१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २६ आइतबार
  • Friday, 09 May, 2025
कृष्ण रिजाल नयाँ पत्रिका
नवीन अर्याल नयाँ पत्रिका
२o७९ चैत २६ आइतबार o९:२५:oo
Read Time : > 4 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पदको दुरुपयोग गर्नेछैन, सबै उद्यमीको हितमा काम गर्छु  : उमेशलाल श्रेष्ठ

Read Time : > 4 मिनेट
कृष्ण रिजाल, नयाँ पत्रिका
नवीन अर्याल, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७९ चैत २६ आइतबार o९:२५:oo

अन्तर्वार्ता

चुनावको तयारी कस्तो भइरहेको छ ? 
हुन त मैले नेपाल दर्शन धेरै अघि गरिसकेको थिएँ, नेपालका धेरै जिल्ला गएको थिएँ । तर, यो चुनावमा वास्तविक रूपमा नेपाल देख्न र हेर्न पाएँ । देशदौडाहा सकियो । अहिले यहाँ (काठमाडौंमै) बसेर साथीभाइहरूलाई फोन गर्ने, आफ्ना कुरा राख्ने काम गरिरहेको छु । 

चुनावी प्रचार प्रसारका लागि देशभर पुगेँ भन्नुभयो । जिल्ला भ्रमणका क्रममा तपाईंले उद्यम व्यवसायको अवस्था/समस्या कस्तो पाउनुभयो ? 
अहिले मन्दीको समय हो । समस्या त पहिला नै बुझेको थिएँ । जिल्ला घुम्दा साना, मझौला तथा ठूला सबैको समस्या नजिकैबाट सुन्ने र बुझ्ने मौका पाएँ । अझ १०–१५ लाख रुपैयाँ ऋण लिएर व्यवसाय गर्नेहरू झन् समस्यामा रहेको देखेँ । जिल्ला पुग्दा उहाँहरूको रोदन देखेँ, महसुस गरेँ । 

जिल्लाका साथीभाइहरूसँग छलफल गरेपछि मैले के बुझेँ भने अहिले बैंकिङ प्रणालीमा होइन कि बैंकको नियमन गर्ने राष्ट्र बैंकमा खराबी छ । राष्ट्र बैंकले बैंकहरूलाई बिगारिरहेको छ । बैंकले नाफा कमाउनुपर्छ, यसमा हाम्रो विरोध छैन, त्यहाँ जनताको पैसा पनि छ, त्यो सुरक्षित हुनुपर्छ । तर, ब्याजदर, स्प्रेड र प्रिमियम दरलाई कम गरे हुँदैन ? समस्यामा परेका उद्यमीलाई झन् बढी ब्याजदर र प्रिमियम थुपारिएको छ, यो जायज होइन । राष्ट्र बैंकले जानाजान यस्तो अवस्था सिर्जना गरिरहेको छ । 

यसअघि दुईवटा प्यानलबीच प्रतिस्पर्धा हुने गर्थ्यो, तर यसपटक त्रिपक्षीय भिडन्त हुने देखियो  नि ?
यसमा तीनवटा पक्ष छ । पहिलो काम गर्ने हुटहुटी हुन सक्छ, दोस्रो महत्वाकांक्षा र तेस्रोचाहिँ आफ्नो स्वार्थपूर्तिका लागि पनि हुन सक्छ । नेपालमा क्रोनी क्यापिटलिज्म छायो । महासंघको ओहोदामै बसेर लाइसेन्स दिने/लिने र दुरुपयोग गर्ने प्रवृत्ति बढ्न थाल्यो । कतिपयमा महासंघको पदमा बसेर यस्तै फाइदा उठाउन सकिन्छ भनेर आतुरता बढेको हुन सक्छ । कतिपयलाई नेता तथा मन्त्रीलाई भेट्न पनि पद चाहिएको हुन सक्छ । 

