१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २२ शुक्रबार ०६:३७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मछिन्द्रसँग संकटाको हार

संकटाविरुद्धको जितसँगै मच्छिन्द्र उपाधि होडमा फर्किएको छ । सहिद स्मारक ए डिभिजन लिगको १४औँ चरणका खेल सकिँदा शीर्ष स्थानको जावलाखेलभन्दा तीन अंकले मच्छिन्द्र पछाडि छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २२ शुक्रबार ०६:३७:००

साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लबले बिहीबार संकटा क्लबलाई ३–१ ले पराजित गरेको छ । दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत दोस्रो लेगमा मच्छिन्द्रले सानदार प्रदर्शन गर्‍यो । उपाधिमा ह्याट्रिक गर्ने योजना बनाएको मच्छिन्द्रले दुवै लेगमा संकटालाई हराउन सफल भएको छ । यसअघि पहिलो लेगमा मच्छिन्द्रसँग संकटा २–१ ले पराजित भएको थियो । संकटाले पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन । संकटा तीन खेलमा पराजित हुँदा एक खेलमा अंक जोडेको थियो । 

मच्छिन्द्रले पछिल्ला खेलमा सुधारिएको खेल देखाएको छ । लिगमा पाँचौँ जितपछि मच्छिन्द्र १४ खेलमा २१ अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ । छैटौँ खेलमा हार सामना गरेको संकटा १६ अंकसहित ११औँ स्थानमा झरेको छ । संकटाका प्रशिक्षक सल्यान खड्गीले लिग उपाधि जित्ने योजना बनाए पनि लगातार खराब प्रदर्शन भएको बताए । ‘लिग उपाधिका लागि आएका थियौँ । तर, धेरै गोल बेहोर्दा हामी तालिकामा धेरै पछि छौँ,’ खड्गीले भने । उनले मच्छिन्द्रविरुद्ध काउन्टर खेलमा ध्यान दिए पनि फिनिसिङमा चुकेको जनाए । 

‘हामीले काउन्टर खेलमा ध्यान दिएका थियौँ, त्यसमा सफल भएनौँ,’ उनले भने, ‘सामान्य गोल भए, हरेक खेलमा धेरै गोल निस्कन थाले ।’ जितपछि मच्छिन्द्रका प्रशिक्षक किशोर केसी निकै खुसी देखिएका छन् । ‘योजनाअनुसार तीन अंक लिन सफल भएका छौँ । खेलाडीको मिहिनेतले तीन अंक प्राप्त भएको छ,’ उनले भने, मेरो लक्ष्य उपाधि जित्ने नै हो । त्यही हिसाबमा क्लबलाई अगाडि बढाउँछु ।’ 

दोस्रो हाफ प्रतिस्पर्धात्मक
मच्छिन्द्रलाई जित दिलाउन रक्षक देवेन्द्र तामाङ, आफिज ओलावाले र विमल घर्तीमगरले समान एक गोल गरे । संंकटाका लागि जुनियर ओनगुनले एक गोल फर्काएका थिए । खेलको चौथो मिनेटमै देवेन्द्रले मच्छिन्द्रलाई १–० को अग्रता दिलाएका थिए । पुजन उपरकोटीको प्रहार संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापाले राम्रोसँग क्लियर गर्न सकेनन् । गोलरक्षक थापाबाट रिबाउन्ड बललाई देवेन्द्रले सहजै गोल गरे । मच्छिन्द्रले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । ६९औँ मिनेटमा ओलावालेले सौभर लिम्बूको पासमा गोल गरे । खेलको ७९औँ मिनेटमा संकटाले अग्रता २–१ मा झारेको थियो । विदेशी खेलाडी जुनियरले संकटाको गोलअन्तर कम गरे । खेल सकिन एक मिनेटअघि विमलले मच्छिन्द्रलाई सहज जित दिलाए । 

एपिएफको हार ट¥यो 
मालिका एडामा डौम्बियाको गोलको सहयोगमा एपिएफले एनआरटीसँग १–१ को बराबरी खेलेको छ । च्यासल मैदानमा न्युरोड टिम एनआरटीविरुद्ध इन्जुरी समयसम्म १–० ले पछि परेको एपिएफलाई डौम्बियाले बराबरीमा ल्याएका हुन् । एपिएफ पहिलो लेगमा एनआरटीसँग १–० ले पराजित भएको थियो । 

दोस्रो लेगमा एनआरटीले अग्रता लियो । अन्तिम समय सम्हालिन नसक्दा एनआरटीले तीन अंक गुमायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा ५९औँ मिनेटमा एनआरटीले अग्रता लिएको हो । भारतीय खेलाडी लालनुन्जामाले गोल गरे । उनले कप्तान विक्रम धिमालको पासमा हेड गोल गरेका थिए । इन्जुरी समयमा डौम्बियाले सनिस श्रेष्ठको पासमा हेड गोल गर्दै एपिएफको हार टारेका हुन् । १९ अंक बनाएको एपिएफ सातौँ स्थानमा छ । एनआरटी १७ अंक जोडेर नवौँ स्थानमा छ ।

मनाङको प्रशिक्षकमा विष्णु
आठपटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले मुख्य प्रशिक्षकमा विष्णु गुरुङलाई नियुक्त गरेको छ । लगातार ६ खेलमा पराजित भएपछि किरण श्रेष्ठले पदबाट राजीनामा दिएका थिए । मनाङले रिक्त पदमा गुरुङलाई झिकाएको हो । 
श्रेष्ठले १३ खेलमा मनाङलाई प्रशिक्षण दिएका थिए । त्यसक्रममा चार जित, तीन बराबर र ६ खेलमा हारेको थियो । मनाङका अध्यक्ष विजय घले र गुरुङबीच दुई वर्षको सम्झौता भएको छ । गुरुङले खेलाडी जीवनमा सफल नभए पनि प्रशिक्षकको रूपमा भने मनाङमा सफल हुन प्रयत्न गर्ने बताएका छन् ।