
अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्वको स्थिति चिन्ताजनक रहेको बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२औँ वार्षिक साधारणसभामा बोल्दै उनले राजस्वमा सरकारको लक्ष्य पूरा हुने अवस्था नरहेको बताए ।
उनले राजस्व संकलन चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा २८ प्रतिशतले कम भएको उल्लेख गरे । ‘राजस्वको स्थिति नकारात्मक छ । चाहेजस्तो उठेको छैन । लक्ष्यभन्दा कम छ । भन्सारमा गत वर्षभन्दा २८ प्रतिशतले कम भएको छ । आन्तरिक करमा पनि समस्या देखिएको छ । राजस्वको स्थिति चिन्ताजनक छ,’ उनले भने ।
अर्थमन्त्री महतले अर्थतन्त्रमा समस्या देखिए पनि महत्वपूर्ण आर्थिक सूचकांकहरू सकारात्मक रहेकाले निराश हुनुपर्ने अवस्था भने नरहेको बताए । उद्योग व्यवसायमा लगानीको वातावरण बन्न नसक्नु चिन्ताको विषय भएको भन्दै लगानीमैत्री वातावरण बनाउन सरकारले पहल गर्ने उनले आश्वासन दिएका छन् ।