
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्। प्रधानमन्त्रीको परीक्षाको बेला आएको बताउँदै नेपालले सो प्रकरणमा उनलाई आफूहरूको पूरा साथ र सहयोग रहने आश्वासन दिए।
‘देशको सबभन्दा मुख्य समाचार भनेको भ्रष्टाचार नै हो। भ्रष्टाचारलाई जबसम्म हामी नियन्त्रण गर्दैनौँ, भ्रष्टाचारीलाई जबसम्म कारबाही गर्दैनौँ, तबसम्म सुशासनको प्रत्याभूति गर्न सकिँदैन। भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनुपर्छ। त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाईकन, दृढताका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने।