Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
कृष्ण रिजाल नयाँ पत्रिका
नवीन अर्याल नयाँ पत्रिका
२०७९ चैत २६ आइतबार १०:०४:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

निजी क्षेत्रका एजेन्डा कार्यान्वयन गर्न सशक्त भूमिका खेल्नेछु : अञ्जन श्रेष्ठ

Read Time : > 4 मिनेट
कृष्ण रिजाल, नयाँ पत्रिका
नवीन अर्याल, नयाँ पत्रिका
२०७९ चैत २६ आइतबार १०:०४:००

महासंघको चुनाव आउन अब केही दिन मात्र बाँकी छ । चुनावको तयारी कस्तो भइरहेको छ ? 
चुनावमा सक्रिय भएर लागेको चार महिना भयो । जिल्ला–नगरदेखि वस्तुगत, एसोसिएट र द्धिराष्ट्रिय संघका साथीहरूसँग भेटिरहेको छु । म ५३–५४ जिल्ला आफैँ पुगेँ । तर, सबै जिल्लामा पुग्न सम्भव भएन । तर, शतप्रतिशत जिल्ला–नगर उवासंघका अध्यक्षहरूलाई भेटिसकेको छु । गत हप्तादेखि केन्द्रमा बसेर चुनावी अभियानमा छु । 

जिल्लाबाट अध्यक्षहरू आउने क्रम जारी छ । उहाँहरूलाई भेट्ने, आफ्ना कुरा राख्ने र मतदानका लागि आग्रह गरिरहेको छु । मैले वस्तुगत उपाध्यक्षका रूपमा आफ्नो कुशल भूमिका निर्वाह गरिसकेको छु । मेरो कार्यक्षमता, कार्यशैली र कार्यदक्षता देखेपछि सबैले अगाडि बढ्न प्रेरणा दिइरहनुभएको छ । मेरो व्यावसायिक र महासंघमा हासिल गरेको अनुभव बोकेर हिम्मतका साथ अगाडि बढिरहेको छु । 

यसअघि दुईवटा प्यानलबीच प्रतिस्पर्धा हुने गथ्र्यो, तर यसपटक त्रिपक्षीय भिडन्त हुने देखियो नि ? 
महासंघको गरिमा र महिमा बढेछ, त्यसैले नेतृत्वमा पुग्न चाहने आकांक्षी पनि बढे भन्दा उपयुक्त होला । महासंघमा आकर्षण बढेको भन्नुपर्छ ।

तर, यहाँ त उम्मेदवार पुर्‍याउनै पनि सकस देखियो नि ?
चुनावी मैदानमा उत्रिने निर्णय गरेपछि आफैँ टिम बनाउने हो । मेरो आफ्नो कम्प्लिट टिम बनाएको छु । एसोसिएट उपाध्यक्षमा संयुक्त उम्मेदवार हुनुहुन्छ । अरू उम्मेदवारले कसरी टिम बनाइरहनुभएको छ, त्यो मेरो चासोको विषय भएन । सुरुमा त वरिष्ठ उपाध्यक्षमै चारजना भिड्ने कुरो थियो । तर, एकजना वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट बाहिर निस्कनुभयो । र, तीन प्यानल बनेको छ । अझै समय बाँकी छ । मतदानको दिनसम्म केही परिवर्तन पनि हुन सक्छ । 

वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सर्वसम्मत नेतृत्व चयनका लागि पहल सुरु गर्नुभएको छ । नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना कति छ ? 
वरिष्ठ उपाध्यक्षले तीनैजनालाई राखेर कुरा गर्नुभएको हो । उहाँले केही प्रस्ताव पनि राख्नुभएको थियो । महासंघको विधान संशोधन गरेर तीनवर्षे कार्यकाल घटाएर सबैलाई समेट्न सकिने कुरा राख्नुभएको छ । यसले संस्थाको गरिमा बढ्ने उहाँको भनाइ थियो ।

अर्थतन्त्रमा संकट आइरहेका वेला सबै उद्योगी व्यवसायी मिलेर अगाडि बढ्दा राम्रो हुने कुरा उहाँले राख्नुभयो । अझै समय छ । तपाईंहरू छलफल गर्नुस्, आफ्नो टिममा कुरा राख्नुस् र सहमति गर्नुस् भन्नुभएको छ । हामी छलफलमै छौँ । सबै सहमतिमा आए सर्वसम्मत नेतृत्व चयन हुन पनि सक्छ । 

चुनाव प्रचारका क्रममा आजसम्मको दौडधुप कस्तो रह्यो ? नतिजा कस्तो आउने अनुमान गर्नुभएको छ ?
चुनाव एउटा सम्भावनाको खेल पनि हो र अंकगणितीय पनि । देशभर चुनावी अभियानमा दौडिएँ । वस्तुगत र एसोसिएट सदस्यसँग पनि भेट गरिरहेकै छु । देशभरका मतदाताबाट समर्थन जुटेको देख्छु । अंकगणितीय रूपमा पनि बलियो छौँ ।

