
अनलाइनमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १४ पुरुष र ९ महिला छन् ।
प्रहरीले उनीहरूलाई जनकपुरको पिडारीचोकस्थित बर्गरहाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो ।
उनीहरूले पिडारीचोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको काम गरिरहेको सूचना प्रहरीले पाएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले सोही सूचनाका आधारमा उनीहरू पक्राउ परेको जानकारी दिए ।
उनीहरूले विभिन्न एपमार्फत हनिट्र्यापजस्ता अवैध धन्धा गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी गौतमले बताए । प्रहरीले उनीहरूले सञ्चालन गरेको कारोबार स्थलबाट ३५ थान कम्प्युटर, २० भन्दा बढी एन्ड्रोएड मोबाइललगायतका विद्युतीय उपकरणसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले अवैध रूपमा विद्युतीय कारोबारमार्फत विभिन्न एप बनाएर नग्न तस्बिरहरू आदानप्रदान गरी ठगी गर्दै आइरहेका थिए । उनीहरूले विभिन्न एपमार्फत पुरुष तथा महिलालाई हनिट्र्यापजस्ता विभिन्न प्रलोभन दिएर नग्न तस्बिरहरू बनाई ब्ल्याकमेल गर्ने, ऋण लिन प्रोत्साहन गर्ने र हजारदेखि लाखौँ रुपैयाँसम्म असुल्ने गरेका थिए ।
काठमाडौंमा यस्ता गिरोह पक्राउ पर्न थालेपछि उनीहरूले विगत ३ महिनादेखि जनकपुरमा दिलाजी आइटी कम्पनी काठमाडौंको नाममा जनकपुरधाममा अवैध कारोबार गर्दै आएका थिए ।
जनकपुरमा उक्त कारोबारको मुख्य कारोबारी पर्साको पकहा मैनपुर–५ बस्ने सत्यानन्द राम र धनुषाको सबैला नगरपालिकाकी सञ्जु साह रहेको खुलेको छ । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।