१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
पल क्रुगम्यान
२o८१ जेठ १४ सोमबार o९:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

आत्तिनुपर्दैन सिलिकन भ्याली बैंकको पतनले 

Read Time : > 2 मिनेट
पल क्रुगम्यान
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार o९:४o:oo

अहिलेको समयमा कसैले पनि सन् २००८ को डरलाग्दो समयको पुनरावृत्तिको आशा गरेका छैनन् 

प्रायः सबै अमेरिकी आर्थिक पर्यवेक्षकहरू अहिले कम्तीमा एउटा कुरामा सहमत छन्, त्यो के भने सन् २०२३ मा अमेरिकी अर्थतन्त्रले सामना गरेको समस्या सन् २००८ को पछिल्लो संकटका वेलाको समस्याभन्दा धेरै फरक छन् । सन् २००८ को संकटको समयमा अमेरिकाले बैंकिङ पतन र घट्दो मागसँग सामना गरिरहेको थियो । आज बैंकिङ एक सानो मुद्दाको रूपमा छ र मुख्य समस्या मुद्रास्फीति बनेको छ, जुन उपलब्ध आपूर्तिको तुलनामा अत्यधिक मागको कारण सिर्जना भएको हो । र, अहिले पनि विगतको मूर्खताहरूको प्रतिध्वनिहरू सुनिन्छन्, जुन लगभग सधैँ नै हुन्छन् ।

क्रिप्टोप्रतिको मोहमा विगतको सब–प्राइम मोर्टगेजहरूको वृद्धि र पतनकै केही विशेषता देखिए । जसका कारण मानिस उनीहरूले नबुझेको जटिल वित्तीय व्यवस्थाप्रति लोभिए । यसका बाबजुद कसैले पनि सन् २००८ को डरलाग्दो समयको पुनरावृत्तिको आशा गरेका छैनन् । जब कि विश्व वित्तीय प्रणालीको आधार नै भत्किएजस्तो देखिएको थियो । 

तैपनि, एकाएक हामी अहिले उही पुराना परिदृश्य ‘रिप्ले’ मोडमा हेरिरहेको महसुस गर्दै छौं    छौँ । सिलिकन भ्याली बैंक अमेरिकाको सबैभन्दा ठूला वित्तीय संस्थाहरूमध्येको थिएन, तर सन् २००८ को पहिलो पतन सामना गरेको बैंक लेहम्यान ब्रदर्स पनि त त्यस्तो बैंक थिएन । तर, सिलिकन भ्याली बैंक लेहम्यान होइन र सन् २०२३ पनि सन् २००८ होइन । अहिले जे भइरहेको छ, त्यो सम्भवतः प्रणालीगत वित्तीय संकट होइन । अहिले पनि सरकारले स्थितिलाई साम्य बनाउन अग्रसरता लिएको भए पनि करदाताको रकम बैंकको उद्धारका लागि प्रयोग गर्न सक्दैनन् । 

परिस्थिति बुझ्नका लागि सिलिकन भ्याली बैंक के थियो र त्यसले के गर्थ्यो भन्ने वास्तविकता बुझ्न आवश्यक छ । सिलिकन भ्याली बैंकले आफूलाई ‘वैश्विक नवप्रवर्तन अर्थतन्त्रको बैंक’को रूपमा चित्रण गर्थ्यो, जसले अनुमान गर्न सहज बनाउँछ कि यसले उच्च अनुमानित प्रविधि क्षेत्रमा लगानी गरिरहेको थियो । यसले ‘स्टार्टअप’हरूलाई वित्तीय सेवा प्रदान गरे पनि तिनलाई धेरै पैसा उधारो दिएन, किनकि प्रविधि स्टार्टअपले प्रायः भेन्चर क्यापिटलिस्टहरूबाट पर्याप्त रकम पाइरहेका हुन्छन् । खासमा नगद प्रवाह विपरीत दिशामा हुन्थ्यो, जहाँ प्रविधिसँग सम्बन्धित व्यवसायीहरूले ठूलो रकम सिलिकन भ्याली बैंकमा जम्मा गर्थे । र, बैंकले आफूसँग भएको पैसाको अत्यन्त सुरक्षित सम्पत्तिमा लगानी गर्थ्यो । 

