![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Prerak2024-05-20-06-08-42.jpeg)
स्कुल जान थालेको केही दिनपछि नै थोमस अल्बा एडिसनकी शिक्षिकाले एउटा कागज दिँदै उनलाई भनिन्– बाबु थोमस, यो कागज नहराईकन आमालाई दिनू र राम्ररी पढ्न भन्नु है । ‘हस् गुरुआमा’ भनेर उनले कागज खल्तीमा हाले । घर पुग्नासाथ आमालाई कागज दिए र पढ्न अनुरोध गरे ।
आमाले खुसी हुँदै कागज हातमा लिएर मनमनै पढिन् । पढ्दै जाँदा उनका आँखा रसाए । हत्तपत्त आँसु पुछेर खुसी हुँदै उनले छोराले समेत सुन्ने गरी पढिन्– तपाईंका छोरा थोमस अत्यन्तै प्रतिभाशाली छन् । उनी तेज बुद्धिका छन् । तर, हाम्रो स्कुल निकै सानो छ । हामीसँग थोमसलाई पढाउन सक्ने शिक्षक छैनन् । त्यसैले, कृपया भोलिदेखि उनलाई तपाईं आफैँ पढाउनुहोस् ।
त्यस दिनदेखि थोमसले स्कुल जानुपरेन । आमाले घरमै उनलाई पढाउन थालिन् । उनले आफू जीवित छउन्जेल छोरालाई पढाउन छाडिनन् । आमाको निधनको केही वर्षपछि थोमसले विभिन्न आविष्कार गरेर संसारलाई चकित पारे । उनी महान् वैज्ञानिकका रूपमा स्थापित हुँदै गए ।
महान् वैज्ञानिकका रूपमा ख्याति बढिरहेकै समयमा एक दिन एडिसनले घरका पुराना सामग्री छानबिन गर्ने क्रममा स्कुलबाट आएको त्यही पुरानो चिठी हात पारे । उनले त्यसलाई खोलेर हेरे । त्यसमा लेखिएको थियो– आदरणीय अभिभावकज्यू, तपाईंका छोरा थोमस अत्यन्त मन्दबुद्धिका छन् । उनी दिमागी रूपमा निकै कमजोर छन् । हामी उनलाई पढाउन सक्दैनौँ । त्यसैले उनलाई स्कुलबाट निकाल्दै छौँ । चिठी पढिसक्दा थोमसका आँखा भित्तामा टाँगिएको आमाको तस्बिरमा केन्द्रित थिए भने आँखाबाट आँसु बगिरहेको थियो ।