
आरजु मिलबाट उत्पादित चामल बजारमा बिक्री सुरु भएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको लगानी रहेको आरजु राइस मिलबाट उत्पादन भएको लङग्रेन र जिरामसिनो चामलको बिक्री सुरु गरिएको हो ।
अहिले चार हजार बिघा जमिनमा धान उत्पादन गरेर आरजु राइस मिलमार्फत आरजु चामल बिक्री सुरु गरेको बताए बस्नेतले बताए । उनले भने, ‘अहिले लङग्रेन एक सय ३० रुपैयाँ प्रतिकेजीमा बिक्री सुरु गरेका छौँ ।’ बस्नेतले लामो समयदेखि विराटनगरमा कृषकहरूसँग मिलेर सयौँ बिघा जमिनमा धान उत्पादन सुुरु गरेका थिए । त्यही उत्पादनलाई राइस मिलमार्फत प्याकिङ गरेर बजारमा ल्याइएको हो ।
मिलको क्षमता चार मेट्रिकटन प्रतिघन्टा चामल उत्पादन गर्ने रहेको छ । मोरङका कृषक दिव्यराज खतिवडाले आरजु राइस मिलले कृषकलाई केही आशा थपेको बताए । चैते धानलाई प्रतिक्विन्टल नौ सय रुपैयाँ र असारे धानलाई एक हजार दुई सय रुपैयाँ तोकिएको छ । विगतमा मूल्य तोकिए पनि बिक्री नहुने अवस्था रहेको भए पनि अहिले आरजु राइसले खरिद गर्दा सहज भएको खतिवडाको भनाइ छ ।
कस्तो छ चामल ?
आरजु लङग्रेन चामल प्रतिकेजी एक सय ३० रुपैयाँमा काठमाडौंको बजारमा उपलब्ध छ । काठमाडौंको बजारमा उपलब्ध हुने अन्य चामल ०.५ मिलिमिटर लामो रहे तापनि मूल्य एक सय ६० देखि एक सय ७० रुपैयाँ प्रतिकेजी पर्छ । यो भनेको आरजु लङग्रेनभन्दा ३० देखि ४० रुपैयाँ बढी हो । त्यस्तै, कनिकाको मिसावट पनि बढी रहेको देखिएको छ ।
बजारमा कनिकाको मूल्य प्रतिकेजी ३५ देखि ४० रुपैयाँ छ । वर्षमा एकजना उपभोक्ताले लगभग एक सय ३५ देखि एक सय ४० केजी चामलको उपभोग गर्छन् । बस्नेतले भने, ‘हाम्रो चामल लगभग किलोमा ४० रुपैयाँ सस्तो छ ।’ गुणस्तरीय तथा स्वादिलो चामलमा एकजना ग्राहकले वार्षिक साढे पाँच हजारको बचत गर्न सक्ने बस्नेतले दाबी गरे । उनले भने, ‘पाँचजनाको परिवार छ भने महँगीको यस्तो वेला २८ हजार रुपैयाँभन्दा बढीको बचत हुन्छ ।’