१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:२१:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

यस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२१:oo

२१ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट मान्यताप्राप्त राष्ट्रहरू सम्मलित एसिया कप प्रतियोगितामा स्थान सुरक्षित गरेको छ । आउने सेप्टेम्बरमा पाकिस्तानमा एसिया कप हुँदै छ । सो प्रतियोगितामा नेपालले आयोजक पाकिस्तान र भारतसँग खेल्नेछ । छिमेकी राष्ट्र भारत र पाकिस्तान विश्व क्रिकेटकै शक्तिशाली राष्ट्र हुन् । एकदिवसीय र टी–२० क्रिकेटकै पूर्वविश्व च्याम्पियनसमेत रहेका यी दुवै राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्न नेपाली खेलाडी लालायित छन् । 

खेलाडी मात्र नभएर प्रमुख प्रशिक्षक मोन्टी देसाईसमेत एसिया कपलाई लिएर उत्साहित छन् । ‘एसिया कपको समूह ‘ए’मा भारत, नेपाल र पाकिस्तान प्रतिस्पर्धा गर्ने कुरा नयाँ सुनिन्छ, यसका लागि खेलाडीसँगै म आफू पनि उत्साहित छु्,’ युएईलाई एसिसी प्रिमियर कपको फाइनलमा सात विकेटले हराएपछि प्रशिक्षक देसाईले आफ्नो अनुभव साटेका छन्, ‘एसिया कपको स्थान पक्का गर्न नेपाली खेलाडीले निकै मिहिनेत गरेका थिए ।’ 

सन् २००१ मा एसिया कपमा नेपाल छनोट भएको थियो । तर, भारत र पाकिस्तानबीचको कारगिल युद्धले प्रतियोगिता नै भएन । नेपालले एसिया कपमा स्थान पक्का गर्न दुई दशक समय लगायो । यसबीचमा नेपाली क्रिकेटमा धेरै परिवर्तन भए । उतारचढावबीच अगाडि बढेको नेपालको क्रिकेटले पछिल्लो साढे तीन महिनाभित्र एकनासको प्रदर्शन गरेको छ । आइसिसी विश्वकप लिग–२ देखिको सानदार प्रदर्शनलाई खेलाडीहरूले प्रिमियर कपमा समेत दोहो¥याएका छन् । च्याम्पियन शैलीमा नेपाली टोली अपराजित रही विजेता बन्यो । 

एसिसी प्रिमियर कपको विजेता बन्न नेपालले मलेसिया, कतार, ओमान र कुवेतलाई सेमिफाइनलअघि परास्त गरेको थियो । नेपालको ऐतिहासिक सफलतामा सबै नायक रहे । प्रशिक्षक मोन्टी देसाईले विपक्षीको रणनीति र त्रिवि मैदानको पिचअनुसार खेलाडीलाई फरक–फरक जिम्मेवारी दिए ।

लगभग दुई सातासम्म चलेको प्रिमियर कपको विजेता बन्न नेपालले मलेसिया, कतार, ओमान र कुवेतलाई सेमिफाइनलअघि परास्त गरेको थियो । नेपालको ऐतिहासिक सफलतामा सबै नायक रहे । प्रशिक्षक देसाईले विपक्षीको रणनीति र त्रिवि मैदानको पिचअनुसार खेलाडीलाई फरक–फरक जिम्मेवारी दिए । विभिन्न स्थानमा भूमिका पाएका खेलाडीले कसैलाई निराश बनाएनन् । खेलाडीहरूले ब्याटिङ, बलिङ र फिल्डिङमा अद्भूत प्रदर्शन गरे । नेपाललाई च्याम्पियन बनाएका सबै खेलाडी नायक नै हुन् । यद्यपि, तथ्यांकका आधारमा खेलाडीहरूको प्रदर्शन यस्तो छ :

 रोहितकुमार पौडेल
खेल : ५ इनिङ्स : ५ 
रन : १८७ अर्धशतक : १

युवा कप्तान रोहित आवश्यकताअनुसार ब्याटिङ गर्न खप्पिस छन् । प्राविधिक रूपमा टोलीकै असाध्यै राम्रा ब्याट्सम्यान रोहितले फाइनलबाहेक अन्य खेलमा नेपालको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा उनले दुई अर्धशतकीय इनिङ्स खेल्दै एक सय ८७ रन बनाए ।

