१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख १७ सोमबार १३:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पुनर्वासका विपन्न महिला जीविकोपार्जनतर्फ उन्मुख

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:५o:oo

कञ्चनपुरको पुनर्वास भारतीय सीमावर्ती गाउँबस्तीसँगै जोडिएको नगरपालिका हो । यहाँका कुल ११ वडामध्ये अधिकांश वडा भारतसँग जोडिएका छन् । सीमाका हिसाबले तमाम समस्या भएको पुनर्वासका थुप्रै नागरिक विपन्नता, गरिबी र अभावमा छन् ।

भएको घरखेतसमेत दोदा नदीले कटान गरेपछि दैनिक गुजारा चलाउन भारत बस्दै आएका पुनर्वासका नागरिक कोरोना महामारीपछि थप संकटमा परे । तर, अहिले भने यहाँका विपन्न नागरिक विभिन्न आर्थिक क्रियाकलापमा जुटेका छन् । विशेष गरी यहाँका महिला जीविकोपार्जनका विभिन्न व्यवसायमा जुटेका छन् । कोही तरकारी खेतीमा जुटेका छन् भने कोही ठेला व्यवसाय गरिरहेका छन् । स्विट नेपालद्वारा पुनर्वासमा सञ्चालित ‘एकीकृत जीविकोपार्जनको पहलद्वारा कोभिड– १९ पुनर्प्राप्ति परियोजना’मार्फत विपन्न समुदाय विभिन्न व्यवसायमा जुटेका हुन् ।

पुनर्वास नगरपालिका– ७ (च) गाउँ सुकुमबासीबस्तीकी कमला चौधरी च्याउखेतीमा जुटेकी छिन् । उनले स्विट नेपालबाट तालिम र प्राविधिक सहयोग पाएपछि टनेलमा च्याउ खेती गरिरहेको बताइन् । ‘हामीले पहिलोपटक च्याउ खेती गरेका हौँ,’ उनले भनिन्, ‘राम्रो आम्दानी भयो, घर खर्च चलाउन सहज भएको छ ।’

सुकुमबासीबस्तीकै फूलमाया चौधरीले पनि एक टनेलमा च्याउ खेती गरेकी छिन् । उनले संस्थाबाट च्याउखेतीसम्बन्धी तालिम, बिउबिजन, ढुसी किरा नष्ट गर्ने औषधि पाएपछि च्याउखेती सुरु गरेको बताइन् । ‘थोरै लगानीमा धेरै आम्दानी गरियो, घर खर्च चलाउन सहज भयो,’ उनले भनिन् ।

वडा नम्बर ७ (च) कै सीता राना काउली खेतीमा व्यस्त छिन् । उनले व्यावसायिक रूपमा २ कट्ठामा काउलीखेती गरेकी छिन् । तर, काउलीको बजार भने नपाएको उनको दुःखेसो छ । पुनर्वास नगरपालिका– २ मोतीबस्ती अमरैयाकी अगारमती रानाले बेसार खेती गरेकी छिन् । यसअघि घरमा खाने प्रयोजनका लागि खेती गर्दै आएकी उनले अहिले व्यावसायिक रूपमा खेती गरेकी हुन् । बेसार पिस्न संस्थाले नै मेसिनसमेत दिएपछि उनले आफ्नै ५ कट्ठामा बेसार लगाएकी हुन्।

चुलाेचौकोमा सीमित अमरैयाकै विस्ना राना ठेला व्यवसायमा जुटेकी छिन् । उनले संस्थाबाट आवश्यक सहयोग पाएपछि ठेला व्यवसायमा जुटेको बताइन् । पुनर्वास तरकारी कृषक पाठशाला कार्यक्रमका अध्यक्ष टेकबहादुर दवाडीले कार्यक्रममार्फत १६ हप्ते तालिम पाएको बताए । ‘म यसअघि गैरसरकारी संस्थामा काम गर्दै आएको थिएँ । कोरोना महामारीले लकडाउन भएपछि घरमै बेरोजगार भएर बसेको थिएँ ।’

स्विट नेपालले युएनडिपी र पुनर्वास नगरपालिकाको सहयोगमा कोरोना प्रभावित समुदायका लागि जीविकोपार्जन कार्यक्रम सञ्चालन गरेको थियो । स्विट नेपाल एकीकृत जीविकोपार्जनको पहलद्वारा कोभिड १९ पुनर्प्राप्ति परियोजना कार्यक्रम व्यवस्थापक अमित सुनारले कोरोना महामारीबाट प्रभावित विपन्न समुदायको आर्थिक वृद्धि विकासका लागि विविध कार्यक्रम गरिएको बताए । उनका अनुसार विपन्न समुदायलाई विभिन्न सीपमूलक तालिम प्रदान, बिउबिजन, प्रविधि सहयोग गरिएपछि किसान व्यावसायिक खेतीतर्फ उन्मुख भएका हुन् ।

महिलाका लागि अदुवा, बेसार, च्याउखेती, बेमौसमी तरकारी खेती, पोलिहाउस निर्माण, उच्च प्रविधि जडान, कृषक पाठशाला, तरकारी खेती विस्तार, महिलाकै नेतृत्वमा तरकारी फलफूल पसल स्थापना, उन्नत जातको पशुपालन व्यवसाय विस्तार, सिँचाइ सहयोग, विदेशबाट फर्किएकाहरूलाई सीप र लघुउद्यम विस्तार गरिएको छ ।

पुनर्वास नगरपालिका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले नगरका २५ किसानलाई पुनर्वास तरकारी कृषक पाठशाला दिएपछि व्यावसायिक रूपमा तरकारी खेतीमा जुटेको बताए । स्विट नेपाल कञ्चनपुरका अध्यक्ष अमित तिरुवाले कोरोना महामारीपछि पुनर्प्राप्ति परियोजनामार्फत रोजगारी गुमाएका एवं विपन्न किसानको आर्थिक उन्नतिका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । अध्यक्ष तिरुवाले स्वदेशी वस्तु उत्पादन गरेर आर्थिक वृद्धि विकासका लागि प्राविधिक सहयोग गरिएपछि किसानलाई व्यावसायिक बनाइएको बताए ।

ad
ad