अर्को एउटा कुरा, मान्छेको इच्छा महत्वाकांक्षा पनि हो । उद्यमी व्यवसायीका लागि केही गरौँ भन्ने इच्छा पनि हुन सक्छ । मेरो पनि इच्छा महत्वाकांक्षा हुन सक्छ । मैले साँच्चै नै मध्यम तथा तल्ला तहका उद्यमी व्यवसायीहरूलाई सहयोग गर्छु भन्ने इच्छा राखेको हुँ । म पदको दुरुपयोग गर्दिनँ, सदुपयोग गरेर देशका मध्यम तहका उद्यमी व्यवसायीलाई सहयोग गर्ने मनसाय मेरो छ । 

महासंघप्रतिको आकर्षण बढेर उम्मेदवार बढेको पनि होला नि ? 
तीनजना वरिष्ठ उपाध्यक्ष उठेका कारण महासंघमा आकर्षण देखियो भन्न सकिएला । तर, तीन प्यानलका जिल्ला–नगरका सदस्य उम्मेदवार ५४ जना हुनुपर्नेमा २४ जना मात्रै छन् । एसोसिएटमा पनि त्यही हालत छ । वस्तुगतमा पनि ४२ जना हुनुपर्नेमा २८ जना मात्रै छन् । यो विरोधाभास रहेको छ । पदाधिकारीमा पनि एउटा 
साझा हुनुभयो । 

वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सर्वसम्मत नेतृत्व चयनका लागि पहल सुरु गर्नुभएको छ । नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना कति छ ? 
चुनाव भनेको सम्भावनाकै खेल पनि हो । सम्भावना जीवित नै छ । उहाँ (वर्तमान वरिष्ठ उपाध्यक्ष)को सद्भावपूर्ण कामले केही फल ल्याउन पनि सक्ला । सातै प्रदेशमा चाहिँ निर्विरोध निर्वाचन गर्न हामी सफल भयौँ । तर, केन्द्रमा हामीचाहिँ निर्विरोध गर्न असफल भयौँ, हामीमा कमजोरी देखियो । यद्यपि, निर्वाचन हुनुलाई आश्चर्य मान्नुभएन । चुनाव हुनु राम्रै हो, तर सौहाद्र्र प्रतिस्पर्धाचाहिँ हुनुपर्छ । 

मैले सर्वसम्मतिको प्रयास गरेकै हो । मैले मिहिनेत गरेर दिनेशजीलाई छोड्न लगाएँ । उहाँ र मबीच यसपटक कसको सम्भावना बढी छ भन्ने विषयमा छलफल हुँदा उहाँले मेरो सम्भावना बढी देख्नुभयो र छाडिदिनुभयो । अरूसँग पनि कुरा गरेँ । उहाँहरू तयार हुनुभएन । 

चुनाव प्रचारका क्रममा आजसम्मको दौडधुप कस्तो रह्यो ? नतिजा कस्तो आउने अनुमान गर्नुभएको छ ?
म यसकारण चुनाव जित्छु कि जिल्लाका साथीहरूले यसपालि मलाई रोज्नुहुनेछ । जिल्लाका साथीहरू ठूला व्यापारीबाट आजित भइसके । फोन नउठाउने, आउँदा पनि भेट नहुने, कुरा राख्न नपाउनेलगायत समस्या उहाँहरूले भोग्नुपर्‍यो । 

मेरो स्पष्टता, मैले उपाध्यक्ष हुँदै गर्दा गरेका काम, निडरपनाका कारण पनि जिल्लाका साथीहरूले मेरो विकल्प सोच्नुभएको छैन । वस्तुगतमा पनि मेरो अधिकतम बहुमत आउँछ । एसोसिएटमा पनि मेरो औसत राम्रो छ । 