प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीमा उनी नवौँ स्थानमा छन् । समूह ‘ए’को अन्तिम खेलमा नेपाल कमजोर अवस्थामा रहँदा रोहितले नै ब्याटिङ उकासेका थिए । यद्यपि, आइसिसीको मान्यता नपाएको प्रतिस्पर्धामा रोहितले ९४ रनको उत्कृष्ट इनिङ्स खेल्न सफल भए । रोहितले प्रतियोगितामा दुई सय १७ बल सामना गर्दा १६ चौका र तीन छक्का प्रहार गरे । कप्तानीमा उनको रणनीति सफल हुँदा नेपालले २१ वर्षपछि एसिसी एसिया कपमा स्थान सुरक्षित गरेको हो । रोहित नेपालका लागि सर्वाधिक एकदिवसीय खेल्ने खेलाडीमा पर्छन् । 

 सन्दीप लामिछाने
खेल : ५  इनिङ्स ४ 
विकेट : १३  िओभर : ३७.१ मेडन : ६

एसिसी प्रिमियर लिगमा सन्दीप ब्याटिङ र बलिङमा चम्के । बलिङमा उनी सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा रहे । सन्दीपले पाँच खेलमा १३ विकेट लिए । नेपालका प्रमुख बलर सन्दीपको एक ब्याटिङ इनिङ्सको खुबै चर्चा भयो । समूह ‘ए’को अन्तिम खेलमा नेपालले कतारसँग प्रतिस्पर्धा गरेको थियो । यस खेलमा नेपाल इनिङ्सको एक समय नाजुक अवस्थामा थियो ।

सन्दीपले पुछारमा ब्याटिङ गरी महत्वपूर्ण ४२ रन बटुले । ब्याटिङमा मात्र सानदार प्रदर्शन नभएर उनले बलिङमा समेत आफ्नो जादु छरे । उनले केवल १४ रन खर्चेर पाँच विकेट लिँदा कतारले सहज लक्ष्यसमेत पछ्याउन सकेन । सन्दीपले प्रतियोगितामा पाँचमध्ये तीन खेलमा ब्याटिङ गरी ५५ रन बटुल्दा आठ चौका प्रहार गरे । उनले मलेसिया र ओमानसँगको खेलमा समान तीन विकेट लिए । युएईसँगको फाइनलमा उनले ३४ रन खर्चेर दुई विकेट हात पारे । 

 कुशल मल्ल
खेल : ५ इनिङ्स : ४ 
रन : २३८   शतक : १ अर्धशतक : २

एसिसी प्रिमियर कपमा अलराउन्ड प्रदर्शन गर्ने खेलाडीमा कुशल पनि पर्छन् । मध्यक्रमका बायाँहाते ब्याट्सम्यान कुशल आवश्यकताअनुसार आफूलाई प्रस्तुत गर्छन् । फिल्डिङमा समेत प्रभावशाली प्रदर्शन गर्न सक्ने खुबी भएका कुशलले प्रतियोगितामा चार खेल खेले । नेपाली खेलाडीमध्ये सर्वाधिक रन बटुल्ने उनी नै हुन् । उनले चार इनिङ्समा दुई सय ३८ रन बनाए ।

समूह चरणमा ओमानसँगको प्रतिस्पर्धामा कुशलले नेपालका लागि कम बलमा शतक खेल्ने कीर्तिमान बनाएका थिए । उनले समग्रमा ६४ बलमा नौ चौका र १० छक्का प्रहार गरी एक सय ८ रनको योगदान दिए । समग्रमा प्रतियोगितामा सर्वाधिक व्यक्तिगत रन बटुल्ने पंक्तिमा उनी चौथो स्थानमा छन् । २२ एकदिवसीय खेलमा कुशलले चार अर्धशतक बनाउँदै चार सय ८८ रन बनाएका छन् । सन् २०२० मा कुशलले अमेरिकाविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । बलिङको क्रममा उनले ५० ओभरको खेलमा १८ विकेट लिएका छन् । 

 भीम सार्की
खेल : ५ इनिङ्स : ५ 
रन : १४७  अर्धशतक : १

प्रशिक्षक मोन्टी देसाईले भीमलाई खेलको परिस्थितिअनुसार ब्याटिङ अर्डर दिने गरेका छन् । विशेषतः भीमको ब्याटिङ शैली आक्रामक हो । अझ पछिल्लो समय भीम नेपाली टोलीमा ‘पिन्च हिटर’का रूपमा स्थापित हुन कोसिस गरिरहेका छन् । प्रतियोगितामा उनले पाँच खेल खेल्दा एक सय ४७ रन बनाए । यसक्रममा उनले एक अर्धशतक खेले । युएईसँगको फाइनलमा उनले गुल्सन झालाई गतिलो साथ दिए । नेपालले उपाधि उचाल्दा भीमले महत्वपूर्ण ३६ रनको योगदान दिए । गत वर्ष पपुवा न्युगिनीविरुद्ध डेब्यु गरेका भीमले ११ एकदिवसीय खेलमा तीन सय ३० रन बनाएका छन् । यसक्रममा उनले दुई अर्धशतक खेलेका छन् । 

