
प्रहरीले विभिन्न समयमा पक्राउ गरी जनकपुर भन्सार कार्यालयलाई बुझाएका चोरी–पैठारीमा संलग्न रहेका सवारीसाधन नष्ट हुन थालेका छन् । प्रहरीले पक्राउ गरी बुझाएका सात सय सवारीसाधन समयमा लिलामी नगर्दा घामपानीबाट खिया लागेर नष्ट हुन थालेका हुन् ।
यस्ता सवारीसाधनमा मोटरसाइकल ६ सय ८०, तीनपांग्रे टेम्पु आठ र पिकअप भ्यान १२ वटा गरी सात सय सवारीसाधन रहेका छन् । करोडौँ मूल्य पर्ने सवारीसाधान भन्सारपरिसरमा लापरबाही हिसाबले राखिएकाले नष्ट हुन थालेका छन् । खुला अकाशमुनि राखिएका ती सवारीसाधनका केही महत्वपूर्ण पार्टहरू भन्सार कर्मचारी र त्यहाँ रहेका सशस्त्र प्रहरीकै संलग्नतामा चोरीसमेत हुने गरेको छ । त्यहाँ राखिएका प्रायः सबै सवारीसाधनलाई नियालेर हेर्दा ती सवारीसाधनबाट कुनै न कुनै पार्ट चोरी भएको देखिन्छ ।
जनकपुरका कतिपय मोटरसाइकल रिपेयरिङवालाले भन्सार कार्यालयमा लिलामीका लागि थन्क्याएर राखिएका मोटरसाइकलबाट समान ल्याएर बेच्ने गरेका छन् । मोटरसाइकल मर्मत गर्ने एक मेकानिकले भने, ‘भन्सार कार्यालयमा राखिएका मोटरसाइकलदेखि अन्य सवारीसाधन कामलायक छैनन्, यहाँ रहेका अधिकांश मोटरसाइकलका महत्वपूर्ण सामान पहिला नै बिक्री भइसकेका छन् ।’
०७६ पुस महिनामा लिलाम भएयता हालसम्म कुनै प्रकारका सवारीसाधन लिलाम हुन नसकेको भन्दै भन्सार प्रमुख केशवराज ओलीले लिलामी प्रक्रिया झन्झटिलो भए पनि निकट भविष्यमै ती सवारीसाधन लिलाम गर्न सूचना निकालिने बताए । लिलामी गर्नलाई केन्द्रीय कार्यालयमा परिपत्र गरिसकेको उनको भनाइ छ ।