१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश सुवेदी काठमाडाैं
Invalid date format o६:१८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा विवाद : महासचिवसँगको टकरावपछि पाण्डेको राजीनामा

निर्वाचनपछिको पहिलो बैठकबाट विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका जर्मन नागरिक नवीन पाण्डेलाई लगत्तै अध्यक्षको सल्लाहकारसमेत नियुक्त गरिएको थियो, १० महिनापछि सोमबार पदबाट राजीनामा दिँदै उनी एन्फाबाट बाहिरिए

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१८:oo

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङका सल्लाहकार नवीन पाण्डेले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय महासचिव किरण राईसँग टकराव सुरु भएपछि पाण्डेले असन्तुष्टि जनाउँदै एन्फा छाड्ने निर्णय गरेका हुन् । आफूखुसी एन्फा प्रशासन र नीतिगत कार्यमा हस्तक्षेप गर्दै आएका जर्मन नागरिक पाण्डेलाई महासचिव राईले रोकेपछि राजीनामा दिएको एन्फा स्रोतले बताएको छ । 

नेपालमै रहेका पाण्डेले सोमबार अध्यक्ष नेम्वाङलाई पत्र लेख्दै राजीनामा बुझाएका हुन् । आइतबार नै उनले राजीनामा दिने र सोमबारको आपत्कालीन बैठकबाट राजीनामा स्वीकृत हुने चर्चा थियो । तर, आपत्कालिन बैठकमा यस विषयले प्रवेश नै पाउन सकेन । यद्यपि, उनको राजीनामालाई लिएर महासचिव राईले कुनै प्रतिक्रिया नजनाउने र ‘सरप्राइज’ भएको नयाँ पत्रिकासँग बताएका छन् । ‘नवीनजीको सरप्राइज गिफ्टका लागि धन्यवाद !’ राईले भने । पाण्डेले राजीनामा दिएको पत्रमा महासचिव राईविरुद्ध चर्काे आलोचना र असन्तुष्टि जनाएका छन् । 

दुईमध्ये एक रोज्न दबाब 
गत वर्षको ६ असारमा भएको निर्वाचनसँगै पाण्डेको एन्फा प्रवेश नै निकै विवादास्पद बनेको थियो । अध्यक्ष नेम्वाङल निर्वाचित भएको पहिलो बैठकबाटै अवैधानिक रूपमा पाण्डेलाई विदेश विभाग प्रमुख बनाएका थिए । तर, बहुमत कार्यसमिति सदस्यले विरोध जनाएपछि चुनावी सहयोगी पाण्डेलाई २६ फागुनमा आफ्नो सल्लाहकारमा नेम्वाङले नियुक्त गरे । नेम्वाङको सहयोगमा पाण्डेले एन्फाको प्रशासन नै चलाएको आरोप छ ।

एन्फाको आधिकारिक ‘इमेल’ पाण्डे नै चलाइरहेको केन्द्रीय सदस्यले बताए । ‘एन्फाको इमेल मात्र नभएर विदेश भ्रमण, प्रशिक्षक नियुक्तिदेखि विभिन्न कार्यमा पाण्डेको हालिमुहाली थियो,’ एन्फाका ती सदस्यले भने, ‘जब पाण्डेले महासचिव राईविरुद्धसमेत छड्के नजर लगाए, त्यसपछि दुईबीचको सम्बन्ध बिग्रिएको हो ।’

एन्फा अध्यक्षका सल्लाहकार रहेका पाण्डेले आफ्ना विश्वासिलो पात्र दामोदर भट्टराईलाई सहायक महासचिव नियुक्त गरे । एन्फा निर्वाचन कमिटीमा रहेका भट्टराईसमेत विवादास्पद पात्र हुन् । राईलाई हटाएर भट्टराईलाई महासचिव बनाउने योजनामा पाण्डेले बनाएका थिए । त्यसपछि राईले पाण्डेलाई पत्याउन छाडे । पाण्डेले अध्यक्ष नेम्वाङलाई महासचिव राई हटाउनुपर्ने माग राखे । तर, नेम्वाङ दुवैलाई सन्तुलन राख्न चाहन्थे । पाण्डेले स्वयम आफू र राई मध्ये रोज्न नेम्वाङ समक्ष प्रस्ताव राख्दै दबाब दिए । नेम्वाङले आफ्ना दुवै विश्वासका पात्र छाड्न चाहेनन् ।

एन्फा अध्यक्षले प्रस्ताव स्विकार नगरेपछि पाण्डेले एन्फा छाड्ने निर्णय लिएका हुन् । ‘उहाँ सकेसम्म महासचिव राईलाई हटाएर आफ्नो अनुकूल भट्टराईलाई झिकाउन चाहनुहुन्थ्यो । तर, सम्भव नदेखिएपछि पद छाड्नुभएको जस्तो लाग्छ,’ एन्फाका एक सदस्य भन्छन् । कर्माछिरिङ शेर्पाको कार्यकालमा समेत पाण्डे विदेश विभाग प्रमुख थिए । विदेशी नागरिकलाई नियुक्त गरेपछि शेर्पा निकै विवादमा तानिए, तर पनि पाण्डेको विश्वास तोडेनन् । त्यस समयसमेत पाण्डे शेर्पालाई आफूअनुकूल निर्णय गराउन लगाउँथे । शेर्पाले पाण्डेलाई लत्याउन थालेपछि आठ महिनामै शेर्पाको प्रतिपक्ष भएर नेम्वाङलाई उचाल्दै आएका थिए । 

अध्यक्ष नेम्वाङले दोस्रो सहयोगी नियुक्त गरे 
एन्फा अध्यक्ष नेम्वाङले आफ्नो दोस्रो सहयोगीमा अशोक पाण्डेलाई नियुक्त गरेका छन् । सोमबार बसेको आपत्कालीन बैठकबाट नेम्वाङले आफ्नो इमेल हेर्ने, इन्टरनेट सहयोग गर्ने गरी पाण्डेलाई नियुक्त गरेका हुन् । उनको मासिक तलबसमेत तोकिए पनि गोप्य राखिएको छ । पछिल्ला दिनमा वरिष्ठ उपाध्यक्षसहित केही पदाधिकारीको पारिश्रमिक विवादमा आएपछि पाण्डेको पनि पारिश्रमिक गोप्य राखिएको हो । 

स्रोतका अनुसार पाण्डेको पारिश्रमिक ४० हजारदेखि ७५ हजारसम्म हुन सक्नेछ । ‘यति नै तलब दिने भनेर निर्णय भएको छैन । तर, सह–महासचिवबराबर दिने सल्लाह भएको छ,’ एक सदस्यले नयाँ पत्रिकासँग खुलासा गरे । अध्यक्षका स्वकीय सचिवमा गोर्खाका अमृत खत्री छन् । स्वकीय सचिवलाई काठमाडौंमा बस्ने–खानेसहित मासिक ४० हजार पारिश्रमिक दिइएको छ ।