 करण केसी
खेल : ३ इनिङ्स : ३
विकेट : १० मेडन : २

नेपालको फास्ट बलर करणले प्रिमियर कपमा केवल तीन खेलमा मात्र मौका पाए । उनले प्राप्त मौकामा टोलीलाई निराश बनाएनन् । प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीमा उनी छैटौँ स्थानमा छन् । ओमान, कुवेत र युएईविरुद्ध प्रतिस्पर्धा गर्दा करण विकेटविहीन भएनन् । वर्षाका कारण कुवेतसँगको खेल ‘नो रिजल्ट’ हुँदा करणले पाँच विकेट लिएका थिए । यसक्रममा उनले १० रन मात्र खर्चेका थिए । फाइनलमा उनले २६ रन खर्चेर दुई विकेट हात पारे । ओमानसँगको समूह चरणको खेलमा उनले २९ रन जोड्नुका साथै तीन विकेट लिएका थिए । 

 सोमपाल कामी
खेल : ५  इनिङ्स : ५ 
ओभर : ३३  विकेट ८  मेडन : २

पछिल्लो एक दशकमा सोमपाल नेपालका ओपनर बलरका रूपमा परिचित छन् । अझ त्रिवि मैदानमा उनको बलिङमा फरकपन आउँछ । प्रतियोगितामा सोमपालले ३३ ओभर बलिङ गर्दै आठ विकेट लिए । पाँचै इनिङ बलिङ गरेका सोमपालले एक सय ४८ रन खर्चे । सोमपालले पाँचै खेलमा विकेट लिँदा विपक्षी टोलीको ओपनिङ कमजोर बनेको थियो । उनले मलेसियाविरुद्ध ४० रन खर्चेर तीन विकेट लिए । बलिङमा मात्र नभएर ब्याटिङमा पनि उनको कौशल देखियो । ओमानजस्तो एकदिवसीय राष्ट्रविरुद्ध ६३ रनको महत्वपूर्ण इनिङ खेलेका सोमपालले कतारसँगको खेलमा तीन विकेट लिए । 

 गुल्सन झा
खेल : ३ इनिङ्स : २ 
रन : ७४  अर्धशतक : १

पछिल्लो समयमा प्रशिक्षक देसाईले विश्वास गरेका खेलाडीमध्ये गुल्सन हुन् । प्रतियोगितामा ब्याटिङमा खासै अवसर नपाएका गुल्सनकै प्रदर्शनमा नेपालले फाइनल खेल जित्यो । २१ रनमा तीन विकेट गुमाएको नेपाल दबाबमा आइसकेको थियो । माथिल्लो अर्डरमा ब्याटिङ अवसर पाएका गुल्सनले युएईका बलरविरुद्ध आक्रामक रूपमा ब्याटिङ गरे ।

इनिङ्सको कुनै पनि समयमा उनी दबाबमा देखिएनन् । अर्कोतिर, नेपाली ब्याट्सम्यान रन बनाउन संघर्ष गरिरहँदा गुलसनले आरामका साथ स्ट्रोक खेलिरहे । नेपालको जितमा महत्वपूर्ण ६७ रनको योगदान गरेका गुल्सनले फाइनलमा एक विकेट पनि लिए । उनले मलेसियाविरुद्ध ३३ रन खर्चेर एक विकेट लिए । युएईविरुद्धको उपाधि भिडन्तमा उनको प्रदर्शन धेरैले सम्झनेछन् ।

 ललित राजवंशी
खेल : ५ इनिङ्स : ५ 
विकेट : ९ मेडन : ३

उपाधि दाबेदार युएईले नेपालविरुद्ध फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा थियो । तर, युएईले नेपालका एक बलरसामु घुँडा टेक्यो । स्पिनर ललितले निर्णायक खेलमा आफूलाई अन्य बलरभन्दा अब्बल देखाए । युएईका प्रमुख चार ब्याट्सम्यानलाई पेभेलियन फर्काउन ललितले केवल १४ रन मात्र दिए ।

प्रतियोगितामा पाँच खेल खेलेका ललित कुवेतसँगको खेलमा विकेटविहीन भएका थिए । यसबाहेकका खेलमा उनले विकेट लिए । ओमानसँगको खेलमा उनले एक विकेट हात पारे । कतार र मलेसियाविरुद्धको प्रतिस्पर्धामा समान दुई विकेट लिए ।  

 

 

ad
ad