१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अनिल यादव काठमाडाैं
२०७९ चैत १४ मंगलबार ०७:०९:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रतिष्ठाको लडाइँमा यादव–राउत फेरि आमने–सामने

Read Time : > 5 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ चैत १४ मंगलबार ०७:०९:००

यादव र राउत संघ र प्रदेश सरकारको एउटै गठबन्धनमा छन्, तर यादवको संसद् प्रवेशमा दोस्रोपटक पनि बाधक बन्ने राउतको रणनीति छ भने ४ मंसिरको हारको बदला लिन यादव ठूला दलसँगको मोर्चाबन्दीमा छन्

४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा आपसमा भिडेका जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत राजनीतिक रूपमा पुनः आमने–सामने हु“दै छन् । ३ चैतको उपराष्ट्रपति निर्वाचनमा आ–आफ्ना उम्मेदवार उठाएका यी दुई नेता आसन्न उपनिर्वाचनमा फेरि टकरावमा उत्रँदै छन् । 

जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त बारा २ मा गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्ने र संसद् प्रवेश गर्ने जसपा अध्यक्ष यादवको तयारी छ । तर, ४ मंसिरको निर्वाचनमा यादवलाई हराएका राउत बारा २ मा पनि यादवका लागि बाधक बन्ने रणनीतिमा छन् । मधेसमा यादव–राउत भनौँ या जसपा–जनमत पार्टी, एक–अर्काको बलियो प्रतिस्पर्धी र विरोधीका रूपमा देखिएका छन् । राउतले बारा २ मा जनमतले उम्मेदवारी दिने घोषणा गरेर यादवसँग राजनीतिक टकराव लिने मनस्थिति तयार पारेका छन् ।

रामसहायप्रसाद गठबन्धनबाट उपराष्ट्रपतिका उम्मेदवार हुँदासमेत राउतले यादवसँगको टकरावका कारण जनमतबाट ममता झालाई मैदानमा उतारेका थिए । गठबन्धनको सहयोग रहेकाले रामसहायप्रसाद उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । अहिले यादव र राउत दुवै केन्द्रमा एउटै गठबन्धनमा छन् । मधेस प्रदेशमा यी दुई दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार अहिले जसपा नेतृत्वको सरकार छ । 

यादव र राउत संघ र प्रदेशमा एउटै समीकरणमा छन् । तर, यादवको संसद् प्रवेशमा दोस्रोपटक पनि बाधक बन्ने राउतको रणनीति छ भने ४ मंसिरको हारको बदला लिन यादवको मोर्चाबन्दी छ । लोसपाले पनि उम्मेदवारी दिने निर्णय गरेर यादवका लागि चिन्ता थपिदिएको छ । यसले बारा २ को उपनिर्वाचनलाई रोचक मात्रै होइन, पेचिलो पनि बनाउने देखिएको छ । सप्तरी २ मा आफैँले यादवलाई हराएका राउत बारा २ को उपनिर्वाचनमा स्थानीय उम्मेदवारमार्फत यादवविरुद्ध मैदानमा उत्रँदै छन् । ‘बारा जिल्लामा कोही नेता–कार्यकर्ता छैनन् र बाहिरबाट उम्मेदवार आएर यहाँ लड्नुपर्ने ?’ गत बुधबार बारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पुगेर राउतले यादवलाई चुनौती दिइसकेका छन् । राउतले यादव ‘फिरंगी’ उम्मेदवार हुने बताए । 

गठबन्धनका ठूला दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बारा २ मा यादवलाई गठबन्धनको उम्मेदवार बनाउन तयार छन् । अर्कोतिर जनमत भने यादवलाई रोक्न बाराको उपनिर्वाचनका लागि तयारीमा जुटिसकेको छ । जनमतसँगै लोसपा र नागरिक उन्मुक्ति पनि यादवविरोधी मोर्चामा छन् । 

राउतले यादव बारा २ मा गठबन्धनका साझा उम्मेदवार हुन नसक्ने बताए । ‘गठबन्धनभित्रका केही–केही दलले सहयोग गर्न सक्छन्,’ उनले भने, ‘हामीले आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेका छौँ । हामीलाई अरू दलले पनि समर्थन गर्न सक्छन् । नगरे पनि अरूको भरोसामा चाहिँ बस्दैनौँ । हामी अगाडि बढिसक्यौँ ।’ जसपाले यादवलाई उम्मेदवार बनाउनेबारे औपचारिक निर्णय नगरे पनि सत्तागठबन्धनको साझा उम्मेदवार जसपाबाटै हुनुपर्ने तर्क अघि सारेको छ । बारा २ जसपाले जितेको सिट भएको र समानुपातिक मतका आधारमा पनि आफूहरू पहिलो रहेको कारण गठबन्धनका सबै दलले जसपाका उम्मेदवारलाई सघाउनुपर्ने प्रवक्ता मनीष सुमनको तर्क छ । 

यद्यपि, उपराष्ट्रपति निर्वाचनमा जनमतले रामसहायप्रसादलाई मत नहालेर आफ्नै उम्मेदवार उठाएकोमा जसपाको आशंका र आक्रोश कायमै छ । ‘उपराष्ट्रपति निर्वाचनमा गठबन्धनकै उम्मेदवारलाई मत नहालेपछि जनमत कुन मुखले अहिलेसम्म सत्तागठबन्धनमा बसिरहेको हो, हामीले बुझ्न सकेका छौँ,’ प्रवक्ता सुमनले भने । मधेस र केन्द्रीय राजनीतिमा पनि यादवको भूमिका खुम्च्याउन जनमत र लोसपाका नेताहरू मोर्चाबन्दीमा छन् । संसद् छिर्ने यादवको ‘मिसन’ रोक्न सत्तागठबन्धनकै जनमत, लोसपा र नागरिक उन्मुक्तिले अलग गठबन्धनको गृहकार्य गरिरहेका छन् । लोसपाले उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरिसकेको छ । 

लोसपाका नेता डा. सुरेन्द्र झाले जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकता भएकाले बारा २ मा तीन दलको साझा उम्मेदवार रहने बताए । यादव १० दलीय गठबन्धनको साझा उम्मेदवार बन्न नसक्ने उनी बताउँछन् । ‘उपेन्द्र गठबन्धनको साझा उम्मेदवार बन्न सक्नुहुन्न । मंसिरमा एमालेसँग चुनावी गठबन्धन गर्न हिँडेको जसपाबाट अहिले उम्मेदवार बनाउन मिल्दैमिल्दैन,’ उनले भने, ‘यो सत्तागठबन्धन हो, चुनावी गठबन्धन होइन । त्यसकारण पनि जसपाको उम्मेदवारलाई समर्थन गर्नुपर्ने कुनै बाध्यता छैन ।’

लोसपाका अर्का एक नेताका अनुसार माओवादी र एकीकृत समाजवादी यादवप्रति सकारात्मक रहेकाले अन्य मधेसकेन्द्रित दल कांग्रेस फकाउनेतिर लागेका छन् । ‘बारा २ मा कांग्रेस बलियो प्रतिस्पर्धी हो,’ ती नेता भन्छन्, ‘त्यसैले जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र कांग्रेसबीच अलग गठबन्धन गरेर उपेन्द्रलाई संसद् छिर्नबाट रोक्न प्रयास सुरु भएको छ । यसका लागि शुक्रबार मात्रै अध्यक्ष महन्थ ठाकुरसहित शीर्ष नेताहरूले कांग्रेस सभापति देउवासँग भेट गरेर छलफल गरेका छन् ।’ देउवा यादवलाई संसद्मा ल्याउन सकारात्मक छन् । 

राउत भने मधेसकेन्द्रित तीन दलबीच कार्यगत एकता भए पनि खासै सहकार्य हुन नसकेको बताउँछन् । ‘कार्यगत एकता त भएको छ, तर खासै सहकार्य भइरहेको अवस्था छैन,’ उनले भने, ‘उपराष्ट्रपति निर्वाचनमा पनि त्यो देखियो । हाम्रो उम्मेदवारलाई मत नहालेर अन्तिम समयमा उहाँहरूले जसपाको उम्मेदवारलाई मत हाल्नुभयो । यद्यपि, बारा २ को उपनिर्वाचनमा के हुन्छ, अहिले भन्न सकिन्न ।’ संसद्मा यादवको आवश्यकता रहेकोबारे सार्वजनिक रुपमै बोले पनि व्यवहारमा भने राउत उनलाई जसरी पनि रोक्ने प्रयासमा छन् । सप्तरी २ मा आफूसँग फराकिलो अन्तरले हार व्यहोरेका यादवलाई फेरि हराउन राउत स्वयं बाराको मैदानमा उत्रिएको जनमतका नेताहरू बताउँछन् । राउतको दाबी मान्ने हो भने गत निर्वाचनमा यादवले सप्तरी २ मा उनीसँग लड्न नआउने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘तर, अचानक मनोनयन दर्ताको अघिल्लो दिन मात्रै उहाँ आउने कुरा भयो । नत्र उहाँजत्तिको मान्छे संसद्मा आउनुपर्छ भन्नेमा म सुरुदेखि नै विश्वस्त थिएँ । तर, परिस्थितिले हामीलाई प्रतिस्पर्धी बनायो,’ राउत भन्छन् । 

यसपछि पनि यादवसँग राउतको तिक्तता झन् बढेको जनमतका नेताहरू बताउँछन् । त्यसपछि मधेसबाट समानुपतिक मतमा जसपाभन्दा बढी मत ल्याए भए पनि मुख्यमन्त्री नपाएको र उपराष्ट्रपति पदमा पनि जसपाले नै दाबी गरेका कारण सत्तागठबन्धनभित्र जनमत रुष्ट छ ।  सत्तागठबन्धन जसपाअनुकूल भइरहेको जनमतको बुझाइ छ । सोहीकारण राष्ट्रपति निर्वाचनमा गठबन्धनकै उम्मेदवारलाई मत हालेको जनमतले उपराष्ट्रपति निर्वाचनमा जसपाले भाग पाएका कारण ममता झालाई उम्मेदवार बनाउन बाध्य भएको जनमतका नेताहरू बताउँछन् । 

