मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १४ मंगलबार ०६:४२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उपनिर्वाचनका लागि राप्रपाले तोक्यो तीन चुनावी कमान्डर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १४ मंगलबार ०६:४२:००

राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनका लागि चुनावी कमान्डर तोकेको छ । सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपनिर्वाचन हुन गइरहेको तीन क्षेत्रमा तीनजना कमान्डर तोकेको हो ।

तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको राप्रपाले बारा २ मा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन २ मा उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ १ मा कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले २९ र ३० वैशाखमा काठमाडौंमा केन्द्रीय कार्यसमिति बैठक बस्ने र वैशाखमा सातै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णयसमेत गरेको छ । भेलामा हालै सम्पन्न निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने श्रेष्ठले बताए । 

राप्रपाले ०८० भित्र पार्टीमा दुई लाख सक्रिय सदस्य बनाउने लक्ष्य निर्धारण गरेको छ । ‘सोहीअनुसार वैशाखदेखि नै सक्रिय सदस्यता वितरण अभियानलाई तीव्रता दिने निर्णय गरेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने । 

पदाधिकारी बैठकमा पार्टीको राजनीतिक लक्ष्य प्राप्ति र जनजीविकासँग सम्बन्धित विषयमा आन्दोलन केन्द्रित हुनुपर्ने छलफलसमेत चलेको थियो । छलफलपछि आन्दोलनका विषय र स्वरूप निर्धारण गर्न महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा महामन्त्री शरद पाठक र सहमहामन्त्री झनक प्याकुरेल रहेको समितिसमेत गठन गरेको छ ।

राप्रपाले सबै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आफ्नो जिल्लाबाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने निर्णय गरेको छ । यसरी जिल्लामा खटिने नेताहरूको कार्यक्षेत्र तोक्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले जिम्मेवारी दिएको प्रवक्ता श्रेष्ठले बताए ।