निर्वाचन दोस्रो चरणमा पुग्ला ?
भोटर्सको आजसम्मको मुड हेर्दा र मैले सोचेजस्तो भोट पाएँ भने दोस्रो चरणमा नपुग्ला । सहमति भएर म एक्लो उम्मेदवार पनि हुन सकुँला । तर, दोस्रो चरणमा नपुग्ला भन्न सकिँदैन । दोस्रो चरणमा मसँग जो प्रतिस्पर्धा गर्न आए पनि कुनै साह्रोगाह्रो हुनेछैन । 

महासंघको निर्वाचनमा ठूलो आर्थिक खेलोफड्को हुन्छ, मतदाता किन्नुपर्छ भन्छन्, खास कुरो के हो ? 
अब पनि महासंघको रूप यही रह्यो भने मजस्ता मध्यमस्तरका उद्यमीले महासंघमा वरिष्ठ उपाध्यक्ष हुन्छु भनेर नसोचे हुन्छ । किनभने, मध्यम तथा सानालाई नेतृत्व गर्न दिइँदैन, आउनै दिदैनन् । 

कतिपयले जिल्ला–नगरमा विकृति छ भनेर हल्ला गर्छन् । वास्तवमा विकृति एसोसिएटमा छ । कम्पनी दर्ता गराउने, बन्डलका बन्डल भोट यताउता गर्नेलगायत काम एसोसिएटमै हुन्छ । 

तरलता अभाव, चर्को ब्याजदर, मागमा गिरावटलगायत कारणले मन्दी छाउँदा उद्योगी व्यवसायी सडकमै उत्रिएका छन् । यस्तो वेलामा महासंघमा नयाँ नेतृत्व चयन हुँदै छ । अर्थतन्त्रमा देखिएको वर्तमान संकट समाधानमा तपाईंका योजना के छन् ?
अर्थतन्त्रमा देखिएका संकट समाधानका लागि मसँग तत्कालीन, मध्यमकालीन र दीर्घकालीन गरी तीन उपाय छन्, भिजन छन् । सुरुमा तत्कालै सरकार, निजी क्षेत्र र राष्ट्र बैंक बसेर एकल अंकको ब्याजदर कायम गराउने हो । बैंकलाई समेत असर नपर्ने गरी, बैंकको नाफामा ठूलो प्रभाव नहुने गरी ब्याजदर र प्रिमियम घटाउने उपाय खोजिनेछ ।  

सरकारले आन्तरिक ऋण उठाइरहेको छ । यसले गर्दा बजारमा तरलतामा झन् चाप बढेको छ । कर्जाको प्रवाह बढाउन अधिकतम प्रयास गर्नेछु । त्यस्तै, नीति नियमलाई समयानुकूल परिवर्तन गराउन तत्कालै पहल गर्नेछु ।  उद्योग व्यवसायमैत्री नीति र कानुन बनाउनुपर्छ । मध्यमकालमा म औद्योगीकरण तथा उद्योग प्रवद्र्धनमा योगदान मिल्ने गरी काम गर्नेछु । उद्योगले पुँजी निर्माण गर्छ, रोजगारी सिर्जना गराउँछ र दीर्घकालसम्म कर तिरिरहन्छ । त्यसैले भन्सारमा आधारित करलाई उद्योगमा आधारित बनाउन पहल गर्नेछु । कच्चा पदार्थमा भन्सार लगाउन नपाइने व्यवस्थाका लागि पहल गर्नेछु । करको दर हैन, दायरा बढाउन पहल गर्नेछु । 

