१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश सभा सदस्य ‘पिके’ नै सडकमा पलेँटी कसेर बसेपछि...

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:१३:oo

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने सबैभन्दा छोटो दूरीको सडकमार्ग हो।

मध्यपहाडी लोकमार्गको महुरेबाट छुट्टिने उक्त सडकखण्डको महुरे–राजापानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको जिम्मा भारत कन्स्ट्रक्सन–सिद्धिशाहीले लिएको थियो। तर, उक्त सडकखण्ड कालोपत्र नगरी निर्माणस्थलमा प्रयोग गरिएका उपकरणसहित गत माघ ४ गते ठेकेदार नै फरार भएका छन्। 

कालोपत्र गर्न आवश्यक पर्ने निर्माण सामग्रीसमेत अलपत्र छाडेर ठेकेदार फरार भएपछि आइतबार प्रदेश सभा सदस्य पाँचकर्ण राई ‘पिके’को नेतृत्वमा उक्त सडक डेढ घन्टा चक्काजाम गरियो। 

खोटाङ क्षेत्र नं. १ (१)बाट निर्वाचित प्रदेश सभा सदस्य पिके, दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, वडा नं. १४ बुइपाका वडाध्यक्ष दिनेशकुमार राई, हलेसी तुवाचुङ नगरपालिका– ११ राजापानीका वडाध्यक्ष अनिश कार्कीलगायत अन्य नेता तथा कार्यकर्ता सडकमा पलेँटी कसेर बसेपछि दुई दर्जनभन्दा बढी यात्रुवाहक सवारीसाधन बीचसडकमै रोकिएका थिए। 

बिहान ६ बजेदेखि साढे सात बजेसम्म आयोजना गरिएको चक्काजामका क्रममा ठेकेदारविरुद्ध चर्का नाराबाजीसमेत भएको थियो। ‘अलपत्र सडक तत्काल निर्माण गर’ लेखिएको ब्यानरसहित चक्काजाममा उत्रिएका प्रदेश सभा सदस्य पिकेसहित स्थानीय नेता तथा कार्यकर्ताले (सरकार, ठेकेदारहरूलाई तत्काल कारबाही गर, बेपत्ता ठेकेदारलाई खोजी गर, अति भो ! हामीले धुलो–हिलो कहिलेसम्म खाने ?, असार आउन लाग्यो ! असारे बजेट मुर्दावाद !)जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मध्यपहाडी लोकमार्ग र सगरमाथा राष्ट्रिय राजमार्गको संगमस्थल महुरेस्थित बीचसडकमै पलेँटी कसेर बसेका थिए।  

प्रदेश सभा सदस्य पिकेको नेतृत्वमा राष्ट्रिय राजमार्ग चक्काजाम गरिएपछि प्रहरीले अवरोध गर्ने प्रयास गरेकाे थियाे । चच्काजाम हटाउन जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्की नेतृत्वको टोली महुरेगढी पुगे पनि रमिते बनेर फर्किएकाे थियाे। 

प्रहरीले कालोपत्रको काम अलपत्र पारेर फरार भएका ठेकेदारलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गराउन दबाबस्वरूप डेढ घन्टा सडक चच्काजाम गरिएको प्रदेश सभा सदस्य पिकेले बताए।

‘राज्यको सम्पत्ति दोहन गर्ने ठेकेदारलाई सिडियोले पक्राउ गरेर ल्याउनुपर्छ। जनताले तिरेको कर खाएर बसेका प्रहरी प्रशासन र नेताको संरक्षणमा ठेकेदारहरूले काम नगरेको हाम्रो ठम्याइ छ,’ उनले भने, ‘चक्काजाम गर्नु हाम्रो रहर होइन, बाध्यता हो। जनताको माग हो। सिद्धिशाहीका ठेकेदार दीपेन्द्र शाही र मैनाचुलीका ठेकेदार मदन अधिकारीलाई तत्काल पक्राउ गरी अड्डासार गर्दै ल्याएर कानुनी कारबाही गरियोस् । आगामी दिनमा फेरि यसरी आन्दोलन गर्न बाध्य नबनाइयोस्। यदि, हप्ता दिनभित्र कारबाही नभएको खण्डमा थप आन्दोलन चर्काउनेछौँ।’ 

महुरे–राजापानी सडक कालोपत्रको जिम्मा लिने सिद्धिशाही निर्माण कम्पनीका अध्यक्ष एवं सञ्चालक दीपेन्द्र शाही नेपाली कांग्रेस डोल्पाका सभापति एवं गत २०७९ मंसिर ४ गते भएको प्रदेश सभा सदस्यको निर्वाचनमा डोल्पाका उपविजेता उम्मेदवार हुन् । यस्तै, राजापानी–फोक्सिङटार सडकखण्ड कालोपत्रको जिम्मा लिने मैनाचुली निर्माण कम्पनीका अध्यक्ष एवं सञ्चालक मदन अधिकारी झापा जिल्लाका नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट निर्माण व्यवसायी हुन्। 

सिद्धिशाहीले चार वर्षभित्र कालोपत्र सम्पन्न गर्ने गरी २०७३ असार ३० गते सडक विभागसँग सम्झौता गरेको थियो । रु. ४१ करोड ५० लाख बजेटमा सम्झौता गरेको महुरे–राजापानी सडक ०७७ असार २९ गते कालोपत्र सक्नुपर्ने सम्झौता भए पनि अझै सकिएको छैन। 

यस्तै, मैनाचुलीले पनि चार वर्षभित्र नै कालोपत्र गर्ने गरी  ०७३ साउन ११ गते सम्झौता गरेको थियो। रु. ५५ करोड ८७ लाखमा सम्झौता गरेको राजापानी–फोक्सिङटार सडक ०७७ साउन १० गतेभित्र कालोपत्रको सम्पूर्ण काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गर्नुपर्ने थियो। 

दिक्तेल–गाईघाट सडकखण्डको गाईघाटबाट महुरेसम्म एक सय एक किलोमिटर लामो सडकखण्ड कालोपत्रको काम रु. दुई अर्ब ६८ करोडको लगानीमा सम्पन्न हुने जनाइएको छ। 

हलेसी तुवाचुङ नगरपालिका ११ र राजापानीस्थित सिम्पानीभञ्ज्याङदेखि फोक्सिङटारसम्मको सडकखण्ड (२७ किलोमिटर) कालोपत्रको काम देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले जिम्मा लिए पनि सम्झौताअनुसार कामको प्रगति भएको छैन।

कच्ची सडक निर्माण गरेर सञ्चालनमा आएको २३ वर्षपछि कालोपत्रको काम थालिएको महुरे–फोक्सिङटार सडक अहिले हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुँदा पटकपटक अवरुद्ध हुँदै आएको छ। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ मा शिलान्यास गरेको दिक्तेल–गाईघाट सडक तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो तथा प्रमुख मार्ग हो। 
 

ad
ad