जुन, मुख्यतया अमेरिकी सरकार र सरकार–समर्थित एजेन्सीहरूद्वारा जारी गरिने दीर्घकालीन बन्ड हुन्थे । यसबाट बैंकले केही समय राम्रै पैसा कमायो, किनभने कम ब्याजदरको संसारमा दीर्घकालीन बन्डहरूले सामान्यतया बैंक निक्षेपहरूसहित अल्पकालीन सम्पत्तिले भन्दा उच्च ब्याजदर दिलाउँछन् । तर, सिलिकन भ्याली बैंकको रणनीतिलाई दुई ठूला जोखिमको डर थियो । पहिलो त अल्पकालीन ब्याजदर बढ्दा उसको रणनीतिमा धक्का लाग्ने थियो (ती पहिले अत्यन्त न्यून भएकाले घट्ने ठाँउ नै थिएन), र यदि दीर्घकालीन ब्याजदर पनि बढे भने सिलिकन भ्याली बैंकको बन्डको बजार मूल्य घट्ने थियो, जसले ठूलो पुँजीगत ह्रास गराउने थियो । र, अमेरिकाको फेडरल रिजर्भले मुद्रास्फीतिसँग जुध्न ब्याजदर बढाएपछि त्यही नै भयो ।

सिलिकल भ्याली बैंकको रणनीतिमाथि दोस्रो जोखिमको कुरा गर्दा उसको निक्षेपलाई संघीय सरकारले  सुरक्षा(बिमा) प्रदान गरेको थियो । तर, त्यो बिमा २ लाख ५० हजार डलरसम्म मात्र थियो । तथापि, बैंकको निक्षेप मुख्यतः करोडौँ डलर खाता भएका व्यावसायिक ग्राहकका थिए । कम्तीमा एक ग्राहकको खातामा ३.३ अर्ब डलर थियो (स्वाभाविक रूपमा त्यो एक क्रिप्टो फर्म थियो) । बैंकका ग्राहक बिमित नभएकाले बैंकलाई उसका अधिकांश ग्राहक पैसा झिक्न आउन सक्ने स्थितिको जोखिम थियो । र, त्यस्तो स्थिति पनि आयो । सरकारले हस्तक्षेप नगरेको भए पनि सिलिकन भ्याली बैंकको पतनले सायद ठूलो आर्थिक असर सिर्जना गर्ने थिएन । मुख्य क्षति सो बैंकमा पैसा जम्मा गर्ने व्यवसायले सहजै पैसा पाउन नसक्ने कुरामा हुने थियो । र, सिलिकन भ्याली बैंकको पतनले अन्य मध्यम आकारका बैंकमा जम्मा भएका निक्षेप झिक्न ग्राहक जाने सम्भावना सिर्जना हुन सक्थ्यो । 

सरकारी अधिकारीले सावधानीस्वरूप सिलिकन भ्याली बैंकका सबै निक्षेपको ग्यारेन्टी गर्ने मार्ग खोजेको हुनुपर्छ । यहाँ के उल्लेख गर्नु महŒवपूर्ण छ भने यसको मतलब स्टकहोल्डरको उद्धार गर्नु होइन । सिलिकन भ्याली बैंक अहिले सरकारी स्वामित्वमा छ र यसको इक्विटी नष्ट भएको छ । यसको अर्थ एउटै बैंकमा ठूलो रकम जम्मा गर्ने मूर्खताबाट केही व्यवसायलाई बचाउनु हो । यो किन पनि रिसउठ्दो छ भने धेरै प्रविधिसँग सम्बन्धित धनाढ्यहरू सरकारी सहायताको विरोध गर्छन्, तर त्यसवेलासम्म विरोध गर्छन्, जबसम्म ती आफैँलाई सहायताको आवश्यकता पर्दैन । 

सिलिकन भ्याली बैंक र सिलिकन भ्यालीका अन्य उद्योगले बैंकिङ नियम खुकुलो बनाउन ट्रम्प प्रशासन र कांग्रेसलाई सफलतापूर्वक लबिङ नगरेको भए आजको स्थिति आउने नै थिएन । बाइडेन प्रशासनका शीर्ष अर्थशास्त्री बनेका लैल ब्रेनार्डले नियम खुकुलो बनाउँदा सही अर्थमा निन्दा गरेका थिए । अहिलेका लागि सुखद समाचार यही हो कि यसपटक करदाताहरूको कुनै रकम सम्भवतः बैंकको उद्धारमा प्रयोग हुनेछैन । वास्तवमा सिलिकन भ्याली बैंक साँच्चै टाट पल्टिएको हो कि होइन भन्नेमा स्पष्ट छैन, तर यसले निक्षेपकर्ताको अचानकको वृद्धिअनुरूपको रकम उपलब्ध गराउन नसकेको भने पक्का हो । एकपटक स्थिति स्थिर भएपछि बैंकको सम्पत्ति सम्भवतः सबै निक्षेपकर्ताको रकम फिर्ता गर्न पर्याप्त हुनेछ, जसका कारण अतिरिक्त कोष उपयोग गरिरहनुपर्दैन । 

(द न्युयोर्क टाइम्सका स्तम्भकार क्रुगम्यान सन् २००८ का अर्थशास्त्र विधाका नोबेल पुरस्कार विजेता हुन्)  –द न्युयोर्क टाइम्सबाट

ad
ad