
१० वैशाखमा उपनिर्वाचन भएका तीनवटै क्षेत्रको परिणाम सार्वजनिक भएको छ । मंगलबार तनहुँ १ र चितवन २ को परिणाम सार्वजनिक भएको थियो भने बुधबार बारा २ को नतिजा आएको हो ।
बारा २ मा पाँचदलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुसवाहलाई पाँच हजार ८१ मतान्तरले हराउँदै आफ्नो संसद् यात्रा सुनिश्चित गरेका हुन् । यादवले २८ हजार चार सय १५ मत ल्याएर विजयी हुँदा कुसवाहले २३ हजार तीन सय ३४ मत ल्याए ।
त्यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६, रास्वपाका रमेश खरेलले दुई हजार आठ सय २९ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत ल्याए ।
त्यस्तै, चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने भारी मतान्तरले निर्वाचित भएका छन् । लामिछानेले ४२ हजार नौ सय ६२ मतान्तरसहित कांग्रेसका प्रतिस्पर्धी उम्मेदवार जितनारायण श्रेष्ठलाई हराएका हुन् ।
तनहुँ १ मा रास्वपाका डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । वाग्ले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार सात सय ९६ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।