त्यस्तै, कृषि क्षेत्र सुधार तथा उत्पादन वृद्धिमा समेत पहल गर्नेछु । कृषिको सुधार ३ महिनादेखि ६ महिनामा देखिन्छ । देशमा ९० प्रतिशत जमिन कृषियोग्य छ । तर, कामदार र सिँचाइको अभावमा धेरै बाँझो छ । बाँझो जमिन उपयोग हुने गरी कृषि कर्जाको सदुपयोग गरिनुपर्छ, यसका लागि पहल गर्नेछु । कृषिमा उत्पादनमा आधारित अनुदान दिनुपर्छ । सिँचाइ बढाउने तथा समयमै मल पाउने व्यवस्थाका लागि प्रयास गर्नेछु । मलको आयातका लागि निजी क्षेत्रलाई खुला गरिनुपर्छ । निजी क्षेत्रले मल ल्याउन पाए कहिल्यै अभाव हुँदैन । अहिले हामीले वार्षिक अर्बौंको काठ आयात गरिरहेका छौँ । त्यसलाई रोक्न नेपालकै वन वैज्ञानिक हिसाबले सदुपयोग गरिनुपर्छ । नेपालमा वनले ओगेटेको क्षेत्र ४२–४३ प्रतिशत पुगिसकेको छ । रूख सबै काटौँ भनेको होइन, तर २ हजार हेक्टर रूख काटौँ र त्योभन्दा बढी रोपौँ न । 

ठूला चार–पाँच राजनीतिक दलहरूसँग बसेर आर्थिक खाका कोर्नेछौँ । अर्थतन्त्र विकासमा राजनीतिक प्रतिबद्धता खोज्ने हो । 

महासंघको राजनीतिमा जहिल्यै राजनीति हावी हुने गरेको आरोप लाग्छ । ठूला नेताहरू नै आफ्नो उम्मेदवार जिताउन दौडधुप गर्ने सुनिन्छ । तपाईंहरू आफैँ नै नेता भेट्दै हिँड्नुहुन्छ रे ? 
महासंघमा नेपालका कुनै पनि राजनीतिक दलहरूका आधिकारिक उम्मेदवार छन् भन्ने मलाई लाग्दैन । व्यक्तिगत चिनजानका आधारमा कसैले कसैलाई सद्भाव राख्नु, आग्रह गर्नु कुनै अनौठो कुरा होइन । मलाई पनि कांग्रेसकै साथीहरूले पनि उमेश राम्रो हो, नेतृत्वमा पुग्नुपर्छ भन्छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूले पनि भनेका छन्, एमालेका साथीले पनि भनेका छन् । सदाशयता सबैको छ, त्यो अनौठो होइन । हाम्रो भोटको आधार भनेको राजनीतिक आस्था होइन । मचाहिँ कुनै पनि वादमा विश्वास गर्दिनँ । तर, पुँजीवादमा चाहिँ विश्वास गर्छु । खुला बजारमा विश्वास गर्छु । नेताजीहरू अझै पनि राजनीतिक कुरा गर्नुहुन्छ । 

हामी नेता भेट्न जाने होइन । जान्छौँ, म अस्वीकार गर्दिनँ । किनभने, हामीले उहाँहरूलाई म निजी क्षेत्रको नेतृत्वमा आउँदै छु भनेर सूचित पनि त गर्नुपर्छ नि । भोट मागिदिन आग्रह गर्दै चाहिँ जाने होइन । म निजी क्षेत्रको प्रतिनिधित्व गरेर आउँदै छु, आएपछि सँगै मिलेर देश बनाउनुपर्छ भनेर भेट्न जाने हो नि । 

अन्त्यमा, आफ्ना भोटरलाई के भन्न चाहनुहुन्छ ? 
मेरा मित्रहरूलाई के भन्छु भने तपाईंले यो उमेशलाल श्रेष्ठलाई जिताउनुभयो भने निराशाका दिनहरूलाई पछाडि छोड्नुहुनेछ, उज्ज्वल भविष्य हुनेछ । आँखा देख्ने, कान सुन्ने र मुखबाट राम्रो शब्द बोल्ने मान्छे पाउनुहुनेछ । समस्या जहिले पनि सुन्ने र समाधान गर्न सधैँ प्रयास गर्नेलाई नेतृत्वमा पाउनुहुनेछ । एकपटक मध्यमस्तरको उद्यमीलाई सहयोग गर्नुहोस् भन्न पनि चाहन्छु ।