
सरकारका सय दिनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
प्रधानमन्त्रीज्यूका लागि त उपलब्धिपूर्ण नै पनि भयो होला । तर, देश र जनताका लागि भने यो अवधि अर्थहीन र निराशाजनक रह्यो । सरकारको ‘हनिमुन पिरियड’ गठबन्धन बनाउने र भत्काउने खेलमै बित्यो । सरकारले अझै पूर्णता पाउन सकेको छैन । यस्तो अवस्थामा यो सरकारको के मूल्यांकन गर्नु ?
सयमध्ये ७० दिन त तपाईंहरू पनि सरकारमै हुनुहुन्थ्यो, होइन र ?
पक्कै पनि हो । हामीसमेत सरकारमा हुँदाका सुरुवाती दिनमा सरकारले गति लिन खोजेको थियो । पुँजी बजारमा सकारात्मक प्रभाव परेको थियो । प्रदेशमा मन्त्रालयहरूको संख्या घटाइसकेपछि जनतामा यो सरकारले राजनीतिक स्थिरता दिन्छ र देश र जनताको पक्षमा काम पनि गर्छ भन्ने विश्वास बढेको थियो । तर, बिचमै गठबन्धन टुट्यो, हामी बाहिरियौँ र सुधारका काम अलपत्र परे ।
अहिलेको गठबन्धन सरकारबाट कति आशावादी हुन सकिएला ?
मैले चाहिँ यो सरकारबाट धेरै आशा गरेको छैन । प्रधानमन्त्रीज्यूले जति दलहरूको संख्या गठबन्धनमा जोडिरहनुभएको छ, त्यो संख्या नै उहाँका लागि सबैभन्दा ठुलो चुनौती हो । यो गठबन्धन जोगाउने र सरकार टिकाउने काममै उहाँको ८० प्रतिशतभन्दा बढी समय बित्नेछ । उहाँले देश र जनताका लागि काम गर्ने समय पनि पाउनुहुनेछैन र उहाँले रिस्क लिन पनि चाहनुहुनेछैन । जे त पर्ला, काम गरेर देखाउँछु भन्ने आँट प्रधानमन्त्रीज्यूमा भइदिएको भए आशा गर्न सकिँदो हो । तर, त्यो अवस्था देखिन्न ।