
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको बताएका छन्। प्रेस युनियन सुर्खेतले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस उपसभापतिसमेत रहेका उनले मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको बताएका हुन्।
‘मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘यो सरकारले त्यसबाट मुक्ति दिलाउन आवश्यक नीति, कार्यक्रम र बजेट ल्याएर कार्यान्वयन गर्नेछ।’ ठूलो परिवर्तनबाट देशमा शान्ति र संविधान बनेकाले स्थिरता र देशको रक्षाका लागि बनेको गठबन्धन नभत्किने उपप्रधानमन्त्री खड्काको दाबी छ। देश र जननताको रक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याए।
राष्ट्रियताका रक्षाका लागि चुच्चे नक्सा सार्वभौम सम्पन्न सदनले पारित गरेको उपप्रधानमन्त्री खड्काले बताए। भारतसँगको सीमा विवादबारे उनले भने, ‘त्यसलाई अन्य ढंगबाट समाधान गर्ने बाटोतिर अघि बढ्यौँ भने हामी अप्ठेरोमा पर्ने बाटोमा जान्छौँ। यो उत्तेजनामा, आवेगमा समाधान गर्ने विषय होइन। यो धैर्यवान् भएर, इतिहासको पाठ सिक्दै, विश्वासको वातावरण बनाएर यस्ता समस्याको समाधान गर्नुपर्छ। यो रक्षा मन्त्रालयले गर्ने कुरा मात्रै होइन। नेपालको भूभागको रक्षा गर्ने कुरामा नेपाली सेना प्रतिबद्ध छ।’
कर्णाली प्रदेश सरकार केन्द्रकै गठबन्धनअनुसार बनाइने बताउँदै उनले चाँडै सरकारका बारेमा आवश्यक निर्णय हुने बताए। अब कर्णालीले विकासका लागि केन्द्रबाट पर्याप्त बजेट पाउने उनको आश्वासन छ।