प्रयोगमा आउन बाँकी रहेको एक लाख ७६ हजारभन्दा बढी किटको म्यादसमेत १२ जुलाईसम्म मात्रै छ ।

यस्तै, भिटिएम किटसमेत एक लाख ३६ हजार तीन सय ८० पिस खेर गएको छ । उत्पादन भएको दुई वर्षको अवधिमा प्रयोगमा ल्याइसक्नुपर्ने भए पनि समयमा प्रयोग नहुँदा किट खेर गएको हो । प्रयोगमा आउन बाँकी रहेको ९६ हजारभन्दा बढी किटको अवधिसमेत केही दिनमै सकिँदै छ । भाइरल ट्रान्सपोर्ट मिडियम किटलाई स्याम्पल संकलनपछि भाइरस नमुना सुरक्षित राख्न प्रयोग गरिन्छ । खासगरी भिटिएममा भाइरसको नमुना राखेर प्रयोगशालासम्म पुर्‍याउन र विश्लेषण गर्न प्रयोगमा ल्याइन्छ । भाइरसलाई सुरक्षित राख्न यो किटलाई अति कम तापक्रम फ्रिजर वा तरल नाइट्रोजनमा भण्डारण गर्नुपर्ने हुन्छ । यो किट उत्पादन गरिएको दुई वर्षभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ ।

व्यवस्थापन स्वास्थ्य सेवा विभागका महाशाखा प्रमुख डा. सुरेन्द्र चौरासिया भन्छन् – संक्रमण बढेको समयमा दातृ निकायसँग आग्रह गरेर थप आवश्यक भएपछि लाखौँको संख्यामा किट ल्याइएको हो । तर, प्रक्षेपणका आधारमा यति नै चाहिन्छ भन्ने यकिन हुँदैन । त्यसैले केही मात्रै किटहरूको म्याद गुज्रिएको हो ।’

लाखौँको संख्यामा मेडिकल किट म्याद गुज्रेर खेर गए पनि विभागले भने खरिद गर्दा आवश्यक पर्न सक्ने किटको पहिले नै प्रक्षेपण गर्न नसकिने भएकाले खेर जाने अवस्था आएको दाबी गरेको छ । महामारीको सुरुवातमा किट खरिद गर्दा आवश्यक पर्न सक्ने यकिन संख्या पहिले नै थाहा नहुने र संक्रमदर घटेसँगै प्रयोग घटेपछि किट प्रयोगविहीन भएको व्यवस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले बताए । ‘संक्रमण बढेको समयमा दातृनिकायहरूसँग आग्रह गरेर थप आवश्यक भएपछि लाखौँको संख्यामा किट ल्याइएको हो । तर, प्रक्षेपणका आधारमा यति नै चाहिन्छ भन्ने यकिन हुँदैन । त्यसैलै केही मात्रै किटको म्याद गुज्रिएको हो,’ उनले भने ।

किट खरिदमा २९ करोड ८१ लाखभन्दा बढी खर्च
महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले अघिल्लो वर्षदेखि नै कोभिडका विभिन्न किट मौज्दात रहेकै समयमा विभागले थप किट खरिद गर्दा खेर जाने दर बढी भएको औँल्याएको छ । विभागले कोभिड तीव्र रूपमा फैलिएको र सोको निदानका लागि प्रयोगशाला परीक्षण अपरिहार्य रहेको, स्टोरमा किट मौज्दात न्यून रहेको उल्लेख गरी भिटिएम किट, आरएनए एक्सट्र्याक्सन किट, अटोमेटेड आरएनए एक्सट्र्याक्सन किट र एन्टिजेन किट सात दिनको सूचना दिई विशेष परिस्थितिमा २९ करोड ८१ लाख २४ हजार रुपैयाँमा खरिद गरेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४ (१) मा सार्वजनिक निकायले मालसामान खरिद गर्नुअघि विशेष आवश्यकतालगायतको विवरण तयार गनुपर्ने उल्लेख छ । तर, विभागले अघिल्लो वर्षको मौज्दात, सहयोगबाट प्राप्त भएको परिमाण र खपतको अवस्थालाई समेत ध्यान दिई आवश्यकताको पहिचान नगरेका कारण किटको मौज्दात परिमाण बढी भएको पाइएको हो । एन्टिजेन किटको आयु दुई वर्ष र अन्य किटको आयु एक वर्ष मात्र भएकाले आवश्यकताको यकिन नगरी खरिद कार्य अगाडि बढाउँदा मौज्दातमा किट प्रयोगविहीन हुने अवस्था आएको महालेखाले जनाएको छ ।

महालेखाको पछिल्लो तथ्यांकअनुसार कोभिडको नमुना संकलनमा प्रयोग हुँदै आएको भिटिएम किट गत वर्षमै दुई लाख ३१ हजार तीन सय ९२ पिस मौज्दात रहे पनि स्वास्थ्य सेवा विभागले थप ६ लाख ५७ हजार पिस खरिद गरेपछि किट खेर जाने दर बढी देखिएको हो । जब कि यही वर्ष भिटिएम किट १० लाख २६ हजार ८१६ पिस अनुदानमा भित्रिएको थियो । भिटिएम किट खरिदका लागि मात्रै सरकारले पाँच लाख ८९ हजार १५० रुपैयाँ खर्च गरेको छ ।

गत वर्षकै पाँच हजार ८२५ एन्टिजेन किट मौज्दात रहेकोमा थप १४ लाख दुई हजार २७७ किट अनुदानमा आएको थियो । तर, सरकारले थप तीन लाख किट खरिद गरेको थियो । यस वर्ष एन्टिजेन खरिदका लागि मात्र १० लाख ८६ हजार ६८४ रुपैयाँ खर्च गरेको थियो ।

रियल टाइम पिसिआर किटसमेत गत वर्षकै एक लाख ३१ हजार ६०८ पिस मौज्दात रहेकामा खरिदमार्फत थप ६ लाख किट ल्याइएको थियो । यसबाहेक आरएनए एक्सट्र्याक्सन किटसमेत गत वर्षकै दुई लाख १८ हजार चार सय ९८ किट मौज्दात रहँदा रहँदै थप नौ हजार किट खरिद गरिएको पाइएको छ । यसबाहेक अटोमेटेड आरएनए एक्सट्र्याक्सन किटसमेत २१ हजार थप खरिद गरिएको थियो । जब कि यो किट गत वर्षकै दुई लाख एक हजार ६१६ पिस मौज्दात र सोही समयमा अनुदानमा ६ लाख १६ हजार ३९६ पिस ल्याइएको थियो ।

ad
ad