१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ७ सोमबार १२:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भरपर्दो उपचार सेवा पाएपछि चौतारा अस्पतालमा बढ्यो बिरामीको चाप

गत वर्ष ८० प्रतिशत बिरामी रिफर हुन्थे, अहिले २० प्रतिशतमात्र

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १२:५६:oo

सिन्धुपाल्चोकको सबैभन्दा ठूलो स्वास्थ्य संस्था चौतारा अस्पतालमा बिरामीको चाप बढेको छ । केही जटिल रोगबाहेक सबै स्वास्थ्य समस्याको निदान र भरपर्दो उपचार पाउने भएकाले बिरामीको चाप बढेको हो ।

वर्ष दिनयता गाउँगाउँबाट उपचार गर्न आउनेको संख्या बढेको चौतारा अस्पतालका सूचना अधिकारी चूडामणि पुरीले बताए । दैनिक औसत एक सय ५० बिरामीले यहाँबाट ओपिडी सेवा लिन्छन् । त्यसमध्ये २० प्रतिशतलाई रिफर गरिन्छ । सरकारले तोकेअनुसार यो अस्पताल १५ शय्याको हो । तर, बिरामीको चापले हाल ३८ शय्यामा सञ्चालनमा छ । इमर्जेन्सी बिरामी रिफर हुँदा एम्बुलेन्समा चिकित्सक पनि सँगै जान्छन् ।

मेडिकल सुपरिटेन्डेन्ट दशौं तहका डाक्डर त्रिभुवनचन्द्र झाले नेतृत्व सम्हालेपछि चौतारा अस्पताल फेरिएको हो । झा आएको एक वर्ष भयो । अस्पताललाई सरकारले दिने बजेट नियमितभन्दा बढी छैन । तर, उनको योजना र अस्पताल टिमको मिहिनेतले १५ बेडको सरकारीस्तरमा चौतारा अस्पताल देशकै पहिलो बनेको छ । सरकारी मूल्यांकनमा गत वर्ष ५० प्रतिशत ल्याएको यो अस्पतालले यस वर्ष ८९ प्रतिशत स्कोर हासिल गरेर देशकै पहिलो बनेको हो ।

डा. झाले अस्पताल सुधारका लागि नयाँ कार्यक्रम लागू गरेका छन् । जसमध्ये सबैभन्दा महत्वपूर्ण काम भनेको ‘मर्निङ कन्फेरेन्स’ हो । हरेक दिन बिहान अस्पतालका सबै कर्मचारीलाई भेला गरेर डा. झाले अघिल्लो दिनको समीक्षा र सो दिनमा गर्ने उपचार सेवा र कामबारे प्रशिक्षण दिन्छन् । राम्रो काम गर्नेलाई दैनिक पुरस्कार दिइन्छ ।

अस्पतालले चिकित्सकका लागि निर्देशिका र गाइडलाइन तयार पारेको छ । सोबारे साप्ताहिक रूपमा उनले ओरिन्टेसन गर्छन् । विभिन्न नियम र विनियम बनाएर लागू गरेका छन् । बिहान ९ बजेदेखि ५ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्ने नियम छ । इलेक्ट्रोनिक्स हेल्थ रेकर्डस् प्रणाली तयार पारेर सफ्टवेयरमार्फत स्वास्थ्य मन्त्रालयसँग सीधा सम्पर्क हुन्छ । प्रत्येक दिनको बिरामीकाे रेकर्ड सरकारको केन्द्रसम्म पुग्छ ।

‘दिनरात खटेर उपचार सेवा राम्रो बनाउन सफल भएका छौँ,’ अस्पताल प्रमुख डा. झाले भने, ‘तर, कोरोना महामारीपछि एक करोड २४ लाखमा ल्याएको दैनिक ७५ सिलिन्डर ग्यास उत्पादन हुने अक्सिजन प्लान्ट बुस्टरको अभावमा उसै थन्किएको छ ।’ सिलिन्डरमा ग्यास भर्न प्रयोग हुने बुस्टर खरिद गर्न न्यूनतम ४० लाख लाग्ने उनले बताए ।

बिरामीको उपचारका लागि अस्पतालमा सहज प्रणाली लागू गरिएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिका, अपांग–असहाय र जटिल रोगका बिरामीलाई छुट्टाछुट्टै स्थानमा सेवा दिने व्यवस्था मिलाइएको छ । विशेषज्ञ डाक्टरसहित १२ चिकित्सक कार्यरत रहेकाले बिरामीले सहजै उपचार सेवा पाउँछन् । अस्पतालमा इमर्जेन्सी ६, साधारण वार्ड १२, प्रसूति दुई, ज्येष्ठ नागरिक एक, पोषण पुनर्स्थापना ६, अप्रेसनपछि आराम  तीन र नवजात शिशु सघन उपचार कक्ष दुईवटा छन् । यसैगरी लैंगिक हिंसा तथा दुर्व्यवहारमा परेका पीडित बिरामीको उपचार गर्ने एकद्वार संकट व्यवस्थापन कक्ष सञ्चालन गरिएको छ ।

सरकारले उपलब्ध गराएको ९८ प्रकारका निःशुल्क औषधि कहिल्यै कमी हुन नदिने र एक हजारभन्दा बढी प्रकारका औषधि अस्पतालको फार्मेसीमा पाइने व्यवस्था मिलाइएको अस्पताल प्रशासनको भनाइ छ । रगतको आधारभूत परीक्षणको अतिरिक्त थाइराइड, हर्मोन, भिटामिन डी, भिटामिन १२ लगायतको पनि जाँच गरिन्छ ।

ad
ad