मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख २६ मंगलबार ०५:५४:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

टोपबहादुरलाई पक्रन देशभर परिपत्र, आइजिपीको अमेरिका भ्रमण रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख २६ मंगलबार ०५:५४:००

भुटानी शरणार्थी ठगीमा आफ्नो संलग्नता नरहेको र प्रहरीलाई अनुसन्धानमा सघाउने बताएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अझै फरार छन् । पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्रन देशभर परिपत्र गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले यससम्बन्धी परिपत्र गरेको हो । साथै पक्राउका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायतका निकायबाट पनि प्रहरी परिचालन गरिएको छ ।

पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक हुँदा गत बुधबार रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै थिए । त्यही दिन उनी ‘काठमाडौं गएर प्रहरीलाई सघाउने’ भन्दै काठमाडौंका लागि हिँडेका थिए । तर, त्यही साँझ छोरा सन्दीप पक्राउ परेपछि उनी बिहीबार बिहानदेखि फरार भएका थिए । 

आइजिपीको अमेरिका भ्रमण रद्द

उता, सोही मुद्दाका कारण नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरले अमेरिका भ्रमण रद्द गरेका छन् । अमेरिकी सरकारले गर्ने ‘लिडरसिप एक्सचेन्ज’सम्बन्धी कार्यक्रमको निमन्त्रणमा उनी सोमबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो ।

भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा उच्चपदस्थमाथि अनुसन्धान अघि बढेपछि आइजिपी कुँवरले भ्रमण रद्द गरेको स्रोत बताउँछ । प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले आइजिपी कुँवरको भ्रमण रद्द भएको पुष्टि गरे, तर कारणबारे जानकारी नभएको बताए ।

मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरे पनि सरकारकै सल्लाहमा उनले नजाने निर्णय गरेका हुन् । सो कार्यक्रममा सहभागी हुन एआइजीद्वय किरण बज्राचार्य र सुदीप गिरी तथा डिआइजी रामदत्त जोशीलगायत गएका छन् ।