
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबारदेखि सुरु भएको दोस्रो लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लब रेलिगेसन क्षेत्रमा रहेको नेपाल पुलिससँग २–१ ले स्तब्ध भएको छ । लिगको १४औँ चरणमा पुलिसलाई जित दिलाउन विदेशी खेलाडीले गोल गरेका थिए । घानाका मोसेज र लेबनानका अहमद हिजाजीले जावलाखेलको पोस्टमा समान एक गोल गरेका हुन् ।
जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । जितपछि विभागीय टोली पुलिसले तत्काललाई रेलिगेसन क्षेत्र छोडेको छ । १५अंक जोडेको पुलिस १०औँ स्थानमा उक्लिएको छ । लगातार तेस्रो जित निकालेपछि चालू लिगमा पुलिसले पहिलोपटक रेलिगेसन क्षेत्रभन्दा माथि उक्लेको हो । यद्यपि, पुछारका सात टोलीबीच तीन अंकको मात्र दूरी छ । पुलिससँग स्तब्ध जावलाखेलले समान खेलमा २४ अंक जोडेको छ । जावलाखेलको शीर्ष स्थान कायम छ ।
हिजाजीले गरे दुई खेलमा तीन गोल
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पुलिस र जावलाखेलले समान एक गोल गरे । ३५औँ मिनेटमा मोसेजको पुलिसलाई अग्रता दिलाए । रक्षक अजित भण्डारीले मिलाएको फ्रिकिकमा मोसेजले हेड गोल गरेका हुन् ।
८८औँ मिनेटमा हिजाजीले २–० को अग्रता दिलाए । भारतीय मिडफिल्डर मोहम्मद आसिकले मिलाएको बललाई हिजाजीले उत्कृष्ट फिनिसिङ गरे । पछिल्लो डेब्यु खेलमा खुमलटारविरुद्ध ३–१ को जितमा हिजाजीले दुई गोल गरेका थिए । पुलिसले ८९औँ मिनेटमा एक गोल बेहोर्यो । जावलाखेलका विपिनले गोल गरेका थिए । इन्जुरी समयको ६ मिनेटमा जावलाखेलले बराबरी गर्ने प्रयास गरे पनि सफल भएन ।
थ्री स्टार र खुमलटारले अंक बाँडे
लिगअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा ललितपुरका दुई क्लब थ्री स्टार र खुमलटार युथले २–२ गोलको बराबरी खेल्दै एक अंक बटुलेका छन् । च्यासल मैदानमा बराबरीपछि थ्री स्टारले शीर्ष स्थानमा उक्लने सुनौलो अवसर गुमायो । थ्री स्टार १४ खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलमा १४ अंक जोडेको खुमलटार तालिकाको पुछारमा छ । थ्री स्टारका लागि लाकेन लिम्बू र आदित्य शाक्यले समान एक गोल गरे । खुमलटारका विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफन विनोङले पनि समान एक गोल गरेका थिए ।
खेलको चौथो मिनेटमा लाकेनले थ्री स्टारलाई अग्रता दिलाए । उनले आदित्य शाक्यको पासमा हेड गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी समयमा मेसुकेले फ्रिकिकमार्फत गोल गर्दै खुमलटारलाई १–१ को अवस्थामा ल्याए । ५१औँ मिनेटमा स्टेफनले गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए । उनलाई मेसुकेले बल उपलब्ध गराएका थिए । ६८औँ मिनेटमा आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।