
जापानको स्वास्थ्य मन्त्रालयले प्रारम्भिक चरणको गर्भपतन गर्न प्रयोग हुने औषधिलाई स्वीकृति दिएको छ । यो अनुमतिसँगै जापानमा पहिलोपटक गर्भपतनको चक्की उपलब्ध हुने भएको छ । जापानमा २२ हप्तासम्म गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । तर, अहिलेसम्म यसको लागि शल्यक्रिया एक मात्र विकल्प थियो ।
यसका लागि सामान्यतया पति वा पत्नी वा सम्बन्धित केटीसाथीको सहमति आवश्यक पर्छ । मन्त्रालयले स्वास्थ्य अधिकारीलाई एक सूचना जारी गर्दै बेलायती औषधि कम्पनी ‘लाइन फार्मा’ले बनाएको औषधिलाई स्वीकृति दिएको जनाएको छ ।
औषधि निर्माताले आफ्नो उत्पादन, मिफेप्रिस्टोन र मिसोप्रोस्टोलको दुई चरणको उपचार, डिसेम्बरमा जापानमा स्वीकृतिका लागि पेस गरेको थियो । सन् १९८८ मा पहिलोपटक गर्भपतनको चक्कीलाई स्वीकृति दिएको फ्रान्स र सन् २००० देखि उपलब्ध हुँदै आएको अमेरिकालगायत थुप्रै देशमा पनि यस्तै औषधि उपलब्ध छ ।
मन्त्रालयको प्यानलको अनुमोदनपछि नौ हप्तासम्मको गर्भ फाल्नका लागि यो चक्की लिन स्वीकृति गरिएको थियो । हजारौँ सार्वजनिक राय प्रस्तुत भएपछि यसलाई एक महिनाका लागि स्थगित गरिएको थियो । राष्ट्रिय प्रसारक एनएचकेका अनुसार गर्भपतनको चक्की र चिकित्सकीय परामर्शको कुल लागत करिब एक लाख येन (७०० अमेरिकी डलर) हुनेछ । गर्भपतनलाई सार्वजनिक स्वास्थ्य बिमाले समेटेको छैन ।