
नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा आयोजना हुने एसिसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालको तर्फबाट प्रारम्भिक टोली घोषणा गरेको छ।
एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।
सो प्रतियोगिता आगामी वैशाख ५ देखि १८ गतेसम्म सञ्चालन हुनेछ। छनोट हुने प्रारम्भिक नेपाली टोलीको सदस्यमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ललित राजवंशी, रोहित पौडेल र सन्दीप जोरा छन्।
त्यसैगरी सोमपाल कामी, किशोर महतो, कुशल मल्ल, श्याम ढकाल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुल्सन झा, सूर्य तामाङ, करण केसी र देव खनाल छन्। प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेमैदान र मूलपानीमा रहेको क्रिकेटमैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा विभिन्न १० राष्ट्रले सहभागिता जनाएकामा ती राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा आयोजक नेपालसहित साउदी अरेबिया, मलेसिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’मा कुवेत, बहराइन, सिंगापुर, हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन्।
उक्त प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ। त्यसैगरी शीर्ष तीनमा रहने टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछ। नेपालले आगामी वैशाख ५ गते मलेसियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ।