१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १३ सोमबार ११:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १३ सोमबार ११:१९:००

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्। 

कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौं महानगरपालिका– १९ यट्खा कुमारी मन्दिरपरिसरमा निर्माण गरिएको जोशीको अर्धकदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। 

राष्ट्रपति पौडेलले राजनीति जनतासँगको निरन्तर सानिध्यतासँगै उनीहरूको सुख, दुःख बुझेर जनताकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्नेमा जोड दिए।

‘जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूको सुख, दुःख बुझ्ने जोशी समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत व्यक्तित्व हुनुहुन्थ्यो,’ उनले। 

राष्ट्रपति पौडेलले जोशीको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीतिक संगठन, जोशी परिवार र आफ्नो लागि अपूरणीय क्षति भएको बताए। 

उनले जोशीको निष्ठा, प्रगतिशील दृष्टिकोण र सही कुराको पक्षमा दृढ रहने अडानका कारण होनहार नेताका रूपमा स्थापित हुनुका साथै सरल, शालीन, मिलनसार, सहयोगी र कुशल राजनीतिज्ञको छवि बनाउन सफल भएको चर्चा गरे। 

राष्ट्रपति पौडेलले विभिन्न ओहोदा, पद र संस्थामा रहँदा आफ्नो चरित्रमा कतै दाग लाग्न नदिनुका साथै सदाचारिता र इमानदारी नै जोशीको  विशेषता भएको बताए। 

राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमानदारी यी तीनै कुराको बराबरी संगम रहेका विरलै मानिसमध्ये जोशी अब्बल दर्जाको व्यक्तित्व भएको बताए। ‘मैले नवीन्द्रलाई  सन्निकटमा रहेर चिन्ने र बुझ्ने मात्र होइन आफूले सुझाव, साथ र सहयोग गरेर एउटा जागरुक, उत्साही र कर्मठ व्यक्तित्व निर्माणमा सदैव उत्प्रेरित गर्ने अभिभावकका रूपमा जीवनपर्यन्त बाटो देखाउने मौका पाएँ,’ राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले जोशीको सालिक निर्माणले उनले देश र जनताका लागि पुर्‍याएको योगदानलाई सदैव जीवन्त राख्ने तथा असल र इमानदार एउटा राजनीतिज्ञको व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिन तथा उनीहरूलाई सत्कार्य गर्न सधैँ प्रेरित गर्ने उनको भनाइ थियो। 

कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा परिवर्तन ल्याउन मूल्य, मान्यता र आदर्शको राजनीति गर्ने व्यक्ति जोशी भएको बताए। जोशीकी पत्नी एवं सांसद सपना राजभण्डारीले जोशीले लिएको राजनीतिक लक्ष्य पूरा गर्न आफू लाग्ने प्रतिबद्धता व्यक्त गरिन्। प्रतिमा निर्माणले जोशीलाई जीवन्त राख्ने उनको भनाइ थियो।

सोही अवसरमा राष्ट्रपति पौडेलले ०४६ को जनआन्दोलनका सहिद निर्गुण स्थापितको सालिकमा समेत मार्ल्यापण गरेका थिए। ०१९ पुस २२ गते काठमाडौंमा जन्मिएका जोशीको ०७७ चैत १३ गते निधन भएको थियो। उनी संविधानसभा सदस्य, उद्योगमन्त्री, काठमाडौं महानगरपालिकाका उपप्रमुख, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा संलग्न थिए।