१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ चैत ६ सोमबार १२:३३:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

दुर्गमका सिडियो : समस्या सुन्दै र टिपाउँदै बित्छन् दिन

Read Time : > 2 मिनेट
२०७९ चैत ६ सोमबार १२:३३:००

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पाेख्रेल गत १६ माघमा प्रशासकको रूपमा डोल्पा पुगे।

पहिलोपटक दुर्गम हिमाली जिल्लामा पुगेका पाेख्रेललाई नेपालगन्जदेखि सदरमुकाम दुनैसम्म पुग्दै लाग्यो डोल्पा साँच्चिकै दुर्गम रहेछ। न त राम्रो फोन सेवा, धुलाम्य साँघुरा बाटाघाटा, काठका लाप्कामाथि हिँड्नुपर्ने, बत्ती, खानेपानीको बिजोक अवस्था यस्तै–यस्तै।

त्यही दिनदेखि नै यी समस्याका चाङलाई कसरी समाधान गर्न सकिन्छ भन्ने उनको ध्यान केन्द्रित भयो । उनले जिल्ला प्रशासन कार्यालयमा हाजिर भएको भोलिपल्ट नै चरणबद्ध काम सुरु गरे।

१७ माघमा खानेपानी समस्या समाधानका लागि सर्वपक्षीय छलफल गरेर समस्या समाधानका लागि निर्देशन दिए। केही हदसम्म सुधार पनि भयो। 

सोही दिन नेपालगन्जमा हप्तौँ राखेर डोल्पा बेच्नका लागि जहाजमा ल्याइने ठूलो परिमाणमा कुखुराको कुहिएको मासु नष्ट गर्नसमेत निर्देशन दिए। विमानस्थलमा मासु जाँच गरेर व्यापारीलाई बुझाउने र कुहिएको मासु बेच्ने पसलेलाई कारबाही गर्नसमेत निर्देशन दिए। 

१८ माघमा अत्यन्तै सुस्त डोल्पाको सञ्चार सेवालाई सुधार गर्नका लागि दूरसञ्चार कार्यालय डोल्पासँग छलफल गरे। तत्काल सुधारका लागि जिल्ला, क्षेत्र र केन्द्रीय कार्यालयहरूसँग आवश्यक समन्वयसहित पत्राचार पनि गरे।

जिल्लाका त्रिपुराकोटमा अन्तिम चरणमा पुगेको फोरजी टावरलाई यथाशीघ्र सञ्चालनका लागि समेत प्रयास गरिरहेको बताए । १९ माघमा जिल्लाका पत्रकारसँग छलफल गरे । सोही दिन कार्यालय प्रमुखसँग पनि छलफल भयो।

‘डोल्पामा समस्याका चाङ रहेछन्। डोल्पा पुगेदेखि नै निरन्तर समस्या समाधानका लागि लागिरहेको छु। शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, सडक, सेवाप्रवाह सबैतिर समस्या छ,’ उनले भने।

उनले जिल्ला छोड्दा निमित्त तोकेर छोड्ने र त्यसको जानकारी अनिवार्य प्रशासनलाई गराउन निर्देशन दिए। त्यतिमात्र नभई सूचनाको हकको पूर्ण कार्यान्वयनका लागि प्रत्येक कार्यालयमा सूचना अधिकारी तोक्न निर्देशनसमेत दिए। 

माघमा कार्यालय प्रमुखको बैठकमा पोसाक अनिवार्य लगाउन, सेवा प्रवाहलाई छिटो, छरितो र गुणस्तरीय बनाउने, सार्वजानिक सुनुवाइ गर्ने निर्णय गरियो। त्यसलगत्तै जिल्लामा यातायात व्यवसायीसँग छलफल गरेर भाडादर नियन्त्रण, सिट क्षमताभन्दा धेरै यात्रु बोक्नेलाई धमाधम कारबाही गर्न निर्देशनसमेत दिए। 

भेरी करिडोरअन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडकखण्डको बीचबीचमा पर्ने पक्की पुल निर्माणका लागि आग्रह गर्दै तालुक निकायसँग लिखित तथा मौखिक छलफलसमेत गरे । हिँउद र बर्खा दुवै समयमा डोल्पासँग सीधा यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय चौहरजहारीसँग धेरै चरणमा छलफल भएकोसमेत उनले बताए। 

पुल महाशाखा काठमाडौंले बताएअनुसार अहिले जाजरकोट डोल्पा सडकको आठवटा ठाउँमा पक्की पुल निर्माणका लागि बजेटको टुंगो लागेको बताए ।तल्नुबगर, छलगार्ड र सुँपानीमा पक्की पुल बनाउन टेन्डर भइसकेकाले केही महिनाभित्र काम सुरु हुने जानकारी पाएको उनले बताए। 

तल्नु बगरमा बेलिब्रिज पुल निर्माण छिटो सम्पन्न गर्न र रुपगार्डमा अलपत्र बेलिब्रिज पुल काम सुचारु गराउन लागिपरेकोसमेत उनले बताए।

त्यति मात्र नभई जाजरकोट–डोल्पा सडकको अनुगमन निरीक्षण, छिटो राष्ट्रिय प्रसारण जोड्न आवश्यक समन्वय, जैरीगार्ड जलविद्युतको दुईवटै जेनेरेटर चलाउन पहल तथा सोलार मिनिग्रेडका लागि आवश्यक प्रक्रियासमेत अघि बडिसकेको उनले जानकारी दिए।

जिल्लाको विकासका लागि निर्वाचित सांसद तथा मन्त्री, नगर प्रमुख, गाउँपालिका अध्यक्षहरूसँग बारम्बार समन्वय गरिहेको उनले बताए। ‘डोल्पामा समस्याका चाङ रहेछन्। डोल्पा पुगेदेखि नै निरन्तर समस्या समाधानका लागि लागिरहेको छु। शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, सडक, सेवाप्रवाह सबैतिर समस्या छ,’ उनले भने।

‘जिल्लाको मुड्केचुला गाउँपालिकाअन्तर्गतका इलाका प्रशासन बन्द अवस्थामा छ, आगामी नयाँ वर्षभित्र सेवा सुचारु गर्ने गरी काम थालेको छु। त्यति मात्र नभई पहिलोपटक जिल्लाबाटै विद्युतीय राहदानी सेवाको समेत सुचारु गरेँ,’ उनले थपे।

‘आफ्नो क्षमता, बल, बुद्धिले धानेसम्म डोल्पाको समग्र विकासका लागि काम गरिरहेको छु। मेरो मान्यता प्रत्येक दिनजसो नयाँ काम गर्नुपर्छ, कुनै पनि दिन त्यतिकै खेर नजाओस्  भन्ने हो, आज–भोलि प्रत्येक दिन जिल्लाका समस्यालाई लिएर प्रदेश र केन्द्रमा भन्दै ठिक्क छ।’

प्रजिअ अधिकारी यसअघि लमजुङ जिल्लाको सहायक प्रजिअको जिम्मेवारीसमेत समालिसकेका छन्। एकजना व्यक्तिले मात्र गरेर केही पनि नहुने भएकाले आफू डोल्पा बसुञ्जेल सार्वजानिक हितका विषयमा सबैलाई सहयोग गर्न आग्रहसमेत गरे। 

आफ्नो प्रमुख दायित्व जिल्लामा शान्ति सुरक्षा कायम गर्ने भएकाले आफू रहुञ्जेल कुनै पनि त्यस्ता अप्रिय घटना घट्न नदिने प्रतिबद्धतासमेत व्यक्त गरे।