१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
दीपक भट्ट रामेछाप
२०८० बैशाख ७ बिहीबार १५:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मृतकको नाममा भत्ता बाँड्दै दोरम्बा शैलुङ गाउँपालिका

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०८० बैशाख ७ बिहीबार १५:१८:००

दोरम्बा शैलुङ गाउँपालिकाले मृत्यु भइसकेका ज्येष्ठ नागरिकको नाममा समेत सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्दै आएको खुलासा भएको छ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षणको प्रतिवेदनले मृत्यु भइसकेकाको नाममा भत्ता वितरण गर्दै आएको तथ्य बाहिरिएको हो। दोरम्बा शैलुङ गाउँपालिकाले यसअघि सामाजिक सुरक्षा भत्ता लिँदै आएका व्यक्तिको मृत्यु हुनासाथ निजको नाम अभिलेखबाट हटाउनुपर्नेमा उक्त कार्य नगरी कानुनविपरीत नियमित भत्ता वितरण गर्दै आएको प्रतिवेदनमा उल्लेख छ।

उक्त विषयमा महालेखापरीक्षकको टोलीले गाउँपालिकाको ३ र ७ नम्बर वडाको मृत्युदर्ताको अभिलेख र वडा नम्बर २ को लगत कट्टाको अभिलेख परीक्षण गरेको थियो। परीक्षण गर्दा मृत्यु भइसकेका लाभग्राहीको नाममा मृत्युपछि पनि निजको परिवारका सदस्यले सामाजिक सुरक्षा भत्ता नियमित रूपमा बुझ्दै आएको भेटिएको थियो।

मृत्यु भएकाहरूको नाममा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले तत्काल उक्त रकम सम्बन्धित पक्षसँग असुलउपर गरी संघीय सञ्चित कोषमा दाखिला गर्न निर्देशन दिएको छ। 

यता गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत उज्ज्वल पाठकले भने वडासचिव नयाँ भएकाले सामाजिक सुरक्षा भत्ता वितरणमा त्रुटि भएको बताए।