बारा २ को गत निर्वाचनको समानुपातिक मतपरिणामअनुसार जसपा पहिलो स्थानमा छ । त्यहाँ जसपाको १३ हजार दुई सय ४२, कांग्रेसको ११ हजार एक सय ७९, एमालेको नौ हजार एक सय ९३, जनमत पार्टीको आठ हजार आठ सय ४६, लोसपाको चार हजार दुई सय ३५, नागरिक उन्मुक्तिको तीन हजार सात सय ९४, माओवादीको तीन हजार दुई सय ६५, नेपाल संघीय समाजवादी पार्टीको दुई हजार तीन सय ६६, एकीकृत समाजवादीको एक हजार नौ सय ९६, राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार चार सय ५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीको नौ सय ९२ मत आएको छ । 

समानुपातिक मतपरिणाम केलाउँदा जसपासहित एकीकृत समाजवादी र माओवादीको गठबन्धन बनेको अवस्थामा जसपाको कुल मत १८ हजार पाँच सय तीन पुग्छ । उता जनमतको समानुपातिक मत भने आठ हजार आठ सय ४६ छ । जनमतलाई लोसपा र उन्मुक्तिको समर्थन रहेको अवस्थामा उसको मत १६ हजार आठ सय ७५ पुग्छ । नौ हजार एक सय ९३ समानुपातिक मत ल्याएको एमालेले पनि त्यहाँ आफ्नै उम्मेदवार उठाउने तयारी थालिसकेको छ । यस्तो अवस्थामा ११ हजार एक सय ७९ मत ल्याएको कांग्रेसको भूमिका निर्णायक हुने देखिन्छ ।

किन भिड्दै छन् यादव–राउत ?

विजयकान्त कर्ण विश्लेषक

मधेसको मुद्दासँग खासै मतलब छैन । सबैको कार्यक्रम र घोषणापत्र लगभग उस्तै–उस्तै देखिन्छन् । आधारभूमि मधेस र मधेसको मुद्दा बोकेर आएका कारण दुवैको ‘पोलिटिकल स्पेस’ एउटै हो । त्यही ‘स्पेस’का कारण उनीहरूबीच टकराव देखिएको हो, त्यसकै लागि उनीहरू लडिरहेका हुन् । चुनावका वेला देखिएको द्वन्द्व चुनावकेन्द्रित नै हो ।

मधेसको मुद्दासँग यसको कुनै सम्बन्ध देखिँदैन । हिजोको दिनमा लोसपा र जसपा एउटै पार्टी थिए । अहिले अलग भएका छन् । मधेसकेन्द्रित दलबीचको टुटफुट र द्वन्द्व मधेसको मुद्दासँग सम्बन्धित छैन ।

अहिले चुनाव भइरहेको हो, उनीहरू चुनावमा भाग लिन लागेका हुन् । चुनावमा आफ्नो उम्मेदवारलाई जिताउन पार्टी अध्यक्षहरूले एक–अर्काविरुद्ध भाषण गर्नु स्वाभाविक हो ।

बारा २ को अंकगणित
गत ४ मंसिरको निर्वाचनमा बारा २ मा प्रत्यक्षतर्पm तत्कालिन सत्ता गठबन्धन र जसपा–एमालेको विपक्षी मोर्चावीच प्रतिस्पर्धा भएको थियो । सत्ता गठबन्धनबाट माओवादीका शिवचन्द्रप्रसाद कुशवाहा र विपक्षी गठबन्धन जसपाका रामसहायप्रसाद यादव उम्मेद्वार थिए । नजिकको प्रतिस्पर्धामा जसपाका यादवले माओवादीका कुशवाहालाई ३५४ मतान्तर हराएका थिए । यादवले १३८२२ र कुशवाहाले १३४६८ मत पाएका थिए । जसपाकै बागी उम्मेद्वार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत ल्याउँदैै तेस्रो बनेका थिए । रामकिशोर जसपा फर्किसकेका छन् ।

समानुपातिक मतपरिणामअनुसार भने जसपा पहिलो स्थानमा छ । त्यहाँ जसपाको १३ हजार २४२, कांग्रेसको ११ हजार १७९, एमालेको नौ हजार १९३, जनमत पार्टीको आठ हजार ८४६, लोसपाको चार हजार २३५, नागरिक उन्मुक्तिको तीन हजार ७९४, माओवादीको तीन हजार २६५, नेपाल संघीय समाजवादी पार्टीको दुई हजार ३६६, एकीकृत समाजवादीको एक हजार ९९६, राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार ४५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीको ९९२ मत आएको छ ।