१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार १८:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सर्लाहीको हरिवनमा प्रदेशस्तरीय डेरी तथा कृषि सामग्री प्रदर्शनी सुरु

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:४२:oo

व्यावसायिक डेरी तथा कृषि उत्पादनलाई प्रोेत्साहन गर्ने उद्देश्यसहित सर्लाहीको हरिवनमा डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ।

मंगलबारबाट हरिवन नगरपालिका– ११ स्थित सुर्ती विकास मैदानमा ‘कृषि यान्त्रीकरणको वृद्धि, दुग्धजन्य एवं कृषि उत्पादनमा नवीनतम् प्रविधि’ भन्ने मूल नाराका साथ प्रदर्शनी सुरु भएको हो। नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेस प्रदेशको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले उद्घाटन गरे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री कुशवाहाले किसानको जीवनस्तर उकास्न प्रदेश सरकारले यो वर्षदेखि विभिन्न योजना ल्याएको बताए। उनले आठवटै जिल्लाका एक हजार २७० वटा वडामा जैविक मलको साना उद्योग स्थापना, पालिकास्तरमा बजार व्यवस्थापन, ३२ स्थानमा शीतभण्डार निर्माण, एक लाख किसानलाई गाईभैँसीमा अनुदानलगायतका कार्यक्रम ल्याउन लागेको जानकारी दिए।

मधेस प्रदेशमा उत्पादन भएका कृषिउपज काठमाडौं, पोखरा, वीरगन्ज, विराटनगरलगायत ठूला सहरमा बिक्रीको प्रबन्ध मिलाउन आफूले पहल गरिरहेको उनको दाबी थियो। कृषि उत्पादनको भण्डार रहेको मधेस प्रदेशमा मलको सधैँ अभाव रहँदा किसानलाई खेती लगाउनै समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै संघीय सरकारसँग प्रदेशका लागि मलको कोटा बढाइदिन पहल गरिरहेको उनको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश सभाका सदस्य जवाहरलाल कुशवाहाले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउन्जेल देश समृद्ध बन्न नसक्ने बताए। कृषिजन्य र पशुजन्य उत्पादन घट्दै जानु चिन्ताको विषय भएको भन्दै उनले किसानलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे। हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले कृषि अनुदान किसानको पक्षमा हुनुपर्नेमा जोड दिए।

प्रदर्शनीमा कृषि तथा दुधजन्य विभिन्न उत्पादन र अन्य वस्तुको स्टलसमेत राखिएको छ। प्रदर्शनीमा किसानसँगै कृषि तथा पशुजन्य उत्पादन र औजारका उत्पादकलाई निःशुल्क स्टल राख्ने व्यवस्था मिलाइएको आयोजक हरिवन नगरपालिकाले जनाएको छ। प्रदर्शनीमा कृषि तथा डेरीजन्य उत्पादनका विज्ञबाट किसानलाई निःशुल्क परामर्शको व्यवस्थासमेत मिलाइएको छ। प्रदर्शनी बिहिबारसम्म सञ्चालन हुनेछ।

ad
ad