
राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कृषि मन्त्रालय विघटन गर्नुपर्ने बताएका छन्। बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले ८५ प्रतिशत तरकारी र ठूलो मात्रामा खाद्यान्न विदेशबाट आयात गर्नुपर्ने स्थिति राखिराख्ने हो भने कृषि मन्त्रालयको आवश्यकता नरहेको उनको जिकिर छ। आवश्यक कामको पूर्ति गर्न नसक्ने हो भने मन्त्रालय बनाइरहनुको कुनै औचित्य नरहने उनको तर्क छ।
‘यो मन्त्रालय सबैभन्दा धेरै मन्त्री परिवर्तन हुने मन्त्रालय भएको छ। नयाँ सरकार बनेपछि पनि ४/५ जना मन्त्री बनिसके। हामीलाई ६ लाख मेट्रिकटन मल चाहिन्छ तर हामी ४ लाख मेट्रिक टन मगाइराखेका छौँ। त्यसमा पनि सबै आएको छैन, हामी पाक्ने बेलामा ल्याउँछौँ, साउन भदौमा ल्याउनुपर्ने हो। के महत्व भयो,’ उनले भने।