मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत ३ शुक्रबार ०६:५९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दमकका विद्यालयमा स्यानिटरी प्याडको अभाव

Read Time : > 2 मिनेट
२०७९ चैत ३ शुक्रबार ०६:५९:००

तीन वर्षपछि बल्ल खरिद गर्दै दमक नगरपालिका

झापाको दमकमा रहेका सामुदायिक विद्यालयमा स्यानिटरी प्याडको अभाव भएको छ । संघ सरकारले चार वर्षदेखि सामुदायिक विद्यालयका छात्राका लागि स्यानिटरी प्याड स्थानीय तहमार्फत निःशुल्क उपलब्ध गराउँदै आए पनि दमक नगरपालिकाले तीन वर्षदेखि खरिद नगर्दा अभाव भएको हो ।

सरकारले आर्थिक वर्ष ०७६/७७ देखि लगातार सामुदायिक विद्यालयका छात्राका लागि स्थानीय तहमार्फत बजेट पठाइरहेको छ । तर, दमक नगरपालिकाले पहिलो वर्ष (०७६/७७) मा २१ मध्ये १७ विद्यालयमा प्याड खरिद गरेर पठाएको थियो । त्यसबाहेक सामुदायिक विद्यालय संघसंस्थाले दिएको सहयोगको प्याड छात्रालाई बाँडिरहेका छन् ।

नगरपालिकाले पठाएको प्याड सकिएपछि अहिले संघसंस्थासँग मागेर छात्रालाई दिइँदै आएको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर थापाले बताए । ‘सबै छात्रालाई प्याड पुर्‍याउन सकेका छैनौँ,’ उनले भने, ‘आज–भोलि भन्दाभन्दै समय भइसक्यो, आएको छैन ।’

सरकारले विद्यालयमै स्यानिटरी प्याड उपलब्ध गराउने भने पनि आफूहरूले नपाएको हिमालय मावि कक्षा १० की छात्रा मोइङ जबेगुले बताइन् । ‘पहिले विद्यालयमै प्याड पाइन्थ्यो, अचेल सकिएको रहेछ । विद्यालयमा गएको समयमा महिनावारी भइदिए समस्या हुन्छ, प्याड छैन,’ उनले भनिन्, ‘कम्तीमा घरमा छँदा महिनावारी भए त प्याड किन्न सकिन्छ ।’ हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक द्रोण श्रेष्ठले पहिलो वर्ष छात्रालाई हरेक महिना प्याड दिइए पनि अचेल अभाव रहेको बताए ।

नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ मा तीन हजार तीन सय छात्राका ३० लाख ७२ हजारमा ४८ हजार पाँच सय ५० प्याकेट प्याड खरिद गरेको थियो । त्यतिखेर किनेका सबै प्याड विद्यालयमा पुगेको थिएन । कोरोना महामारीका कारण ०७६/७७ मा विद्यालय बन्द भएकाले प्याड बचत रहेको भन्दै पछिल्लो वर्ष खरिद गरिएन । र, ०७७/७८ का लागि प्याड खरिद गर्न संघ सरकारबाट प्राप्त भएको २९ लाख ७४ हजार रुपैयाँ संघीय सरकारकै खातामा फिर्ता भएको थियो ।

तर, आर्थिक वर्ष ०७८/७९ मा पनि प्याड खरिद गरिएन । दमक नगरपालिकाका तत्कालीन जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कमसल र मापदण्डविपरीतका स्यानिटरी प्याड खरिद गर्न खोजिएको थियो । एउटा कम्पनीले सबै विद्यालयमा मापदण्डविपरीतका स्यानिटरी प्याड ल्याइदिएको थियो । नगरपालिकाले निकासाका लागि विद्यालयको खातामा पैसा पनि पठाएको थियो ।

नयाँ पत्रिकाले यसबारेमा समाचार प्रकाशन गरेपछि अख्तियारले छानबिन पनि गरेको थियो । कम्पनीलाई भुक्तानी नगरेका कारण अख्तियारले मुद्दा नचलाउने निर्णय गर्‍यो । विद्यालयमा आएका प्याड मापदण्डविपरीत भएको भन्दै फिर्ता गर्न आग्रह गर्‍यो । 

१७ सामुदायिक विद्यालयको खातामा जम्मा गरिएको ३३ लाख ९७ हजार प्याड खरिद गर्न नसकेपछि संघीय सरकारकै खातामा फिर्ता पठाइएको दमक नगरपालिकाले जनाएको छ ।

बल्ल स्यानिटरी प्याड खरिदको प्रक्रिया अघि बढ्दै 
शैक्षिक सत्र सकिनै लाग्दा दमक नगरपालिकाले बल्ल प्याड खरिदको प्रक्रिया अगाडि बढाएको छ । ‘प्रायः सबै विद्यालयमा प्याड सकिएको छ,’ दमक नगरपालिकाका शिक्षा अधिकृत सोमनाथ गुरागाईंले भने, ‘अघिल्लो वर्ष अनियमितता गर्न खोजेका कारण अहिले पनि सबै काम गर्न खोज्दा शंकैशंका भयो । अहिले त्यसबाट बचेर पारदर्शी भएर गर्न खोज्दा खरिद गर्न अलिकति ढिला भएको हो ।’

खरिद प्रक्रिया अघि बढे पनि प्याड विद्यालयमा पुग्न अझै दुई महिना लाग्ने दमक नगरपालिकाका सूचना अधिकारी समिप चुडालले जानकारी दिए । चालू आर्थिक वर्षमा १७ सामुदायिक विद्यालयका करिब तीन हजार ३३ सय छात्राका लागि प्याड खरिद गर्न ३३ लाख ४४ हजार बजेट संघ सरकारबाट प्राप्त भएको छ । २९ हजार प्याकेट प्याड खरिदका लागि बोलपत्र आह्वान गरिएको चुडालले बताए । ‘यसपटक अलिक कडाइ गर्दै छौँ । सिंगल स्टेज डबल इन्भल्पमा खरिद गर्ने गरी प्रक्रिया अघि बढाएका छौँ । पहिलो चरणमा कागजात र प्याडको परीक्षण गरिन्छ । यसमा पास भएकालाई सात दिनको सूचना निकालेर आर्थिक प्रस्ताव खोल्छौँ,’ उनले भने, ‘खरिद प्रक्रिया एक महिनाको हुन्छ । बोलपत्र आह्वान गरेको बल्ल ६–७ दिन भयो । त्यसपछि आर्थिक प्रस्तावको समय सात दिनको हुन्छ । त्यसपछि दाबी–विरोधको समय हुन्छ । विद्यालयमा प्याड पुग्न दुई महिना लाग्छ । जेठमा मात्र विद्यालयमा प्याड पुग्छ ।’