
राष्ट्रिय जनगणना ०७८ को नतिजा भोलि शुक्रबार सार्वजनिक गरिने भएको छ । शुक्रबार बिहान ९ः३० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सोल्टी होट्लरमा सार्वजनिक गर्ने कार्यक्रम छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले २५ कात्तिकदेखि ९ मंसिर ०७८ सम्म जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । जसअनुसार नेपालको प्रारम्भिक जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० छ ।
संकलित तथ्यांक विश्लेषण गरेर दुई महिनाअघि नै जनगणनाको सम्पूर्ण तयारी भए पनि राजनीतिक कारणले रोकिएको थियो । नेपालमा हरेक १० वर्षको अन्तरमा जनगणना गर्ने व्यवस्था र अभ्यास छ ।
जनगणना मुख्यतः देशको जनसांख्यिक अवस्थाको यथार्थ थाहा पाउन गरिन्छ । देशको सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय जनगणनामा समेटिन्छन् ।