तरलता अभाव, चर्को ब्याजदर, मागमा गिरावटलगायत कारणले मन्दी छाउँदा उद्योगी व्यवसायी सडकमै उत्रिएका छन् । यस्तो वेलामा महासंघमा नयाँ नेतृत्व चयन हुँदै छ । तपाईंसँग व्यवसायीले कस्तो अपेक्षा गरेका छन् ? 
मन्दीले देशभरका व्यवसायी पीडामा हुनुहुन्छ । तरलता अभाव र चर्को ब्याजदरको समस्या समाधान होस् भन्ने सबैको चाहना छ । अर्को, कर, नापतौल र मिसम्याचलगायत तत्कालै समाधान गर्नुपर्ने समस्या पनि छन् । समयानुसार ऐन, कानुन संशोधन गरी व्यावसायिक र लगानीको वातावरण बनाउनुपर्छ । 

हाम्रोमा अर्थतन्त्रै समस्या छ । अर्थतन्त्र खस्कँदो अवस्थामा छ । ८ प्रतिशत वृद्धिको लक्ष्य राखिएकोमा ४ प्रतिशतमा खुम्चिनुपरेको छ । अर्थशास्त्रीय हिसाबले हेर्दा वर्षमा २४ प्रतिशतले ऋण लगानी बढ्दा ८ प्रतिशत वृद्धि हुनुपर्ने हो । जनगणनाले सक्रिय जनसंख्या एक करोड १२ लाख रहेको देखाएको छ । त्यसमा २९ प्रतिशत जनसंख्या आर्थिक क्रियाकलापमा संलग्न छैनन् । त्यो भनेको अर्थिक गतिविधि नै कम हुनु हो । तिनलाई आर्थिक गतिविधिमा संलग्न गराउनुपर्छ ।

हाम्रोमा युवाको जनसंख्या धेरै छ । त्यो जनसंख्या ०४० सालपछि युवाबाट बुढ्यौलीतर्फ लाग्छन् । अबको १७ वर्षसम्म त्यो युवाशक्ति अधिकतम परिचालन गरिनुपर्छ । अर्कोतिर, दैनिक २५ सय–तीन हजार युवा बिदेसिन थालेको सुनिन्छ । तिनलाई रोक्नुपर्छ । युवाको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने नीति लिनुपर्छ । उत्पादकत्व बढाउन पूर्वाधार पनि विकास गर्नुपर्छ । भारतमा ६० किमि प्रतिघन्टा लजिस्टिक स्पिड रहेछ, हाम्रो देशमा २३ किमि मात्र छ । हामीसँग युवा श्रमशक्ति धेरै छ, तर उपयोग गर्न सकेनौँ । हामीसँग युवा श्रमशक्ति धेरै छ, तर उपयोग गर्न सकेनौँ । 

तपाईंले अर्थतन्त्रको बहुआयामिक समस्याबारे बताउनुभयो । यो विषम परिस्थितिमा महासंघको नेतृत्वमा जाने लाइनमा हुनुहुन्छ । यो समस्याबाट पार पाउन महासंघको तर्फबाट के भूमिका खेल्न सक्नुहुन्छ ? 
मुख्य समस्या भनेको तरलता अभाव हो । तरलताको समस्या दशकदेखि तीन–तीन महिनामा दोहोरिरहेको छ । यसको दीर्घकालीन समाधान खोजिएको भए समस्या बल्झिरहने थिएन । तरलता संकट आउनुको अर्को कारण ‘वेल्थ क्रिएसन’ नै भएन । 

देशको अर्थिक नीतिमा रिफर्म हुन सकेन । कुनै पनि देशमा १०–१० वर्षमा रिफर्म हुनुपर्छ, तर हाम्रोमा ३० वर्षभन्दा बढी भइसक्यो । अहिलेसम्म थर्ड जनेरेसन रिफर्म भइसकेको हुनुपर्थ्यो । त्यसैले अर्थतन्त्रको आकार बढ्न सकेन । यहाँ धन सिर्जना गर्नुपर्थ्यो । 

