Skip This
रेसुंगामा हुने धार्मिक सम्मेलनमा चार सय भारतीय सन्त सहभागी हुँदै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Saturday, 27 July, 2024
२o७९ चैत ५ आइतबार १२:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रेसुंगामा हुने धार्मिक सम्मेलनमा चार सय भारतीय सन्त सहभागी हुँदै 

अयोध्या-रेसुंगा सम्बन्ध विस्तार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार १२:४६:oo

गुल्मीको रेसुंगामा सन्त सम्मेलन हुने भएको छ। अयोध्यादेखि रेसुंगासम्मको सम्बन्ध विस्तारका लागि वैशाख अन्तिम साता धार्मिक सन्त सम्मेलन हुने रेसुंगा संरक्षण समितिले जनाएको छ।

रेसुंगाको सम्बन्ध त्रेता युगदेखि अयोध्यासँग छ। तर, रेसुंगा र अयोध्याबीचको धार्मिक सम्बन्ध प्रगाढ बन्न सकिरहेको छैन।

भारतको राम अयोध्याधामबाट स्वामी राजेन्द्रनन्दजी महाराज र राजस्थानबाट योगी शम्भुनाथजी महाराजले दुई पवित्र तपोभूमिबीचको सम्बन्ध विस्तारको पहल गरिरहेका छन्।

उनीहरूले शनिबार जिल्लाका सबै सरोकारवालासँग सन्त सम्मेलन र उद्देश्यबारे जानकारी दिएका थिए।रेसुंगा संरक्षण समिति, रेसुंगासहित छिमेकी पालिका, प्रशासन र विभिन्न संघसंस्थाले वैशाख अन्तिम साता सम्मेलन गर्ने विषयमा सहमति गरिएको इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले जानकारी दिए। 

शुक्रअन्ध, व्यवस्थापन र मौसमका दृष्टिकोणले वैशाखको अन्तिममा सम्मेलन अनुकूल हुने खड्काले बताए। रेसुंगा यज्ञशालामा चार सय साधुसन्तको व्यवस्थापनमा चुनौती छ। 

सम्मेलनको मिति तय गर्ने, समिति तथा उपसमिति निर्माण गर्ने र प्रचार–प्रसारमा जुट्ने रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए। उनले सबै पालिका र सरोकारवालासँग समन्वय गरेर अवसरलाई सही सदुपयोग गरिने बताए। 

रेसुंगा नगरपालिकाले पनि रेसुंगा क्षेत्रको विकासका लागि ‘जाऊँ हिँडौँ रेसुंगा’ अभियान सञ्चालनको योजना बनाएको छ। रेसुंगा नगरप्रमुख खिलध्वज पन्थीले नीति तथा कार्यक्रममै रेसुंगाको पर्यटकीय विकासलाई समेटिएकाले केही दिनमा अभियान शुभारम्भ गरिने बताए। 

योगी शम्भुनाथजी महाराजले ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपले विचित्र रेसुंगा क्षेत्र ओझेलमा परेकोप्रति दुःख व्यक्त गरे। उनले अयोध्याका राजा दशरथलाई पुत्र नभएपछि रेसुंगाका ऋष्यश्रृंग्य ऋषिलाई अयोध्या लगेर यज्ञ गरेपछि पुत्र प्राप्त भएको विभिन्न पुराणहरूमा उल्लेख रहेको बताए। 

शम्भुनाथले त्रेतायुगको सम्बन्ध अहिलेसम्म विस्तार नभएर रेसुंगा क्षेत्रको विकास नभएकाले दुई देशबीचको धार्मिक सम्बन्ध विस्तार गरेर साधु–सन्तहरूको आवत–जावत बढाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।

तम्घासदेखि करिब २० मिनेट गाडी चढेपछि रेसुंगा पुगिन्छ। रेसुंगामा यदुकानन्दले वि.सं. १९८३ मा बनाएको यज्ञशाला छ। सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुंगाकाे सबैभन्दा ठूलो धार्मिक संरचना हो। यो आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै आकर्षक छ। 

यज्ञशालाभित्र भएको हवनकुण्डमा अखण्ड दीप प्रज्वलित छ। त्यस्तै, रेसुंगाकै सबैभन्दा पुरानो सिद्धको मन्दिर देख्न सकिन्छ। त्यस्तै, स्वामी शशिधरको समाधिस्थल विष्णु पादुका र लक्ष्मीनारायणको समाधिस्थल पनि रेसुंगामा छ। 

महाप्रभु लक्ष्मीनारायणले गुल्मी र अर्घाखाँचीका जनताको सहयोगमा बनाएको ठूलो पोखरी रेसुंगामा छ। विभिन्न तीर्थस्थलबाट जल र बालुवा ल्याई मिसाएर पोखरीको निर्माण गरेको मानिन्छ। 

रेसुंगाको शिरमै रहेको भ्युटावरबाट गुल्मीसहित छिमेकी जिल्ला र मनमोहक हिमशृंखला देख्न सकिन्छ। रेसुंगाको पश्चिमपट्टि रेसुंगासँग आम्नेसाम्ने उभिएको अर्जुनडाँडाले पनि तम्घास पहिलोपटक आउने अचम्मित हुन्छन्। 

यो डाँडा अत्यन्तै रमणीय छ। सानो रेसुंगामा पछिल्लो समय थुप्रै धार्मिक संरचना थपिएको छ। पोखरीदेखि यज्ञशालासम्मको आकर्षक सिँडी, पौवा रिसाेर्ट, गर्जुरामा निर्माणाधीन रेसुंगा पार्कसँगै कालोपत्रे सडकका कारण पर्यटकलाई सजिलो भएको छ।