१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी खार्तुम
२०८० बैशाख २१ बिहीबार ०८:१५:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सुडानमा सात दिन युद्धविराम गर्ने सहमति

Read Time : > 1 मिनेट
एजेन्सी, खार्तुम
२०८० बैशाख २१ बिहीबार ०८:१५:००

सुडानमा युद्धरत पक्ष बिहीबारदेखि लागू हुने गरी सातदिने युद्धविराम गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् ।

दक्षिण सुडानको विदेश मन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (एसएएफ) प्रमुखले मे ४ देखि सात दिनका लागि युद्धविराम गर्न सहमति जनाएका हुन् । दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमत भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसनिम्ति वार्ता अपरिहार्य भएको बताए । उनले दुवै पक्षलाई वार्ताको मिति प्रस्ताव गर्न आग्रह गर्नुका साथै दुवै समूहलाई मान्य हुने वार्तास्थल निर्धारण गरिने जानकारी दिए । शीघ्र वार्ताका निम्ति प्रतिनिधिको नाम पठाउन पनि उनले आग्रह गरेका छन् । 

व्यापार र विकासका लागि आठ अफ्रिकी देशको अन्तरसरकारी मञ्च (आइजिएडी)का प्रमुखसमेत रहेका दक्षिण सुडानका राष्ट्रपतिलाई युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याउन तथा युद्धविराम गराउन सम्बद्ध पक्षसँग वार्ता गर्न आइजिएडीले अधिकार प्रत्यायोजन गरेको थियो । भीषण युद्धका कारण राजधानी खार्तुमलगायत सुडानको अवस्था भयावह बनेपछि आइजिएडीले युद्धविरामको पहल गरेको हो ।

अप्रिल १५ मा सुरु भएको लडाइँमा ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । खार्तुम र ब्लुनाइल राज्य, उत्तरी कोर्डोफान, साथै पश्चिमी क्षेत्र डार्फरमा भएको लडाइँका कारण करिब ७५ हजार विस्थापित भएको राष्ट्रसंघले जनाएको छ । लडाइँले विदेशी र अन्तर्राष्ट्रिय कर्मचारीहरूको ठूलो संख्या पलायन हुन थालेको छ । ५० लाख मानिसको बसोवास रहेको खार्तुम सहर अराजकता र दण्डहीनताले ग्रस्त छ । खार्तुमका अधिकांश मानिस खाना, पानी र बिजुलीको अभावमा आफ्नो घरभित्र बस्न बाध्य छन् ।

दसौँ हजार मानिस सुडानभित्र विस्थापित भएका छन् भने कोहीले युद्धबाट भाग्न छिमेकी चाड, इजिप्ट, दक्षिण सुडान र इथियोपियाको कठिन यात्रा तय गरेका छन् ।