अब पुँजी निर्माण गरी परिचालन गर्नुपर्छ । हामीलाई हाम्रो मात्र पुँजी पर्याप्त हुँदैन । मैले वैदेशिक लगानीको मात्र कुरा गरेको छैन । तत्कालै विदेशी लगानी आउँदैन । अब हेजिङको कुरो आउँछ । हाम्रो कन्ट्री रेटिङ गर्नुपर्छ । निजी क्षेत्रले पनि विदेशबाट ऋण ल्याउन सक्ने भरपर्दो र सुरक्षित माध्यम बनाइदिनुपर्छ । त्यो नगरी अर्थतन्त्रको साइज बढ्ने भएन । महासंघको तर्फबाट तरलता बढाउन, ब्याजदर घटाउन पहल हुनेछ । ब्याजदर नघटाई अहिलेको समस्या पनि सुल्झिँदैन । चर्को ब्याजदरले लागत पनि बढेको छ । तर, माग सुस्ताउँदा उत्पादन पनि घटेको अवस्था छ । व्यवसायीले अहिलेको अवस्थामा साँवा–ब्याज तिर्न सकिएन, पुनर्संरचना र पुनर्तालिकीकरण गरिदेऊ भनेका हुन् । बैंकको साँवा–ब्याज नै तिर्दिनँ भनेका छैनन् । 

महासंघको निर्वाचनमा ठूलो आर्थिक खेलोफड्को हुन्छ, मतदाता किन्नुपर्छ भन्छन्, खास कुरो के हो ? 
त्यस्तो आरोप हामी पनि सुन्छौँ । तर, मलाई त्यस्तो लाग्दैन । चुनावमा खर्च हुँदैहुँदैन भन्ने होइन । चुनाव प्रचार–प्रसार र व्यवस्थापनमा पनि खर्च भइहाल्छ । चिया नै खाँदा पनि खर्च हुन्छ । म आफैँ धेरैपटक चुनाव लडिसकेँ, तर मतदाता किनबेचबारे थाहा छैन । मतदाता किनबेच हुनुहुँदैन, त्यो विकृति हो । स्वच्छ रूपमा नेतृत्व चयन हुनुपर्छ ।

महासंघको राजनीतिमा जहिल्यै केन्द्रीय राजनीति हावी हुने गरेको आरोप लाग्छ । ठूला नेताहरू नै आफ्नो उम्मेदवार जिताउन दौडधुप गर्ने सुनिन्छ । तपाईंहरू आफैँ नै नेता भेट्दै हिँड्नुहुन्छ रे ? 
महासंघ विशुद्ध व्यवसायीको संस्था हो । देशभरका व्यवसायीको हकहितका लागि लबिङ गर्ने संस्था हो । सरकारको सल्लाहकार पनि हो, विपक्षी पनि । त्यसैले महासंघमा पदाधिकारी हुन कुनै पनि दलको सदस्य हुन पाइँदैन । हामीले राजनीतिक दलसँग भेटघाट गर्ने निजी क्षेत्रको हकहित र लगानीको वातावरण बनाउनका लागि लबिङ गर्न हो । त्यसक्रममा विभिन्न दलका नेतासँग भेटघाट हुन्छ । त्यही सम्पर्कलाई गलत परिभाषा गरे मात्र हो, नत्र चुनाव जिताइदिनुपर्‍यो भनेर नेता खोज्दै हिँडिएको छैन । 

महासंघको नेतृत्वले शासक तथा प्रशासकसँग सँगसँगै बसेर काम गर्नुपर्छ । सरकारले पनि निजी क्षेत्रको भूमिका खोज्छ । हामीले पनि देशको समृद्धिका लागि सरकार–निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्नु स्वाभाविक हो । नेताले पनि चुनाव जित्न शुभेच्छा दिनु स्वाभाविक हो । यसलाई अन्यथा परिभाषित गर्नुभएन । राजनीतिक अस्थिरताका कारण व्यावसायिक एजेन्डा ओझेलमा परेका छन् । मैले निजी क्षेत्रका एजेन्डा कार्यान्वयनका लागि सशक्त भूमिका खेल्नेछु ।

अन्त्यमा, आफ्ना भोटरलाई के भन्न चाहनुहुन्छ ? 
सशक्त टिम बनाएर अगाडि बढेका छौँ । हाम्रो नारा नै ‘जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र’ भन्ने छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका धेरै छ । ८० प्रतिशत अर्थतन्त्रमा योगदान, ८६ प्रतिशत रोजगारीमा योगदान छ । त्यो भूमिका खेल्ने निजी क्षेत्र जीवन्त हुनुपर्छ । देश र समाजप्रति निजी क्षेत्र जिम्मेवार र उत्तरदायी हुनुपर्छ । जिम्मेवार र उत्तरदायी निजी क्षेत्रले मात्र अर्थतन्त्रलाई पुनरुत्थान गर्न सक्छ । त्यसैले जिम्मेवार रूपमा प्रस्तुत हुन्छौँ र अरूलाई पनि जिम्मेवार बनाउँछौँ । 
हामीसँग केही गरौँ भन्ने ऊर्जा र हुटहुटी भएका जोसिला युवाको टिम छ । व्यावसायिक वातावरण, लगानी सुरक्षा, समग्रमा सामाजिक आर्थिक विकासमा काम गर्ने भन्ने प्रतिबद्धता हो । विश्वास गर्नुहोस्, यहाँहरूको भरोसालाई टुट्न दिनेछैनौँ ।