१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० बैशाख ८ शुक्रबार ०७:५६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गण्डकीका मुख्यमन्त्रीले विश्वासको मतका लागि पत्राचार गरे

Read Time : < 1 मिनेट
२०८० बैशाख ८ शुक्रबार ०७:५६:००

अल्पमतको सरकार चलाइरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि कार्यसूचीमा राख्न प्रदेश सभा सचिवालयलाई आग्रह गरेका छन् । 

तत्कालीन सत्ता सहयात्री माओवादी सरकारबाट बाहिरिनुका साथै १० चैतमा समर्थन फिर्ता लिएपछि एमाले नेतासमेत रहेका अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । उनी २५ पुसमा मुख्यमन्त्री बनेका थिए । प्रदेश सभाको बैठक ९ वैशाखको दिउँसो ३ बजे तय भएको छ ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मतको कार्यसूचीमा राखिदिन प्रदेश सभा सचिवालयलाई पत्राचार गरेको उनका प्रेस संयोजक सुशन घिमिरेले जानकारी दिए । अधिकारीले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई कार्यसूचीमा राख्न आग्रह गरेसँगै कांग्रेस र माओवादीलाई मत दिन आग्रह गर्दै पत्राचार गरेका छन् । 

यद्यपि, मुख्यमन्त्री प्रदेश सभाको सामना गर्ने कि राजीनामा दिने भन्नेमा पार्टी अध्यक्ष केपी ओलीसँग परामर्शमा छन् । अध्यक्ष ओलीले यसबारे केही निर्णय नदिएका कारण के गर्ने भन्ने निर्णय नभएको घिमिरेले जानकारी दिए । पार्टी अध्यक्षले एक–दुई दिन कुर्न भनेकाले मुख्यमन्त्री त्यसको पर्खाइमा रहेकाले पार्टी अध्यक्ष ओलीबाट जे गर्ने भन्ने कुरा आउँछ मुख्यमन्त्रीले सोहीअनुसार प्रस्तुत हुने भनाइ घिमिरेको छ ।

केही दिनअघि पार्टी संसदीय दलको बैठक बसेर कसरी जाने भन्नेमा सल्लाह भएकोमा अधिकांश प्रदेश सभा सदस्यले प्रदेश सभाको सामना गर्ने भन्ने सुझाव दिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णयमा पुगेको घिमिरेको भनाइ छ । 

दलको निर्णयअनुसार पत्राचार भए पनि पार्टी केन्द्रमा राय माग्दा निर्णय नआएकाले के गर्ने भन्नेमा अन्योल रहेको भनाइ उनको छ । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीका लागि ३१ सदस्यको समर्थन आवश्यक रहन्छ । सभामुखसहित आठ सदस्य रहेको माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अधिकारी अल्पमतमा परेका थिए ।